नेपाल–चीनबीच अझै घनिष्ठ सम्बन्ध हुनुपर्छ: सभामुख महरा
काठमाडौं, वैैशाख ८ : सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध विस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्। ....

काठमाडौं, वैैशाख ८ : सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध विस्तारमा भाषा र शिक्षाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन्।
चिनियाँ भाषा शिक्षक संघले आइतबार काठमाडौंमा आयोजना गरेको दोस्रो वेल्ट एण्ड रोड नेपाल–चीन शैक्षिक मेलाको उद्घाटन गर्दै सभामुख महराले भाषाको ज्ञान र शैक्षिक सहकार्यले दुई देशबीचको सम्बन्ध विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन्।
‘नेपाल–चीन शैक्षिक मेलाको शुरुवात हुनु राम्रो कार्य हो,’ सभामुख महराले भने,‘यस्ता मेलाले दुई देशको सम्बन्ध प्रगाढ बनाउन सघाउ पु¥याउनुका साथै एक अर्काको शिक्षा र भाषिक ज्ञान आदान प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन्।’
दुई देशबीचको घनिष्ठ सम्बन्ध र सहकार्य भएपनि भाषिक समस्याका कारण जनस्तरसम्म शिक्षा, संस्कृति र अनुभव आदान प्रदानमा कठिनाइ हुने गरेको सभामुख महराले बताए।
‘दुई देशबीचको घनिष्ठ सम्बन्ध र नजिकको सहकार्य हुँदाहुँदै भाषाको समस्याका कारण जनस्तरसम्म आपसमा शिक्षा, संस्कृति र अन्य क्षेत्रको अनुभव आदान प्रदानमा केही कठिनाइ हुने गरेको देखिन्छ’, सभामुख महराले भने,‘पछिल्लो समयमा नेपाली नागरिकहरुमा देखिएको चिनियाँ भाषा सिक्ने उत्सुकता र चिनियाँ नागरिकहरुले नेपाली भाषा सिक्न गरेको प्रयासले दुई देशबीच देखिएको भाषागत खाडल पुरिदै जानेछ भन्ने मैले विश्वास लिएको छु।’











