राजधानीमा एक सातामै २ हजार ९ सयलाई कोरोना
काठमाडौं उपत्यकामा पछिल्लो केही सातायता कोरोना भाइरसको संक्रमण तिव्र भएको छ। अझ देशभरका जिल्लामध्ये काठमाडौं सबैभन्दा उच्च छ।
भक्तपुर, भदौ २१ : पछिल्लो केही सातायता काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमित तिव्र भएको छ। गत एक सातामै उपत्यकामा दुई हजार नौ सय तीन जनामा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार गत साता (भदौ १४ देखि २० गतेसम्म) उपत्यकामा संक्रमण देखिएकामध्ये सबैभन्दा बढी काठमाडौमा छन्। ललितपुर र भक्तपुरमा संक्रमण कम देखिएको मन्त्रालयले जनाएको छ।
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा मात्र गत साता दुई हजार तीन सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए। ‘उपत्यकाको तीनैवटा जिल्लामध्ये सबैभन्दा बढी संक्रमित काठमाडौंमा नै छन्। काठमाडौंमा मात्रै एक हप्तामा दुई हजारभन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ,’ प्रा.डा.गौतमले काठमाडौं प्रेससँग भने।
यस्तै गतसाता भक्तपुरमा दुई सय ४८ र ललितपुरमा दुई सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएका छन्। पछिल्लो साता काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ।
अहिलेसम्म काठमाडौं उपत्यकामा सबैभन्दा बढी भदौ १६ गते चार सय ८१ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमध्ये काठमाडौंमा तीन सय ९३ जना, भक्तपुरमा ३० जना र ललितपुरमा ५८ जना संक्रमित रहेका थिए।
त्यस्तै, संक्रमण बढ्न थालेयता उपत्यकामा सबैभन्दा कम भदौ १५ गते तीन सय जना संक्रमित भेटिएका थिए। जसमध्ये काठमाडौंमा एक सय ९० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६७ जनामा रहेका थिए।
उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्ने क्रममा भदौ १४ गते चार सय २९ जनामा कोरोना संक्रमण देखिएको थियो। जसमध्ये काठमाडौंमा तीन सय ७२ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा १२ जनामा थिए। त्यस्तै, भदौ १७ गते भने काठमाडौंमा तीन सय ५० जना, भक्तपुरमा नौ जना र ललितपुरमा २९ जनामा कोरोना देखिएको थियो।
पछिल्ला तीन दिनमा भने दैनिक चार सयभन्दा बढी संक्रमित देखिन थालेका छन्। भदौ १८ गते उपत्यकामा चार सय ४५ जनामा संक्रमण पुष्टि भएको थियो भने त्यसमध्ये काठमाडौंमा तीन सय ५७ जना, भक्तपुरमा ४२ जना र ललितपुरमा ४६ जना रहेका थिए।
यस्तै, भदौ १९ गते चार सय ५४ जनामा कोरोना संक्रमण देखिएको थियो भने काठमाडौंमा तीन सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना रहेका थिए। भदौ २० गते भने काठमाडौंमा तीन सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना गरी उपत्यकामा चार सय आठ जनामा कोरोना पुष्टि भएको थियो।
काठमाडौं उपत्यकामा अहिलेसम्म ६ हजार तीन सय ३४ जनामा कोरोना संक्रमण देखिएको छ। यो अन्य जिल्लाको तुलनामा उच्च हो।
आइतबार बिहानसम्म देशभर ४५ हजार दुई सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये २७ हजार एक सय २७ जना निको भएका छन भने दुई सय ८० जनाको मृत्यु भएको छ।












-(86)-1764936079.jpg)