लकडाउनको अवधिमा कोरोनाले मर्ने भन्दा आत्महत्या गर्ने १० गुणा बढी
चैत ११ देखि साउन ४ गतेसम्म देशभर दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको छ।
काठमाडौं, भदौ १९ : कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनको अवधिमा रोगले मृत्यु हुने भन्दा १० गुणा बढीले आत्महत्या गरेको देखिएको छ।
चैत ११ गतेदेखि सुरु भएको लकडाउन यता २ हजार भन्दा बढीले आत्महत्या गरेका छन्। जबकी कोरोना भाइरसको संक्रमणबाट आजसम्म २ सय ५७ जनाको निधन भएको छ।
प्रहरी प्रधान कार्यालयले उपलव्ध गराएको तथ्यांकअनुसार चैत ११ देखि साउन ४ गतेसम्म देशभर दुई हजार दुई सय १८ जनाले आत्महत्या गरेका छन्। आत्महत्या गर्नेमा पुरुषको संख्या धेरै रहेको छ। जसअनुसार एक हजार १ सय ७२ पुरुष, आठ सय ११ महिला, ९४ बालक र १४१ जना बालिका रहेका छन्।
आत्महत्या गर्ने ७० प्रतिशत मानिसले झुण्डिएर आत्महत्या गरेका छन्। त्यो बाहेकले विष सेवन गरेर, आगो लगाएर, हातहतियार प्रयोग गरेर, डुबेर आत्महत्या गर्ने गरेको प्रहरीको भनाइ छ।
रोग नियन्त्रणको लागि गरिएको लकडाउनका कारण परेको आर्थिक भार थेग्न नसकेका कारण आत्महत्या गर्नेको संख्या बढेको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत बताउँछन्। ‘संक्रमण नियन्त्रण गर्ने प्रयासमा रहेको सरकारले अन्य व्यवसायी, रोजगारदाता, कर्मचारी, न्युन आय भएका मानिसहरुको समस्यालाई मध्यनजर गर्न नसक्दा आत्महत्या गर्नेको संख्या बढेको देखिन्छ,’कडायतले भने।
आत्महत्याका घटना सबैभन्दा बढी प्रदेश ५ मा भएको देखिएको छ। पाँच महिनाको अवधिमा प्रदेश ५ मा ४ सय २९ जनाले आत्महत्या गरेका छन्। प्रहरी तथ्यांकअनुसार प्रदेश नम्बर १ मा तीन सय ७१, प्रदेश नम्बर २ मा तीन सय पाँच, बागमती प्रदेशमा तीन सय ८५ जनाले आत्महत्या गरेको छन्।
त्यस्तै गण्डकी प्रदेशमा दुई सय ४६, कर्णाली प्रदेशमा एक सय १९, सुदूरपश्चिममा दुई सय चार जनाले आत्महत्या गरेको छन्। यस अवधिमा काठमाडौं उपत्यकामा मात्रै एक सय ५९ जनाले आत्महत्या गरेका छन्।
कडायतका अनुसार लकडाउन भन्दा पहिला वार्षिक रुपमा चार देखि ५ हजार जनाले आत्महत्या गर्ने गरेका थिए। ‘सामान्य अवस्थामा एक वर्षमा चार देखि पाँच हजार व्यक्तिले आत्महत्या गर्ने गरेका थिए। तर, पाँच महिनामै दुई हजार २ सय भन्दा बढिले आत्महत्या गरिसकेका छन्,’ उनले भने, ‘भदौं महिनामा आत्महत्या बढ्ने अनुमान गरिएको छ।’
लकडाउनको समयमा रोजगारी गुम्दा आइपरेको आर्थिक संकट, पारिवारिक समस्या, जातिय विभेद, विवाद, यौन दुव्र्यवहार, अप्राकृतिक मैथुन र लकडाउनमा एक्लोपनका कारणले आत्महत्या गर्नेको संख्या बढेको प्रहरीको अनुमान छ। ‘धेरै जसो मानिसले पारिवारिक समस्या, विवाद, आर्थिक संकट, सम्बन्ध विच्छेदका कारण आत्महत्या गर्ने गरेको देखिन्छ,’कडायतले भने, ‘लकडाउन सुरु हुँदा केही दिन परिवारका सदस्यसँग रमाएरै बिताए पनि बिस्तारै आर्थिक संकट बढ्न थाल्नु र लामो समयसम्म व्यापार, व्यवसाय ठप्प हुनु पनि आत्महत्या बढ्नुको कारण हो।’
लकडाउनको अवधिमा आत्महत्या गर्नेमा पुरुष धेरै हुनेको कारण आर्थिक समस्या नै भएको प्रहरीको बुझाइ छ। लगानी डुब्ने र पारिवारिक समस्या नै पुरुषको आत्महत्याको कारण बनेको प्रहरीले जनाएको छ।












-(86)-1764936079.jpg)