अस्ट्रेलियाको अर्थतन्त्रमा व्यापक गिरावट

क्यानबेरा, भदौ १७ : कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाको अर्थतन्त्रमा यसवर्षको दोस्रो त्रैमासिक अवधिमा व्यापक गिरावट आएको छ।
बुधबार सार्वजनिक गरिएको विवरणमा अस्ट्रेलियाको अर्थतन्त्र विगत २८ वर्षको अवधिमा पहिलो पटक मन्दीको अवस्था देखिएको हो।
सन् १९५९ यता पहिलो पटक अप्रिलदेखि जुन महिनाको अवधिमा अस्ट्रेलियाको अर्थतन्त्र ७ प्रतिशत खुम्चिएको छ। यसअघि सन् १९७४ मा २ प्रतिशतले अर्थतन्त्र न्यून भएको थियो। अर्थशास्त्रीहरुले यसअघि सन् १९३० को महामन्दीको अवस्थामा अर्थतन्त्र ९ दशमलव ५ प्रतिशतले खुम्चिएको बताएका छन्।
गत मार्च महिनामा पनि ० दशमलव ३ प्रतिशतले अर्थतन्त्र खुम्चिएको थियो। प्राविधिक रुपमा लगातार दुई महिना अर्थतन्त्र खुम्चिए मन्दी आएको मानिन्छ।
अस्ट्रेलियाका अर्थमन्त्री जस फ्राइडेनबर्गले कोभिड–१९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परेको बताएका छन्।
उनले २८ वर्षदेखि लगातार हुँदै आएको आर्थिक वृद्धि यसपटक कोरोनाभाइरसका कारण पहिलोपटक रोकिएको बताए।
प्रधानमन्त्री स्कट मरिसनले पनि संसदमा सम्बोधन गर्दै अस्ट्रेलियाका लागि यो निकै संकटपूर्ण अवस्था आइलागेको बताए।
आर्थिक सहयोग तथा विकास संगठनले जुन महिनामा संगठनमा आबद्ध मुलुकहरुको अर्थतन्त्र अप्रिल–जुन महिनाको अवधिमा ९ दशमलव ८ प्रतिशतको हाराहारीमा खुम्चिने पूर्वानुमान गरेको थियो। संगठनले बेलायतको अर्थतन्त्र २० प्रतिशत, फ्रान्सको १४ प्रतिशत तथा संयुक्तराज्य अमेरिकाको ९।१ प्रतिशतले गिरावट आउने जनाएको छ।












