Kathmandu Press

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

कठमाडौं, वैशाख ७ : राप्रपाले राजमार्ग र चोकहरुमा गर्ने तय भएको सत्याग्रहको कार्यक्रम स्थगित भएको छ।

शनिबार बिहान बसेको केन्द्रीय समितिक....

राप्रपाको राजमार्ग सत्याग्रहको कार्यक्रम स्थगित

कठमाडौं, वैशाख ७ : राप्रपाले राजमार्ग र चोकहरुमा गर्ने तय भएको सत्याग्रहको कार्यक्रम स्थगित भएको छ।

शनिबार बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले आइतबारका लागि तय भएको राजमार्ग र चोकहरुमा सत्याग्रहको कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो।  दोस्रो चरणका कार्यक्रम थप प्रभावकारी बनाउनु पर्ने भएकाले पूर्वनिर्धारित राजमार्ग र चोकहरुमा गर्ने सत्याग्रहको कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। 

उनका अनुसार बैठकले दोस्रो चरणको संघर्ष सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन,  डा.धवल शमशेर राणा र  भाष्कर भद्रा, प्रदेश नम्बर ३ का अध्यक्ष विक्रमबहादुर थापा,  महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेको कार्यदल गठन गरेको छ।

कार्यदललाई ७ दिनभित्र कार्ययोजना पेश गर्न बैठकले निर्देशन पनि दिएको छ। बैठकले हिन्दू राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि आह्वान पनि गरेको श्रेष्ठले जानकारी दिए। बैठकले हिन्दू राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन  पनि आग्रह गरेको छ।

बैठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा सरकारले गरेको हस्तक्षेप र धरपकडको निन्दा पनि गरेको श्रेष्ठले बताए

प्रकाशित मिति: १३:१० बजे, शनिबार, वैशाख ७, २०७६