डा.केसीलाई फूलगाछीबाट सार्दासार्दै टिचिङ
काठमाडौं, माघ ४ : दश दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीलाई आज बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि रातारा....
काठमाडौं, माघ ४ : दश दिनदेखि इलाममा अनसनरत डा.गोविन्द केसीलाई आज बिहान हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।
डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि रातारात झापाको भद्रपुरबाट नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याएको डा.अभिषेक सिंहले बताए ।
डा.केसीको स्वास्थ्यमा समस्या देखिएपछि एक साता अघि इलामको फूलगाछीबाट जिल्ला अस्पतालमा सारिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट मंगलबार विशेषज्ञ चिकित्सकको टोली स्वास्थ्य उपकरण र औषधिसहित इलाम पुगेको थियो ।
आईसीयूमा राखेर उपचार गर्नु पर्ने चिकित्सकहरुले बताएका थिए । इलाम जिल्ला अस्पतालमा भने आईसीयू थिएन । त्यसपछि उनलाई काठमाडौं ल्याउन खोजिएको थियो । तर, डा.केसीले मानिरहेका थिएनन् ।
बिहीबार पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमा र डा.अभिशेक सिंह लगायतको टोली इलाम गएको थियो । उनीहरुको पहलमा डा.केसी उपचारका लागि काठमाडौं आउन तयार भएका थिए ।
त्यसपछि बिहीबार राति १० बजे इलाम अस्पतालबाट एम्बुलेन्समा भद्रपुर लगिएको थियो । आज बिहान जहाजमा काठमाडौं ल्याउने तयारी थियो । तर, एकाएक डा.केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि नेपाली सेनाको हेलिकप्टरबाट बिहान ३ बजेनै काठमाडौं ल्याइएको डा.अभिशेक सिंहले बताए ।
उनलाई सिधै त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको हो । आईसीयूमा राखेर उपचार भइरहेको चिकित्सकले जनाएका छन् ।
डा.केसीको मुटु र फोक्सोमा समस्या देखिएको हो । त्यस्तै उनको शरीरमा रोगप्रतिरोधात्मक क्षमता कम भएको जनाएको छ । छाती, पेट र टाउँको दुख्ने समस्या पनि देखिएको छ ।
१५औं अनसनमा भएको सहमति विपरित सरकारले स्वास्थ्य शिक्षा विधेयक ल्याएपछि डा.केसी असननमा बसेका हुन् । अघिल्लो पटक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा अनसन बसेका डा.केसीले यो पटक इलामलाई रोजेका थिए । आज डा.केसीको अनसनको दशौं दिन हो ।
सिकिस्ता भएका डा.केसीको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनले अनसनलाई जारी राख्ने भएका छन् । उनका सहयोगी डा.अभिषेक सिंहका अनुसार, डा.केसीले माग पुरा नहुँदासम्म अनसन जारी रहने बताएका छन् ।






