ओली र प्रचण्ड दुबै राष्ट्रघाती: गजुरेल
काठमाडौं, वैशाख ६ : नेकपा क्रान्तिकारी (माओवादी)का नेता सीपी गजुरेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थाकै ....
काठमाडौं, वैशाख ६ : नेकपा क्रान्तिकारी (माओवादी)का नेता सीपी गजुरेलले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संसदीय व्यवस्थाकै उपहास गरेको आरोप लगाएका छन्।
संवाद डबलीले शुक्रबार काठमाडौंमा गरेको ‘नागरिकता सम्बन्धी समस्या र समाधान’ विषयक अन्तर्क्रिया कार्यक्रममा नेता गजुरेले ओली र प्रचण्डले संसदीय व्यवस्थाकै उल्लंघन गरेको आरोप लगाएका हुन्। गजुरेलले ओली नेतृत्वको सरकारले नागरिकताका सवालमा संसदको निर्णय सुन्ने समेत धैर्यता नगरेको बताए।
‘संसदमा नागरिकता सम्बन्धी विधेयक विचाराधीन रहेकै अवस्थामा संसदीय व्यवस्थाको समेत उल्लङ्घन गरी ओली–प्रचण्डहरुले संसदीय व्यवस्थाकै उपहास गरेका छन्,’ उनले भने,‘यो निकै नैतिकहीन काम हो।’ उनले सरकारले विगतजस्तै यो पटक पनि लाखौं विदेशीलाई नेपाली नागरिकता गैरकानूनी ढंगबाट दिने निर्णय गरेको आरोप पनि लगाए। गजुरेलले दुई तिहाईको कम्युनिष्ट सरकारले लाखौं भारतीय नागरिकहरुलाई नेपाली नागरिकता दिलाउने नीतिले अर्को राष्ट्रघाती कदम भएको बताए।
गजुरेलले देशलाई सिक्किमिकरण र फिजीकरणतिर लग्ने वर्तमान शासन व्यवस्थाविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी समेत दिए। वर्तमान सरकारले पृथकतावादीलाई साथमा लिएर राजनीतिक दललाई प्रतिबन्ध लाउने सरकारको पञ्चायतकालीन रवैया भएको भन्दै बताए। ‘सीकेलाई जेलबाट निकालेर अंगालो मार्ने, विप्लवलाई प्रतिबन्ध गरेर आगोको झिल्कोलाई डढेलोमा रुपान्तरित गरेको छ। यसलाई कसरी रोक्न सक्छ यो सरकारले?’ उनले भने।






