सकिँदै शैक्षिक सत्र: कसरी जोगाउने विद्यार्थीको एक वर्ष?

काठमाडौं, भदौं ११ : कोरोना भाइरसको महमारीका कारण ६ महिनादेखि विद्यालय बन्द छन्, पठनपाठन ठप्प भएको छ। अब बिकल्प खोज्ने कि लाखौं विद्यार्थीको एकवर्ष गुम्न दिने? शिक्षक तथा अभिभावक चिन्तित बनेका छन्।
कोरोनाको महामारीका कारण सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेको थियो। अहिले फेरि विभिन्न जिल्लामा निषेधाज्ञा लागू गरिएको छ। जसले गर्दा अहिलेसम्म विद्यालय खुल्न सकेका छैनन्। शैक्षिक क्षेत्रमा पर्न सक्ने दिर्घकालिन असरलाई ध्यानमा राखेर बैकल्पिक शिक्षालाई अगाडि बढाउनुपर्ने विज्ञहरुको भनाइ छ।
विद्यार्थीको उक वर्ष गुम्न नदिने बैकल्पिक शिक्षालाई जोड दिनुपर्नेमा निजी विद्यालय सञ्चालकहरुको संगठन प्याब्सन पनि सहमत छ। प्याब्सन अध्यक्ष टीकाराम पुरी यो शैक्षिक सत्रका ६ महिना खेर गएको बताउँछन्। ‘अझै जोखिम कम भएको छैन। त्यसैले विद्यार्थीको एक वर्ष खेर जान नदिन बैकल्पिक शिक्षालाई मान्यता दिनुपर्छ।’
यो शैक्षिक सत्रको ६ महिनामात्रै बाँकी छ। यसलाई सदुपयोग गर्नुपर्ने उनको भनाइ छ। त्यसका लागि बैकल्पिक शिक्षाको व्यवस्था गर्नुपर्ने उनी बताउँछन्।
सरकारले पनि असार १ गतेदेखि बैकल्पिक शिक्षाका रुपमा भर्चुअल पढाइ सुरु गरेको थियो। जसमा अनलाइन, रेडियो र टेलिभजिनमार्फत विद्यार्थीलाई पढाउन सुरु गरेको थियो। यसको प्रभाव न्यून देखिएपछि रोकेको थियो।
अब फेरि बैकल्पिक शिक्षा सुरु गर्नुपर्ने प्याब्सन अध्यक्ष पुरी बताउँछन्। ‘प्रविधिको पहुँच नपुगेको स्थानमा अन्य विकल्प के छन् । अध्ययन गरी बैकल्पिक शिक्षाको पहुँच बढाउनुपर्छ,’ उनले भने।
इन्टरनेट, रेडिया र टेलिभिजनको पहुँच नभएको ठाउँमा अन्य विकल्प अपनाउनुपर्ने विज्ञहरुको भनाइ छ। प्रविधिको पहुँ नभएको ठाउँमा शिक्षकलाई टोलटोलमा पठाएर पनि पठनपाठन गर्नसकिने उनीहरु बताउँछन्।
त्यस्तै, कोरोनाको जोखिम नभएको ठाउँमा पठनपाठन अघि बढाउनुपर्ने उनीहरुको तर्क छ। शिक्षकले सुरक्षित रुपमा घरमा गएर विद्यार्थीलाई होमवर्क दिने, पढाउन सक्ने, घरका सदस्यले पनि पढाउनेतर्फ पनि ध्यान पुर्याउनुपर्ने प्याब्सन अध्यक्ष पुरी बताउँछन्। ‘सरकारले अनौपचारिक शिक्षालाई मान्यता दिनेगरी नीति बनाउनु आवश्यक छ,’ अध्यक्ष पुरी भन्छन, ‘आगामी दिनमा विद्यार्थीले जहाँ जसरी पढे पनि विद्यालयले निगरानी गरी अन्तिममा विद्यालयले मूल्यांकन गर्ने तयारी गर्नुपर्छ।’
अभिभावकहरु प्नि यसमा सहमत देखिन्छन्। विद्यार्थीको एक वर्ष खेर जान दिनु नहुने उनीहरुको भनाइ छ। अभिभावक संघका अध्यक्ष धर्मदत्त देवकोटा पनि यो वर्ष बैकल्पिक शिक्षालाई प्राथमिकतामा राखेर मूल्यांकन गर्नुपर्ने बताउँछन्। त्यसका लागि प्रविधिको पहुँच विस्तार गर्नुपर्ने उनको भनाइ छ।
कोरोनाको जोखिमले विद्यालय खोल्न सक्ने अवस्था नभएको उनले बताए। ‘बैकल्पिक शिक्षालाई प्रभावकारी बनाउन सरकारले जोड दिनुपर्छ,’ उल्लेख गर्दै देवकोटाले भने, ‘विद्यालय तत्काल खुल्न सक्ने अवस्था छैन। शैक्षिक सत्र २०७७ को ६ महिना मात्र बाँकी छ। सकेसम्म यो ६ महिना खेर जानदिनुहुन्न।’
उनकाअनुसार बैकल्पिक शिक्षाका लागि विद्यालय, स्थानीय, प्रदेश र संघीय सरकारले नीति बनाएर नै अगाडि बढ्नपर्छ। बैकल्पिक शिक्षा रेडियो, टेलिभिजन मात्र नभई घरमा अभिभावकले पढाएको पनि मान्यता हुनेगरी योजना बनाउनुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘रेडियो, टेलिभिजन र अनलाइनबाट सिकेको सिकाइलाई मात्र बैकल्पिक शिक्षा मान्न हुन्न। महामारीको वेला घरमा पढाएको कुरालाई पनि मूल्यांकन गरेर अघि बढ्न सकिन्छ।’









![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)


