सरकारविरुद्ध नेविसंघ आन्दोलनमा होमिनुपर्ने बेला आयो: देउवा
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन्।
नेपाल विद्यार्थी संघको ४९औं ....
काठमाडौं, वैशाख ६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताएका छन्।
नेपाल विद्यार्थी संघको ४९औं स्थापना दिवसका अवसरमा नेविसंघ काठमाडौंले आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा बोल्दै उनले सरकारविरुद्ध आन्दोलन गर्ने बेला आएको बताए।
‘निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको अन्याय, अत्याचारविरुद्ध नेविसंघ जाग्नुपर्ने बेला आएको छ,’ देउवाले भने।
उनले विद्यार्थीसँगको छलफलमा नेविसंघको तदर्थ समिति गठन गर्ने बताए। मुलुकको महत्वपूर्ण आन्दोलनको नेतृत्व गरेको नेविसंघ सरकारको विरुद्ध आन्दोलनमा होमिनुपर्ने बेला आएको उनको भनाइ थियो।
कार्यक्रममा कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सरकारले कुरा मात्र गर्ने तर काम नगरेको आरोप लगाए। ‘नेविसंघको कार्यसमिति चाँडो गठन हुन्छ, अब नेविसंघले सरकारको गलत क्रियाकलापको विरुद्धमा लाग्नुपर्छ,’ उनले भने।
कार्यक्रममा कांग्रेस नेता प्रकाशमान सिंह, सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, नेविसंघका नेता लीलाबल्लभ दाहाल, नेविसंघ काठमाडौंका अध्यक्ष मनोज वैद्यले बोलेका थिए।






