कोरोनाले पाँच वर्ष पछाडि धकेलियो पर्यटन क्षेत्र
काठमाडौं, भदौ १ : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको थियो। पर्यटन व्यव

काठमाडौं, भदौ १ : सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको थियो। पर्यटन व्यवसायीहरुले पनि त्यहिअनुसार तयारी थालेका थिए। तर, कोरोना भाइरसको विश्वव्यापी महामारीले पर्यटन क्षेत्र पछाडि धकेलिएको व्यवासायीहरु बताउँछन्।
कोरोना भाइरसको संक्रमण र त्यसपछि गरिएका लकडाउनले सबैभन्दा बढी पर्यटन क्षेत्र नै प्रभावित भएको पर्यटन व्यवसायीहरुको भनाइ छ। टे«किङ एजेन्सिस एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुबेदी यो वर्ष कोरोना संक्रमण नियन्त्रणमा आएपनि तत्काल पर्यटक आउने सम्भावना न्यून रहेको बताउँछन्।
‘कोरोनाको प्रभाव कहिलेसम्म रहन्छ, पर्र्यटन क्षेत्रको भविष्य त्यसमा निर्भर छ,’ अध्यक्ष सुवेदी भन्छन्, ‘यदि यो वर्ष कोरोना नियन्त्रण भएमा पनि २०२० मा लक्षित गरेजति पर्यटक भित्र्याउन पनि पाँच वर्ष लाग्छ ।’
लामो समय लकडाउन हुँदा सबैभन्दा बढी प्रभावित परेको क्षेत्र पर्यटन भएको उनी बताउँछन्। ‘छिटो प्रभाव पर्ने र सुधार आउन लामो समय लाग्ने व्यवसाय पर्यटन नै हो,’ उनी भन्छन्।
होटेल संघ नेपाल (हान)की अध्यक्ष सिर्जना राणा पनि अहिले नै कोरोना नियन्त्रणमा आएपनि बाह्य पर्यटक आउन अझै चार–पाँच वर्ष लाग्ने बताउँछिन्। कोरोनाका कारण सबैको आर्थिक अवस्था कमजोर भएको उल्लेख गर्दै अध्यक्ष राणा भन्छिन्, ‘चार–पाँच वर्ष बाह्य पर्यटकको आस नगरौं। बरु पर्यटन क्षेत्र उकास्न आन्तरिक पर्यटकलाई प्राथामिकतामा राखेर होटलहरुलाई जोगाइराखौं।’
कोरोना संक्रमण कहिले नियन्त्रणमा आउन भन्ने एकीन छैन। खोप नबने हो भने अझै कोरोना नियन्त्रणमा आउन लामो समय लाग्ने बताउँदै त्यतिञ्जेलसम्म होटल जोगाइराख्न जरुरी भएको उनको भनाइ छ।
पहिलेकै अवस्थामा होटल सञ्चालनमा आउन लामो समय लाग्ने उनी बताउँछन्। ‘कति होटल बन्द भएका छन्, कति बन्द हुने तरखरमा छन्। पहिले त हामीले होटल जोगाउँनुपर्छ,’ अध्यक्ष राणा भन्छिन्, ‘त्यसका लागि सहज अवस्था हुनेवितिक्कै सरकारी कर्मचारीलाई घुमफिरका लागि सरकारले विदाको योजना ल्याउनुपर्छ।’
नेपाल पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन निर्देशक मणिराज लामिछाने कोरोनाका कारण पर्यटन क्षेत्रमा ठूलो प्रभाव परेको बताउँछन्। यो वर्ष कोरोना नियन्त्रणमा आएपनि पर्यटन क्षेत्रलाई पहिलेकै अवस्थामा ल्याउन चार–पाँच वर्ष लाग्ने उनको भनाइ छ।
‘कोरोना नियन्त्रण भएपनि यसवर्ष पर्यटक आउने सम्भावना न्यून छ। त्यसलै तत्काल पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सक्दैन, कम्तिमा चार–पाँच वर्ष लाग्छ,’ लामिछाने भन्छन्।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि पर्यटन व्यवसायीले ठूलो लगानी गरेका थिए। कोरोनाले उनीहरुको लगानी डुबेको टानका अध्यक्ष सुवेदी बताउँछन्। ‘पर्यटन व्यवसायीहरुको लगानी जोगाउन सरकारले उचित नीति बनाउनुपर्छ,’ उनी भन्छन्।
हान अध्यक्ष राणा पनि व्यवसायीको लगानी जोगाउन सरकारले सहयोग गर्नुपर्ने बताउँछिन्। सहुलियत ऋण, कर छुट, पर्यटन क्षेत्र उकास्ने नीति ल्याउनु पर्ने उनको भनाइ छ।
पर्यटन बोर्डका अनुसन्धान, योजना तथा अनुगमन निर्देशक लामिछाने व्यवसायीहरुको माग तथा गुनासोलाई ध्यानमा राखेर काम भइरहेको बताउँछन्। ‘पर्यटन व्यवसायीहरुलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने, आगामी दिनमा पर्यटन क्षेत्रमा कसरी सुधार ल्याउने भन्नेबारेमा गृहकार्य भईरहेको छ,’ लामिछाने भन्छन्।
त्यस्तै, आगामी दिनमा पर्यटन क्षेत्रमा कसरी सुधार ल्याउने, व्यवसायीहरुलाई कसरी जोगाउने, आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा सुविधा र सुरक्षादिनेबारे वृहत छलफल गर्ने पर्यटन बोर्डको योजना छ।












-(86)-1764936079.jpg)