६ वर्षमा सिन्धुपाल्चोकले भोगेका ठूला ६ विपत्ति
काठमाडौं साउन ३२: सिन्धुपाल्चोकमा विगत ६ वर्षदेखि बाढी, पहिरो, भूकम्प र सडक दुर्घटना जस्ता ठूला विपद

काठमाडौं साउन ३२: सिन्धुपाल्चोकमा विगत ६ वर्षदेखि बाढी, पहिरो, भूकम्प र सडक दुर्घटना जस्ता ठूला विपद्बाट तीन हजार आठ सय ३३ जनाको मृत्यु भएको छ।
सिन्धुपाल्चोकले विगत ६ वर्षदेखि एकपछि अर्को प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोरेको छ। २०७१ साल यता ६ वर्षको अवधिमा बाढी, पहिरो, भूकम्प, हेलिकप्टर र सडक दुर्घटनामा परेर तीन हजार आठ सय ३३ जनाको निधन भएको छ भने करोडौंको भौतिक क्षति भएको छ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार पछिल्लो समय एकपछि अर्को विपदका कारण सिन्धुपाल्चोकले मानवीय र भौतिक दुवै क्षति खेप्दै आएको छ।
‘प्राकृतिक प्रकोपबाट बच्न र दुर्घटनाको समस्या समाधान गर्न सकिएको छैन’, ढकालले भने, ‘एकपछि अर्को विपद् सिन्धुपाल्चोकले भोग्ने गरेको छ। अब नयाँ ढंगले सोच्नुपर्ने बेला आयो।’
प्रमुख जिल्ला अधिकारी ढकालका अनुसार विपदका घटना बढ्न थालेपछि जिल्लाका प्रत्येक नगरपालिकालाई विपद व्यवस्थापनका लागि तयार रहन अनुरोध गरिएको छ। ‘आपतकालीन समयमा हुने विपदमा सुरक्षा अपनाउन सकिन्छ। तर, नियन्त्रण गर्न सकिँदैन’, उनले भने, ‘त्यसैले हामीले अब जिल्लाको गम्भीर अध्ययन गरेर अघि बढ्नुपर्ने सुझाव केन्द्रलाई दिएका छौँ।’
घटना एक : २०७१ जुरे पहिरो
२०७१ साउन १७ गते साविकको राम्चे गाविस–५ को इटिनी पहिरो फुटेर गएको जुरे पहिरोमा ३१ जना स्कुले बालबालिकासहित एक सय ४५ जनाले ज्यान गुमाएका थिए।
नदी थुनिएपपछि घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म लगायत एक सय ५३ घर पूर्णरूपमा ध्वस्त भएका थिए।
घटना दुई : २०७२ सालको भूकम्प
२०७२ बैशाख १२ को विनाशकारी भूकम्पका कारण देशमै सबैभन्दा ठूलो जनधनको क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो। सिन्धुपाल्चोकमा भूकम्पमा तीन हजार ५ सय ७१ जनाले ज्यान गुमाएका थिए भने ८० हजार संरचना भत्किएका थिए।
सबैभन्दा बढी मानवीय र भौतिक क्षति ब्यहोरेको सिन्धुपाल्चोक अझै पुरानो आकारमा आउन सकेको छैन। भूकम्पको केन्द्र गोरखा भएपनि क्षति भने सिन्धुपाल्चोकमा बढी भएको थियो ।
घटना तीन : दुई ठूला हेलिकप्टर दुर्घटना
सिन्धुपाल्चोकमा दुई ठूला हेलिकप्टर दुर्घटनामा १२ जनाको ज्यान गएको छ। घोर्थली र यमुनाडाँडामा भएको दुर्घटनामा पाँच जना नेपालीसहित ६ जना अमेरिकी र एक जना डच नागरिकको मृत्यु भएको थियो।
२०७२ बैशाख २९ गते गएको भूकम्पका कारण दोलखामा राहत लिएर जाँदै गरेको अमेरिकी हेलिकप्टर सिन्धुपाल्चोक दुर्घटना भएको थियो। नेपालमा खोजी तथा उद्धारमा सघाउन आएको अमेरिकी सेनाको हेलिकप्टर हराएको चौथो दिन जेठ १ गते सिन्धुपाल्चोकको विकट गाउँ घोर्थलीमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको थियो।
२०७२ साल जेठ १९ गते भूकम्प पीडितलाई काठमाडौंबाट राहत सामग्री लिएर दोलाखातर्फ उडेको माउन्टेन एयरको हेलिकप्टर सिन्धुपाल्चोकको साविक यमुनाडाँडा–८ शिला पर्वतको जङ्गलमा दुर्घटना भएको थियो। दुर्घटनामा क्याप्टेन सुवेक श्रेष्ठसहित चार जनाको ज्यान गएको थियो।
घटना चार : तीन ठूला सडक दुर्घटना
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा गत वर्ष असोज २४ गते हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस दुर्घटना हुँदा तीन दर्जन व्यक्तिको मृत्यु भएको थियो।
गत वर्ष कात्तिक १७ गते सिन्धुपाल्चोकको सुकुटे नजिकै शैलुङ्गेश्वर यातायातको बा २ ख ७२४५ नम्बर बस सुनकोशी नदीमा खस्दा १७ जनाको मृत्यु भएको थियो।
गत मंसिरमा दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको बस लामोसाँघु जिरी सडक खण्डको ६ किलोमा पल्टिँदा १५ जनाको ज्यान गएको थियो।
घटना पाँच : बाह्रबिसेमा बाढीपहिरो
२०७७ साल असार २४ गते बाह्रबिसे नगरपालिका र जुगल गाउँपालिकामा ठूलो बढी पहिरो जाँदा जनधनको क्षती भएको थियो। असार २४ पछि साउनको २४ सम्म एक महिनाको अवधिमा बाढीपहिरोमा परि २० जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता छन्।
घटना ६ : लिदीमा पहिरो
२०७७ साल साउन ३० गते शुक्रबार जुगल गाउँपालिका–२ लिदीमा पहिरो जाँदा १८ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता छन्। पहिरोमा ३७ घर पुरिएका छन्।












-(86)-1764936079.jpg)