Kathmandu Press

‘सुन साइली’ को ‘तीनपाते’ यात्रा...

काठमाडौं, साउन २८ : सिर्जनामा सधै नयाँपन र मौलिकता खोज्ने गीतकारको सूची बनाउँदा अग्रस्थानमा उभिन्छन्

‘सुन साइली’ को ‘तीनपाते’ यात्रा...

काठमाडौं, साउन २८ : सिर्जनामा सधै नयाँपन र मौलिकता खोज्ने गीतकारको सूची बनाउँदा अग्रस्थानमा उभिन्छन्, हर्क साउँद। तीन वर्ष अघि संगीतकार कालिप्रसाद बाँस्कोटासँगै कोरेको ‘सुन साईली’देखि लिएर पछिल्लो समय युवा, तन्नेरी तथा वृद्धको समेत मुखमा झुण्डिएको ‘के माया लाग्छ र ?’ मा उनको नौलोपन देखिन्छ।

यतीवेला भने उनले सिर्जनामा नौलो प्रयोग गरेका छन्। उनले ग्रामिण नेपाली परिवेश र युवालाई सिर्जनामा उतारेका छन्। यसको नाम दिएको छ, ‘तीनपाते’। उनले यस म्युजिकल फिल्मका लागि गीत लेखेका छन्, ‘देखेर तिमीलाई, हेरेर तिमीलाई, भेटेर तिमीलाई, सम्झेर तिमीलाई, मनैमनमा माया तीनपाते भैदियो..।’

योभन्दा अघि उनले ‘बटौली’ गीत लेखेका थिए। त्यसको छायांकन सकेपछि उनको मनमा ‘तीनपाते’ जन्मिएको थियो। गीत लेख्नका लागि उनलाई यात्रा गर्न मनपर्छ। ‘समयले नभ्याउँदा पुराना कथासंग्रह अध्ययम मेरो गीतका स्रोत हुन्। कुनै गीत बाटोमा हिड्दा हिड्दै, यात्रा गर्दागर्दै लेख्छु,’ उनी भन्छन्। 

Hardik ivf

यस्तै घुमफिर र अध्ययनबाट इलामी परिवेश र त्यहाँका किसान परिवारको जीवनशैली र दैनिकीलाई गीतमा कोर्दै लेखे, ‘देखेर तिमीलाई, हेरेर तिमीलाई, भेटेर तिमीलाई, सम्झेर तिमीलाई, मनैमनमा माया तीनपाते भैदियो...।’

यस गीतमा उनले अभिनय पनि गरेका छन्। हर्क भन्छन्, ‘मलाई अभिनय गर्न भनेपछि अन्तरआत्मादेखि खुशी लाग्छ। गीत लेखन र अभिनयको संयोग मिल्दा त भगवानले दिएको वरदानझैं ठान्छु।’ 

उनी गीत लेखेरमात्र सन्तुष्ट हुँदैनन्। उनलाई आफ्नो गीतमा अभिनय गर्ने पनि हुटहुटी चल्छ। जसले कहिले उनलाई त कहिले टिमलाई नै सकस हुन्छ। 

‘तीनपाते’ सुटिङको घटना पनि उनी गीतको कुरा गर्दा सम्झिहाल्छन्। गत फागुनको दोस्रो हप्तामा उनको टिम इलाममा म्युजिकल गीतको छायाँकन गर्ने तयारीमा थियो। उनी भने काठमाडौंमै थिए। 

बल्लतल्ल टिकट मिलेपछि उनी छायांकन गर्न इलाम पुगे। ढिलो गरि सुटिङ स्थल पुगेका उनलाई पर्खाइले झन ढिलो बनायो। ‘छायांकन टिम एकातिर कुरिरहेको रहेछ, म अर्के बाटोमा कुरेर बसिराखेँ छु,’ उनी हास्दै भन्छन्।

इलामको मङगल बजारमा सुटिङ गर्ने दिन हाटबजार लागेको थियो। मान्छेको भिडभाड थियो। टिमलाई काम गर्न अप्ठ्यारो परेपछि जुक्ति निकालेछन्। ‘अर्कै ठाउँमा सुटिङ हुँदै छ भन्यौं। सबै उतारतिर लागे, अनि बजार पूरै खाली भयो,’ हर्क भन्छन्, ‘सबै हिडेपछि छायांकनको लागि फेरि मान्छे खोजेर ल्याउनुपर्‍यो।’

नवीन चौहानको निर्देशन रहेको ‘म्युजिकल फिल्म’मा एउटै गीतमा समेटिएको छ। यसमा इलामी परिदृश्यलाई सर्लक्क उतारिएको छ। स्थायी र अन्तरा नराखिएको यस गीतमा सुरु र अन्त्यसम्म फरक खालको शब्दबाट गीतको परिवेशलाई बाँधेको उनी बताउँछन्।

गीतको मर्मलाई म्युजिकल भिडियोले न्याय गरेकोमा उनी सन्तुष्ट छन्। सबैले निकै मेहेनत गरेको बताउँदै उनी भन्छन्, ‘विद्या तिवारी हाई नोटमा गाउँने गायिका हुन्, तर उनले यस गीतलाई लो नोटमा मिठो शैलीमा गाएकी छन्। यसले मेहेनत छर्लङग देखिएको छ।’ गायक सुजन चापागाईको एरेन्जमेन्टले गीतलाई आफ्नोपन दिएको उनी सुनाउँछन्।

यो गीतमा फरकफरक शब्द भेटिन्छन्। यो फरकपनको श्रेय उनी सामाजिक विविधतालाई दिन्छन्। ‘नेपाल सानो छ भन्छन्, तर मलाई विशाल लाग्छ,’ सर्जक हर्क भन्छन्, ‘हरेक क्षेत्र र समुदायका छुट्टाछुट्टै भाषा, संस्कृति र रहनसहन छ। सामाजिक विविधता छन्। यसबाट नै मौलिक सिर्जना गर्न प्रेरणा मिल्छ।’ 

एउटा किसानको परिवारको कथा बोक्छ गीतले। जहाँ हजुरबुवाले धान्दै आएको नौनी व्यवसायलाई छोराले अन्तर्राष्ट्रिय व्यापारसम्म पुर्‍याएको विषय समेटिएको छ। किसानको सुखद जीवनशैलीको बाटो उतारेका छन्, हर्कले। जसमा उनले मायाप्रेम भरेका छन्। ‘बालापनदेखिको मायालाई युवा अवस्थामा अभिव्यक्त गर्नुलाई तीनपाते चियाको मुनासँग जोडेको छु। तीनपाते चिया उपयुक्त समयमा टिपिएन भने त्यसले उचित मूल्य पाउँदछैन, जिन्दगी पनि त्यस्तै हो,’ उनी भन्छन्।

आर्टमाण्डुको प्रस्तुती रहेको ‘तीनपाते’लाई दर्शक तथा स्रोताले खुब मन पराएका छन्। यस गीतमा टिकटक बनाउन थालिएको छ। यसलाई कर्णप्रिय बनाउन संगीत संयोजनामा प्रयोग भएका बाजाको धुनले महत्वपूर्ण भूमिका खेलेको छ। यो गीत १० मिनेटको भएपनि सुन्दा एकैछिन जस्तो लाग्छ।

‘तीनपाते’ मात्रै होइन, उनका हरेक सिर्जना सुनौसुनौ जस्तै लागिरहन्छन्। योभन्दा अघि सार्वजनिक भएको ‘के माया लाग्छ र?’ गीत त सबैको मुखमा झुण्डिएको छ। टिकटक बनाएर कयौंले अझै पनि सेयर गरिरहेका छन्। कयौं दर्शक र स्रोताले त कण्ठै गरेका छन्।

के उनी पनि आफ्ना गीत गुनगुनाउँछन् होला? हर्क भन्छन्, ‘दुई–चार महिनापछि मलाई आफूले लेखेको गीत याद रहँदैन। त्यसैले साथीभाइ तथा जमघटमा गीतको कुरा आउँदा म अन्य विषयमै केन्द्रित रमाइलो गर्न मन पराउँछु।’

उनका केही सिर्जनाहरु जुन गीतको मर्म बाहिर रहेर म्युजिक भिडियो बनेका छन् जसले आफूलाई खल्लो महसुस हुने बताउँछन्।

नेपाली चलचित्रमा उनले लेखेका गीतहरु पनि निकै चर्चित भएका छन्। जसमा क्याप्टेन फिल्मको ‘कर्ली कर्ली कपाल...’ , चलचित्र कबडी कबडी कबडीको ‘दुबो फुल्यो...’, साइली फिल्मको ‘नाँच माया...’ लगायतका गीतहरु चर्चित छन्।

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, साउन २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्