कीर्तेको आरोपमा पूर्वसांसद वीपी यादव पक्राउ
सप्तरी, वैशाख ५ : कीर्तेको आरोपमा पूर्वसांसद विश्वनाथ प्रसाद यादव पक्राउ परेका छन्। नक्कली उपभोक्ता समिति बनाएर कीर्ते काम गरेको आरोपमा पूर्....
सप्तरी, वैशाख ५ : कीर्तेको आरोपमा पूर्वसांसद विश्वनाथ प्रसाद यादव पक्राउ परेका छन्। नक्कली उपभोक्ता समिति बनाएर कीर्ते काम गरेको आरोपमा पूर्वसांसद यादव बिहीबार पक्राउ परेका हुन्।
प्रदेश २ सरकारले सञ्चालन गरेको योजनाको रकम एकलौटी रुपमा लिने उद्देश्यका साथ नक्कली उपभोक्ता समिति बनाएको आरोपमा यादवलाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले जानकारी दिए।
उनले सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न योजना पेश गरेका थिए। योजना पेश गर्दा यादवले अग्निसाइर कृष्णासवरण गाउँपालिकाको नक्कली लेटर प्याडमा समिति बनाएर पेश गरेको भेटिएको प्रहरीले जनाएको छ।
यादवमाथि प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयबाट योजना लिन नक्कली उपभोक्ता समिति बनाएर भ्रष्टाचार गर्ने प्रयास गरेको आरोप छ।
यादव पहिलो संविधानसभा निर्वाचनमा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट समानुपातिक सांसद बनेका थिए। यादव अहिले भने राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आबद्ध छन्।






