राप्रपाले संविधान र कानूनको उल्लंघन गरेको छैनः थापा
काठमाडौं, वैशाख ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको स्पष्ट पारेका छन्।
राप्रपाले ग....

काठमाडौं, वैशाख ५ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफूहरुले कानून र संविधान उल्लंघन नगरेको स्पष्ट पारेका छन्।
राप्रपाले गर्दै आएका संघर्ष र आन्दोलनका कार्यक्रमहरु संविधान र कानूनकै परिधिभित्रै रहेर गरिरहेको पनि थापाले दाबी गरे। उनले संविधानका कतिपय प्रावधानहरुमा अहिलेपनि आफ्नो पार्टीको असहमति रहेको बताए। यद्यपि संविधान र संवैधानिक व्यवस्थासँग सहकार्य गरेर जाने आफ्नो पार्टीको नीति रहेको उनको भनाइ छ।
बिहीबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा थापाले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्रको विरोध गर्नु भनेको संविधानका विरोध नभएको पनि बताए। उनले भने,‘विरोध गर्नपनि वैचारिक स्वतन्त्रता छ। तर, हामीले संविधानलाई नै अस्विकार गरेको वा विरोध गरेका छैनौं।’ नेपालमा धर्मनिरपेक्षता बाहृय शक्तिको दबाब, प्रभाव र आर्थिक प्रलोभनको आधारमा आएको उनको आरोप छ।
थापाले सरकारले आफूहरुको मागलाई उपेक्षा गरेकै कारण जनदबाब सिर्जना गर्न बाध्य भएको स्पष्ट पारे। उनले भने,‘हालै हामीले सशक्त जनदबाब सिर्जना गर्ने उद्देश्यले गरेको मेची–महाकाली यात्रा भव्यताका साथ सम्पन्न गर्यौं।’ थापाले वैशाख ६ गते देशभर धर्मनिरपेक्षता लेखिएका प्ले–कार्ड र ब्यानर जलाउने कार्यक्रम रहेको पनि जानकारी दिए।
उनले विदेशी शक्तिको दबाब र प्रलोभनमा परेर नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिएको पनि आरोप लगाए। उनले पछिल्लो समय धर्मनिरपेक्षताको नाममा नेपालमा सनातन धर्म र संस्कृतिमाथि आक्रमण भैरहेको पनि थापाले आरोप लगाए। नेपालमा पछिल्लो समय ठूलो संख्यामा धर्मपरिवर्तन भएको उनले बताए। उनले भने,‘यसले हाम्रो सामाजिक एकता खलबलिएको छ। त्यसैले धर्मनिरपेक्षता खारेजी अनिवार्य भइसकेको छ।’
आफूहरुले हिन्दूराष्ट्रको कुरा गरेर सबैले यसलाई ग्रहण गर्नैपर्छ भनेर नभनेको पनि उनले बताए। उनले भने,‘हामीले धर्मको आधारमा कानून र शासन गर्नुपर्छ भनेको छैन। हिन्दू धर्म राज्य व्यवस्थाको आधार स्तम्भ हो। यो हाम्रो पहिचान हो। राष्ट्रिय एकताको पनि आधार स्तम्भ हो।’ आफूहरुले राजासहितको हिन्दूराष्ट्रको माग नछोडेको पनि थापाले जिकिर गरे।











