Kathmandu Press

गौतमको फेरि ‘गुट’ अदलबदल, अब देखिएरै ओली ‘गुट’मा

काठमाडौं, साउन १३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले फेरि गुट ब

गौतमको फेरि ‘गुट’ अदलबदल, अब देखिएरै ओली ‘गुट’मा
फाइल

काठमाडौं, साउन १३ :  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले फेरि गुट बदलेर प्रधानमन्त्री केपी शर्मा ओली खेमामा पुगेका छन्।

ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपालबीच चर्को विवाद भइरहेका बेला गौतमले ओलीको पक्षमा आफू उभिएको स्पष्ट देखिने गरी आज दुई अध्यक्षलाई सुझाव सार्वजनिक गरेका छन्।

आजको स्थायी समितिको बैठक सुरु हुनुभन्दा केही समयअघि गौतमले  प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट नहटाउन भन्दै ६ बुँदे प्रस्ताव आफ्नो सचिवालयमार्फत बाहिर ल्याएका छन्।

Hardik ivf

उपाध्यक्ष गौतमले आगामी एकता महाधिवेशनसम्म ओली नै अध्यक्ष र प्रतिनिधिसभाको कार्यकाल नसकिँदासम्म पनि उनी नै प्रधानमन्त्री हुनुपर्ने धारणा उक्त प्रस्तावमा अघि सारेका छन्। गौतमको प्रस्तावले उनी दाहाल–नेपाल गुट छोडेर ओली गुटमा लागेको स्पष्ट देखिएको छ।

प्रधानमन्त्री ओलीले पार्टी सचिवालयमा आफ्नो बहुमत पु¥याउन गौतम र गृहमन्त्रीसमेत रहेका अर्का सदस्य रामबहादुर थापालाई तान्ने प्रयास गर्दै आएका थिए। तर, पछिल्लो समय गृहमन्त्री थापाले भने आफू दाहालसँगै रहेको सन्देश दिँदै आएका छन्।

‘गौतमजी कहिले यता, कहिले उता हो, फेरि उता (ओलीतिर) लाग्नु भएछ,’ एक स्थायी समिति सदस्यले भने, ‘बादलजी भने अहिले दाहालतिरै अडिग हुनुहुन्छ।’

यसअघि ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिनुपर्ने उपाध्यक्ष गौतमले धारणा राख्दै आएका थिए। लामो समयसम्म नेकपा विवाद मत्थर हुन नसक्नुको कारण पनि ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने विषयमै अड्किएको थियो। 

यस्तै, गौतमको प्रस्तावको दोस्रो नम्बरमा एकता महाधिवेशनसम्म सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिनु पर्ने उल्लेख छ। तर यो निर्णय यसअघि जेठ पहिलो साता भएको सहमतिमै उल्लेख थियो।

उनले पार्टीको सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद् पुर्नगठन गर्न, राजनीतिक तथा संवैधानिक नियुक्ति गर्न पनि भनेका छन्। आजका लागि तय भएको नेकपा स्थायी समितिको बैठकमा भने उपाध्यक्ष गौतम अनुपस्थित भएर ओलीलाई समर्थन गरेको प्रष्ट पारेका छन्।

प्रधानमन्त्री ओलीले एकतर्फी रुपमा बैठक स्थगित गरिरहँदा अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूह बालुवाटार पुगेका थिए। तर, उपाध्यक्ष गौतम भने विभिन्न ६ बुँदे प्रस्ताव आफ्नो सचिवालयमार्फत सार्वजनिक गर्न लगाएर बैठकस्थल बालुवाटार गएका छैनन्। 
 

प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, साउन १३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्