Kathmandu Press

‘प्रचण्ड-माधवले बहुमतको दम्भ देखाउनु एकता विरोधी काम’ (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेता अहिले शक्ति संघर्षमा केन्द्रित छन्। आफ्नो पक्षलाई बलियो बनाउन उनीहरु

‘प्रचण्ड-माधवले बहुमतको दम्भ देखाउनु एकता विरोधी काम’ (भिडियोसहित)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का शीर्ष नेता अहिले शक्ति संघर्षमा केन्द्रित छन्। आफ्नो पक्षलाई बलियो बनाउन उनीहरुले सम्पूर्ण शक्ति खर्चिरहेका छन्। पार्टी एकता गरेपनि विगतका गुट सक्रिय बनाउनेतर्फ शीर्ष नेतृत्व लागिपरेका छन्।  यो प्रणाली पार्टीमा देखिनु कत्तिको जायज छ? यसले पार्टी एकतामा कस्तो असर पर्ला? स्थायी कमिटी सदस्य लेखराज भट्टले प्रचण्डको साथ छोडेकै हुन्? लगायतका विषयमा काठमाडौं प्रेसका लागि शिशिर ढकाल र तीर्थराज बस्नेतले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत रहेका नेकपा नेता भट्टसँग गरेको कुराकानीको सम्पादित अंश :

-समाधान उन्मुख हुनुपर्ने नेकपाको विवाद झन् बल्झिँदै गएको हो?

एक व्यक्ति एक पदको माग प्रमुख हुँदा नेकपाको विवाद समाधानतिर भन्दा पनि बल्झिनेतिर लागेको छ। पार्टी एकताका हस्ताक्षरकर्ता दुवै अध्यक्षमध्ये एक नरहँदा पार्टी विभाजन हुन्छ भन्ने नबुझ्दा यो समस्या देखा परेको हो।  गत मंसिर ४ गते भएको सम्झौता अनुसार प्रचण्ड पार्टीको कार्यकारी अध्यक्ष हो। उहाँलाई कार्यकारी भूमिकामा रहन दिएर सहमतिमा पुग्नुपर्छ।

एकताको महाधिवेशन नहुँदासम्म बहुमत अल्पमतलाई विधानले चिन्दैन। महाधिवेशनमा पनि सहमतिबाटै नेतृत्वको चयन गर्ने भन्ने समझदारी पार्टीभित्र छ। त्यसैले एकले अर्कोलाई अवमूल्यन गरेर अघि बढ्नु हुँदैन। बहुमतको बल देखाउने काम भयो भने त्यो एकता विरोधी काम हुन्छ। दुवै अध्यक्षको सहमतिबाट अघि बढ्नुको विकल्प नरहेको कुरा अंगीकार गर्ने हो भने विवाद समाधान हुन्छ।

-प्रचण्ड र माधवकुमार नेपाल आवश्यक परे बहुमतबाट अघि बढ्ने निष्कर्षमा पुग्नुभएको छ। उहाँहरुको यो निचोड एकता विरोधी हो त?

प्रचण्ड र माधवकुमार नेपाल बहुमतबाट अघि बढ्नु भयो भने त्यो एकता विरोधी काम नै हुनेछ। किनभने अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचमा सहमति भएपछि एकता भएको हो। महाधिवेशनसम्म सहमतिबाटै सबै काम गर्ने भन्ने एकताको मर्म हो।  त्यसैले बहुमत र अल्पमतको खेल जसले खेल्छ, त्यो एकताको मर्म र सहमतिको विपरीतको कार्य हो। बहुमत र अल्पमतको खेलले पार्टी विभाजनतर्फ जान्छ। त्यसको भागिदार बहुमत र अल्पमतको कुरा गर्नेहरु हुनेछन्। 

-सांगठनिक रुपमा एकता भएपनि नेकपाभित्र भावनात्मक एकता चाहिँ अझै कायम नभएको हो?  

एमाले र माओवादी केन्द्रलाई भत्काएर अहिले नेकपा बनायौं। अब हामीले हाम्रा सोच, चिन्तन, प्रवृत्ति, कार्यशैली नयाँ बनाउनुपर्छ। पार्टी नयाँ बनाउने अनि पुरानै सोच तिर फर्कने हो भने एकताको अर्थ रहँदैन। अहिलेको जोड कहाँ हुनुपर्छ भने हामीले पार्टी एकतालाई बचाउन भावनालाई जोड्ने, एकअर्काको सम्मान गर्ने हो। त्यसले मात्रै भावनात्मक एकता हुन्छ। आफ्ना विगततिरै फर्किने हो भने पार्टी एकता रहँदैन, ती कार्य पार्टी र नीति विपरीत हुन्छ। अहिले विगतका भूमिका विर्सेर पार्टी एकतालाई मजबुद बनाउनुपर्छ, त्यसका लागि दुई अध्यक्ष एक ठाउँमा हुनुपर्छ। अध्यक्षहरु एक ठाउँमा रहेमात्रै पार्टी एकता बच्छ नत्र पार्टी समाप्त हुन्छ। 

-तपाईंले सबै नेकपाको कार्यकर्ता भएर अघि बढ्नुपर्छ भनिरहँदा प्रचण्डले तपाईंँलाई कित्ता क्लियर गर्न निर्देशन दिनुभएको छ। यसप्रति तपाईंको प्रतिक्रिया के छ?

सुदूरपश्चिमका केही पूर्वमाओवादी नेता, कार्यकर्तालाई बोलाएर मेरोबारेमा अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेको मैले सुनेँ। पार्टीलाई बचाउने हो भने विगत सम्झेर हुँदैन। अहिले एकता बचाउनेतर्फ केन्द्रित हुनुपर्छ। म यतिमात्रै भन्छु दुई अध्यक्षको सहमतिले नै पार्टीलाई निकास दिन्छ। बहुमत र अल्पमतले पार्टीलाई हानी तुल्याउँछ। म एकता विरोधी गतिविधिमा लागेको छैन, एकता कायम गर्ने पक्षधरसँगै छु। पार्टी एकता गर्न अध्यक्ष प्रचण्डको पनि अहम भूमिका छ। पार्टीलाई विभाजनबाट जोगाउन पनि उहाँले सशक्त भूमिका निर्वाह गर्नुपर्छ।

-प्रचण्डले त तपाईंलाई अहसयोग गरेको कारण मन्त्रीबाट फिर्ता बोलाउने र स्थायी कमिटी सदस्यबाट हटाउने भन्नुभएको छ। यसमा तपाईंको टिप्पणी के छ?

एउटा लिडरले मन्त्री पद खाली गर भनेर औपचारिक रुपमा भन्नुभयो भने म तयार नै छु। तर, स्थायी कमिटी सदस्य त म उहाँको पकेटबाट मात्रै भएको होइन। मेरो योगदानको कारणले पनि भएको हो। अध्यक्ष प्रचण्डले बुझ्नुपर्ने कुरा के छ भने म उहाँको सहयोद्धा हो, कार्यकर्ता होइन। कसैको त्याग र बलिदानलाई न्यूनीकरण गरेर विश्वासघाती घोषणा गर्ने कुरा उपयुक्त छैन।  

-तपाईं अहिले प्रचण्डसँग हुनुहुन्छ कि हुनुहुन्न?

राजनीतिमा कोही, कसैको दास वा नोकर हुँदैन। हिजो म प्रचण्डसँग थिए। अहिले म पार्टी एकताको पक्षमा छु। मैले मेरो अधिकारको प्रयोग गरेको हुँ। मैले कसैप्रति गद्दारी वा विश्वासघात गरेको छैन। मैले एकतालाई बचाउनुपर्छ भनेको हो। अध्यक्ष प्रचण्ड पनि पार्टी एकताकै पक्षमै हुनुहुन्छ भन्ने मेरो बुझाइ हो। म त एकताको पक्षमा दृढ छु कतै उहाँ विचलित हुनुभएको छ कि !

-नेताहरुको पद व्यवस्थापनको विवादले पार्टीलाई विभाजनको संघारमा धकेल्नु गलत भएको नेकपाकै कार्यकर्ताहरुको टिप्पणी छ। यसमा तपाईंको धारणा के छ?

दुई ठूला पार्टी एक भएपछि व्यवस्थापनको कुरा त स्वभाविक रुपमा आउँछ। पदकै लडाइँले विभाजनको बाटो समात्नु दुःखद् छ। विवादित सबै विषयको हल महाधिवेशनले गर्छ।  केन्द्रीय समितिले पारित गरेको राजनीतिक प्रतिवेदनमा पनि वैचारिक भिन्नता देखिँदैन। एकता हुँदा पनि वैचारिक भिन्नता छैन भनेर दस्तावेजले भनिरहेका छन्।  केन्द्रीय समितिले आगामी चैतभित्र महाधिवेशन गर्ने भनेको छ, अहिलेदेखि नै त्यसको तयारीमा जुट्नुपर्छ। महाधिवेशनै सबै समस्या समाधान गर्ने उत्तम विकल्प हो। 

-तपाईंले विचारको मत भिन्नता छैन भने पनि जबजलाई मूल विचार मान्न नसकिने अध्यक्ष प्रचण्डको भनाइ छ। अर्का अध्यक्ष ओली त्यसलाई नै मूल विचार मान्नुपर्ने अडानमा हुनुहुन्छ। मतभिन्नता त प्रष्टै देखिँदैन र?

बैठकमा कसैले जबज मान्नुपर्छ भनेर भनेको छैन। स्थायी कमिटीमा केपी ओलीले जबज मान्नुपर्छ भन्नुभयो भने बहस सुरु हुन्छ। अर्को अध्यक्षले २१ औं शताब्दीको जनवाद मान्नुपर्छ भन्नुभयो भने बहस त्यहाँबाट सुरु हुन्छ। माधव नेपालले पनि त्यही आफ्नो धारणा राख्नुपर्‍यो। भित्र कोठामा कसले के भन्यो, ती आधिकारिक होइनन्। वैचारिक बहसका विषय महाधिवेशनको तयारीसँगै आयो भने कसको मत कहाँ भन्ने त्यतिबेला स्पष्ट हुन्छ। 

जबज ठीक हो कि २१ औं शताब्दीको जनवाद ठीक हो भन्ने बहस हुन्छ। वा दुवै ठीक होइनन्, अहिलेको परिवेशमा अर्को विचार ल्याउनुपर्छ भन्ने हुन्छ कि। जब पार्टीले दस्ताबेज तयार गरेर ल्याऊ भन्छ तब न बहस हुन्छ। अहिले बहस गर्ने समय होइन। 

-पछिल्लो विवाद सुरु भएको एक महिनाभन्दा बढी भइसकेको छ। विवाद समाधान गर्न नेतृत्वको क्षमता नभएको कि इच्छाशक्ति नभएको हो? 

सबैका आ–आफ्ना स्वभाव हुन्छन्। त्यहाँ विभिन्न प्रवृत्ति खेलिरहेका हुन्छन्। इच्छाशक्ति छैन भनौं भने हिजो यत्रो पार्टी हाँकेर आउने यही नेतृत्व हो। जनयुद्ध प्रचण्डले हाँकेकै हो। उहाँको नेतृत्वमा हामी लडेकै हो। यता केपी ओलीको पनि लामो इतिहास छ। वर्षाैं जेल बस्नुभएको छ। अहिले नै दुवैको इच्छाशक्ति र क्षमता छैन भनेर भन्न सकिँदैन। तर, कहीँ न कहीँ विभिन्न प्रवृत्तिको प्रभावमा परेर एउटा सहमति हुन्छ, फेरि टुट्छ।

नेतृत्व जे बोल्छ त्यो कार्यान्वयनमा लगेपछि हामी त्यही बाटोमा हिँड्छौं। कुनै दिन नेतृत्व एकै ठाँउमा आउँछन्, सहमतिमा आउँछन्। त्यसलाई हामीले सहयोग गर्ने र कार्यान्वयन गर्ने हो। हामी पनि केही स्थायी कमिटीका सदस्यहरुले बहुमत, अल्पमत नभनाैं सहमतिबाटै अघि बढौं भनेका छौं। नेतृत्व एक ठाउँमा आएर हिजो भएका सहमतिलाई इमान्दारितापूर्वक कार्यान्वयन गरेर अघि बढ्नुपर्छ।

-प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीले राजीनामा दिनुपर्ने माग फेरि जोडदार रुपमा उठाउने संकेत देखिएको छ। यी माग सही छन् कि छैनन्? 

यो एकदम गलत माग हो। दुवै अध्यक्षमध्ये एउटा मात्रै निस्कियो भने पार्टी एकता कायम रहँदैन। अहिले सरकारको नेतृत्व परिवर्तन गर्न खोज्नु भनेको देशलाई अस्थिरतातर्फ लैजानु हो। 

-प्रधानमन्त्री ओली अहंकारी भएको भन्ने आरोप छ नि ?

अंहकारी, दम्भी को हो भन्ने कुरा चाहिँ सबै आ-आफूतिर फर्कने हो भने प्रष्ट हुन्छ। आत्मसमीक्षा गर्न जरुरी छ। मेरै बारेमा भन्ने हो भने पनि त मेरा विरुद्धमा आरोप लगाउने, कित्ताबन्दी गर्ने त देखियो नि। मैले एकता कायम रहनुपर्छ भन्दा ममाथि विभिन्न बिल्ला भिराइरहनुभएको छ। को दम्भी भन्ने त त्यहाँबाट स्पष्ट हुन्छ नि।

विचार राख्नु भनेको मेरो अधिकारको कुरा हो। मैले कुनै नेतृत्वको आलोचना गरेर, कसैलाई खुइल्याउने काम गर्छु भने म अनैतिक हो, दम्भी हो। तर, अहिले हामीले भनेको पार्टी एकता कायम रहनुपर्छ। कम्युनिष्टहरुको सबैभन्दा बलियो हतियार भनेको आत्मालोचना हो। सबैले आत्मसमीक्षा गर्ने हो भने को दम्भी छ, छैन प्रष्ट भइहाल्छ। प्रधानमन्त्रीजीले पनि आत्मआलोचना गर्दा भइहाल्छ, अर्को अध्यक्षले गर्दा भइहाल्छ। हामीले पनि गर्नुपर्छ। 

-असार १० गते सुरु भएको स्थायी कमिटी बैठक आठौं पटक स्थगित भइसकेको छ। स्थायी कमिटीलाई बन्धक बनाउने नेतृत्वको यो कार्यशैलीलाई तपार्इंले कसरी लिनुभएको छ?  

कम्युनिष्टको विधि र पद्धति नबुझ्नेले यसलाई स्थगन समिति भनेर पनि व्यंग्य गरेका छन्। बैठक स्थगित भएर पनि छलफल त भएरहेकै छ।  माओका पालामा चिनियाँ कम्युनिष्ट पार्टीको एक वर्षसम्म निरन्तर महाधिवेशनबारे छलफल भएको थियो। 

हाम्रै पूर्वमाओवादी पार्टीमा एक वर्षसम्म केन्द्रीय समितिको बैठक चलेको थियो। प्रचण्डको नेतृत्वमा स्थगित हुँदै निरन्तरतामा गएको थियो। अहिले जे समस्या छ, त्यो समाधान गर्न बैठकबाट हल नहुने भएपछि नेतृत्वबीचमा छलफल गर्ने र समाधान गर्ने भन्ने नै हो। बैठक स्थगन गरेर समस्यालाई यथावत राख्नेतिर नेतृत्व लाग्नुभएको जस्तो मलाई लाग्दैन। 

-देश कोरोना महामारी र प्राकृतिक विपद्‍मा फसेका बेलामा सत्तारुढ दलभित्रको किचलोेबाट जनता आजित छन्। जनताको समस्या सम्बोधन गर्न छोडेर सम्पूर्ण शक्ति त्यसमा खर्चिनु कत्तिको जायज छ?

कोरोना संक्रमणबाट जे परिस्थिति सिर्जना भएका छन् त्यसले पैदा गरेको आर्थिक समस्या, अर्थतन्त्रमा पार्ने प्रभाव र त्यसको समाधान कसरी गर्ने भन्नेमा सरकार र सिंगो पार्टी केन्द्रित हुनुपर्ने हो। 

बर्खाको बेलामा बाढी, पहिरोबाट हुने समस्या समाधान गर्न जुट्नुपर्ने हो। कार्यकर्ता परिचालन गर्ने र परिचालित हुनुपर्ने बेलामा हामी मुख्य मुद्दामा नगएर सहायक मुद्दामा केन्द्रीत भइरहेका छौं। निश्चय पनि पार्टी तथा सरकारको सम्पूर्ण शक्ति विपद र महामारीतर्फ केन्द्रित हुनुपर्छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्हालेकाले मैले मेरो भूमिका जिम्मेवारीपूर्वक नै बहन गरिरहेको छु। अब सम्पूर्ण पार्टी पंक्ति नै यो विवादलाई टुंगोमा पुर्‍याएर महामारी र विपदसँग जुध्नुपर्छ। दुःखमा परेका जनतासँग पार्टी हुनुपर्छ, कार्यकर्ता हुनुपर्छ।

भिडियो

प्रकाशित मिति: ०७:४० बजे, मंगलबार, साउन १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्