सवारीसाधन किन्ने हो ? यस्ता छन् कम्पनीका अफरैअफर
काठमाडौं, साउन २ : कोरोना भाइरसका कारण सवारीसाधन बिक्री हुन छाडेपछि विभिन्न कम्पनीले आकर्षक अफर ल्या
काठमाडौं, साउन २ : कोरोना भाइरसका कारण सवारीसाधन बिक्री हुन छाडेपछि विभिन्न कम्पनीले आकर्षक अफर ल्याएर ग्राहक तान्ने कोशिश गरेका छन्।
प्राय: दशैं–तिहार, नयाँ वर्ष र नाडा अटो सोमा हुने अफर कोरोनापछि खुलेको बजारमा सबै जसो कम्पनीले सार्वजनिक गरेका छन्। कोभिड-१९ कै कारण आर्थिक गतिविधि नहुँदा मोटरसाइकल र गाडीहरु बिक्री भएका छैनन्।
लकडाउनका कारण सोरुममा थन्किएका सवारी बिक्री गर्न आकर्षक अफर ल्याइएको कम्पनीहरुले बताएका छन्। अधिकांशले व्याजदर, डाउनपेन्ट र एक वर्षपछि पूरा किस्ता तिर्नेगरी अफर ल्याएका छन्।
कुन कम्पनीको कस्तो अफर ?
सुजुकी
सुजुकीले मोटरसाइकल र स्कुटरको नगद खरिदमा छुट र उपहार दिने घोषणा गरेको छ। मोटरसाइकल तथा स्कुटर खरिद गरेबापत खरिदकर्ताले १५ हजारसम्मको छुट पाउनेछन्। यो तत्काल नगद, फाइनान्स र सवारी सटही तीनै प्रक्रियामा लागु हुनेछ। यो योजना साउन ३२ गतेसम्मका लागि मान्य हुने कम्पनीले जनाएको छ।
किस्तामा सवारी खरिद गर्दा ग्राहकलाई ५० प्रतिशत डाउनपेमेन्ट गरेर शून्य प्रतिशत व्याजदरको सुविधा कम्पनीले दिएको छ। दुई वर्षको समयावधि राख्ने हो भने ७ प्रतिशत व्याजदर लाग्ने कम्पनीले जनाएको छ।
यस्तै, सुजुकीको गाडी खरिद गर्दा खरिदकर्ताले प्रत्येक कारमा एक लाखसम्मको नगद छुट पाउने छन्। त्यस्तै, सवारी सटहीमा ५० हजारसम्मको बोनस पाउने अफर कम्पनीको छ। यसबाहेक ग्राहकले सुजुकीको गाडी किस्तामा खरिद गर्न चाहेमा पनि उक्त छुट दिएको छ। किस्तामा कार खरिद गर्दा डाउनपेमेन्ट जम्मा ७ लाख ४४ हजार ७५० मात्र तिर्नुपर्ने हुन्छ। यस्तै, प्रत्येक महिना इएमआई केबल २१ हजार ३९३ मात्र तिर्नुपर्ने कम्पनीको अफर छ ।
बजाज
बजाजले मोटरसाइकल तथा स्कुटरहरु अनलाइन बुकिङको व्यवस्था गरेको छ। किस्तामा सवारी खरिद गर्नेहरुका लागि शर्तसहित ५० प्रतिशत डाउनपेमेन्टमा शून्य प्रतिशत व्याजदर तोकिएको छ। यस्तै, १५० सीसीभन्दा मुनिको मोटरसाइकल खरिदमा २० प्रतिशत डाउनपेमेन्ट गरी शून्य प्रतिशत व्याजदरको व्यवस्था गरेको छ।
यो व्यवस्था अन्तर्गत सवारी खरिद गर्दा आफू कार्यरत संस्थाको आयस्रोत पत्र, बैंक स्टेटमेन्ट र काठमाडौंमा घर भएको कुनै एक व्यक्ति जमानी बस्नु पर्ने शर्त कम्पनीले राखेको छ।
यस्तै, बजाजले कोरोना महामारीको समयमा पनि फ्रन्टलाइनमा रहेर आफ्नो दायित्व निर्वाह गर्नेलाई सम्मान गर्दै उनीहरुका लागि थप छुट समेत दिने योजना बनाएको छ। फ्रन्टलाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, नेपाल प्रहरी र नेपाली सेनामा कार्यरत कर्मचारीका लागि बजाजको मोटरसाइकल खरिदमा १२ हजार देखि १५ हजारसम्मको अर्को छुट पनि दिने कम्पनीले जनाएको छ।
फक्सवागन
फक्सवागनको कार खरिदमा ग्राहकलाई विभिन्न प्रकारका छुट दिइएको छ। कम्पनीले मासिक १० हजार रुपैयाँ किस्ताबन्दीमा खरिद गर्न सकिने अफर ल्याएको छ। साथै निःशुल्क सामानहरू, एक वर्षका सडक कर, चार वर्षका लागि निःशुल्क मर्मत सेवा लगायतका अन्य अफर पनि कम्पनीले सार्वजनिक गरेको छ।
यामाहा
यामाहाले जुनसकै मोडलको मोटरसाइकल र स्कुटर खरिद गरेबापत १० हजारसम्मको नगद छुट पाउने जनाएको छ।
यो योजना अन्तरर्गत किस्तामा सवारीसाधन खरिद गर्दा शून्य प्रतिशत व्याजदरका साथै शून्य प्रतिशत नै डाउनपेमेन्टको सुविधा पनि ल्याएको छ। तर, यो अफर सीजी ग्रुप अफ कम्पनी, आईएमई लगायतका कर्पोरेट हाउसमा काम गर्नेहरुलाई मात्रै लक्षित गरिएको छ।
सर्वसाधारणका लागि भने ५० प्रतिशत डाउनपेमेन्ट र एक वर्षका लागि शून्य प्रतिशत व्याजदरमा सवारी खरिद गर्न सकिने व्यवस्था रहेको छ।
होन्डा
होन्डाले आफ्ना ग्राहकको सहजताका लागि एक प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल र स्कुटर लिन सकिने आकर्षक अफर ल्याएको छ। यस्तै, होन्डाको कार खरिद गर्दा रकम छुट दिनुका साथै ३० प्रतिशत डाउनपेमेन्टको अफर ल्याएको छ।
यसबाहेक एक वर्षको सडक कर कम्पनीले तिरिदिने, एक वर्षको इन्स्योरेन्स पनि कम्पनीले तिर्ने र ४.२५ प्रतिशतको न्यूनतम व्याजदर लगायतका अफर होण्डाले ल्याएको छ। होण्डाले कार खरिदमा एउटा साइकल सित्तैमा पाउने अफर पनि ल्याएको छ।
टिभिएस
टिभिएसले ग्राहकलाई आर्थिक सहजता प्रदान गर्न ‘बाइ नाउ पे इजी’को अफर ल्याएको छ। यो योजना अन्तर्गत रहेर ग्राहकले केवल प्रतिमहिना ९९ रुपैयाँमात्र इएमआई तिर्नुपर्ने हुन्छ। कोरोनाको जोखिमलाई न्यूनीकरण गर्न अनलाइन बुकिङको समेत व्यवस्था गरेको छ। साथै सवारी खरिद गर्दा ग्राहकले १० हजार रुपैयाँसम्मको छुट समेत प्राप्त गर्न सक्नेछन्।
निसान
निसानले ‘बाइ नाउ पे लेटर’को अफर ल्याएको छ। यो योजना अन्तर्गत ग्राहकले कार खरिद गर्दा निधारित न्यूनतम रकममात्र तिर्नु पर्नेछ। सीमित समयका लागि ल्याइएको यो योजनामा ग्राहकले ६ महिनासम्म किस्ता र व्याज तिर्नु नपर्ने व्यवस्था मिलाइएको छ।
हुन्डाई
हुन्डाईले किस्तावन्दीमा कार खरिद गर्दा ग्राहकले मासिक तिर्नु पर्ने कुल मूल्यको ५० प्रतिशत रकम मात्र तिर्ने व्यवस्था मिलाएको छ। यस्तै, चार वर्षसम्मको निशुल्क सेवा, एक वर्षको निशुल्क बीमा, आर्थिक वर्ष ०७७-७८ का लागि निशुल्क सडक कर, स्पट एक्स्चेन्जका साथै स्वास्थ्यकर्मीका लागि विशेष प्याकेजको समेत व्यवस्था गरेको छ।