प्रधानमन्त्रीको दबाबमा तीन महिनामै ३३ अर्ब रुपैयाँ रकमान्तर
काठमाडौं, वैशाख ५ : आर्थिक अनुशासनलाई प्रमुखता दिने बताउँदै आएका अर्थमन्त्री डा.युवराज खतिवडाले मनलाग्दी रकमान्तर गरेको छन् । उनले आर्थिक अनुशासन तोड्....
काठमाडौं, वैशाख ५ : आर्थिक अनुशासनलाई प्रमुखता दिने बताउँदै आएका अर्थमन्त्री डा.युवराज खतिवडाले मनलाग्दी रकमान्तर गरेको छन् । उनले आर्थिक अनुशासन तोड्दै तीन महिनामा झन्डै ३३ अर्ब रुपैयाँ रकमान्तर गरेका छन्। प्रधानमन्त्रीको दबाबमा रकमान्तर गरिएको जनाएको छ।
अर्थ मन्त्रालयले चैतमा मात्रै १२ अर्ब रुपैयाँ शक्तिशाली नेताका क्षेत्रमा रकमान्तर गरेको छ। मन्त्रालयले चैतमा ११ अर्ब ८८ करोड १० लाख ४२ हजार एक सय ८५ रुपैयाँ रकमान्तर गरेको छ। यसैगरी एक सय २३ शीर्षकबाट आर्थिक सहायता, भौतिक सुविधा, संघीय संरचना सुधार कार्यक्रमलगायतका नाममा रकम रकमान्तर गरेको हो।
अर्थले माघ तथा फागुनमा पनि अर्बौ रुपैयाँ रकमान्तर गरेको थियो। माघमा नौ अर्बभन्दा बढी रकमान्तर गरेको थियो भने फागुनमा पनि ११ अर्ब रुपैयाँ रकमान्तर गरेको थियो । चैत महिनामा झनै धेरै १२ अर्ब रुपैयाँ रकमान्तर गरिएको हो।
नेताहरूको दबाबमा तीन महिनामा मात्रै विभिन्न शीर्षकमा ३३ अर्बभन्दा बढी रकमान्तर गरिएको छ।
अर्थ मन्त्रालयले आर्थिक वर्ष ०७५÷७६ को बजेट भाषण राखिएका विभिन्न शीर्षकको रकमलाई अन्यत्रै रकमान्तर गरेको पाइएको छ। अर्थमन्त्री खतिवडा ठूला आयोजनाका लागि रकमान्तर गर्न तयार भएपनि अन्य आयोजनाका लागि रकमान्तर गर्ने पक्षमा रहेका थिएनन्।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीनै दबाब दिएपछि दर्जनौ कार्यक्रममा रकान्तर गरिएको जनाएको छ। जसमा केही विकासका पूर्वाधारमा रकान्तर गरिएको छ भने अधिकांस भने खुद्रे कार्यकर्ता रिझाउने कार्यक्रममा रकमान्तर गरिएको पाइएको छ।
मध्यपहाडी राजमार्गका लागि दुई अर्ब रुपैयाँ रकमान्तर गरिएको छ। सरकारले धार्मिक कार्यक्रम एवं सभा गर्न पनि रकमान्तर गरेर पैसा दिएको छ।
दुइटा धार्मिक कार्यक्रम गर्न ६० लाख रुपैयाँ रकमान्तर गरेर निकासा दिइएको विवरणमा उल्लेख गरिएको छ। सरकारले पिण्डेश्वर अर्ध कुम्भ मेला सुनसरीलाई ५० लाख र १२औँ राष्ट्रिय बौद्ध सम्मेलनको लागि धर्मोदय सभा काठमाडौंलाई १० लाख रुपैयाँ रकमान्तर निकासा दिएको छ। गण्डकी प्रदेशमा त्यसरी गएका कार्यक्रम कार्यान्वयनका लागि ५४ करोड नौ लाख रुपैयाँ रकमान्तर गरेर निकासा दिइएको अर्थले जनाएको छ।
अर्थमन्त्री खतिवडाले धार्मिक कार्यक्रमदेखि कर्मचारीको पोशाक भत्तासम्मका लागि समेत रकमान्तर निकासा दिएका छन्।
आर्थिक वर्षको पहिलो नौ महिना बितिसक्दासमेत खर्च गर्न नसकेको सरकारले एकै महिनामा एकैपटक ठूलो रकम बाँडेको छ। अर्थमन्त्रीले नेकपा महासचिव विष्णु पौडेल, नेताहरु पम्फा भुषाल र नवराज सिलवालदेखि सञ्चारमन्त्री गोकुल बाँस्कोटाकोे क्षेत्रमा सबैभन्दा बढी रकमन्तर गरिएको छ।
१० करोड बाँडियो
बिभिन्न व्यक्तिको उपचारका लागि भन्दै १० करोड रुपैयाँ वितरण गरिएको छ। नेता तथा कर्मचारीको उपचार खर्चका लागि समेत रकम बाँडिएको पाइएको छ। कतिपय रकम गृह मन्त्रालयको नाममा निकासा गरिएको छ। त्यहीबाट रकम बाँडिएको हो।
सरकारले पूर्वमन्त्री नरहरि आचार्यको उपचारको लागि ३३ लाख ३३ लाख ६१ हजार रुपैयाँ दिएको छ। उपचारको लागि पूर्वउप्रधानमन्त्री भरतमोहन अधिकारीलाई १० लाख रुपैयाँ दिएको थियो । उनको उपचारको क्रममा निधन भएको थियो।
पूर्वमन्त्री तथा कांग्रेस नेता रामकृष्ण ताम्राकारलाई १५ लाख रुपैयाँ दिइएको छ। गण्डकी प्रदेशका प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारीको उपचारको लागि सात लाख १९ हजार रुपैयाँ दिइएको छ।
पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई दुई लाख उपचारको लागि दिइएको छ। त्यस्तै, राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई १४ लाख ९८ हजार दिइएको छ । साहित्यकार मदनमणि दीक्षितको उपचारको लागि सात लाख रुपैयाँ सरकारले उपलब्ध गराएको छ । अर्थले गृह मन्त्रालयमार्फत रकम वितरण गरेको हो।






