सुनसान राजमार्गका होटल, यात्रु पर्खिदै व्यवसायी
काठमाडौं, असार २५ : पृथ्वी राजमार्गमा लामो तथा छोटो रुपमा चल्ने सवारीका यात्रुलाई खाना, खाजा खुहाउने

काठमाडौं, असार २५ : पृथ्वी राजमार्गमा लामो तथा छोटो रुपमा चल्ने सवारीका यात्रुलाई खाना, खाजा खुहाउने सडक छेउका होटेलहरु सुनसान छन्। होटल व्यवसायीहरु यात्रुको पखाईमा छन्।
लकडाउनले याताायत बन्द भएपछि राजमार्ग छेउछाउका होटल पनि बन्द छन्। यातायात सञ्चालन भएपछि मात्रै ग्राहक हुने गरेको होटेल व्यवसायी बताउँछन्। लामो तथा छोटो दूरीका यातायातका साधन नचल्दा होटल पनि नचलेको उनीहरु बताउँछन्।
धादिङको धार्के गाउँपालिका १ खयरघारीस्थित होटल कान्तिपुर फास्टफुड तथा रेस्टुरेन्टका सञ्चालक रमेश प्याकुरेल सडकमा गाडी चलेपछि मात्रै होटल चल्ने बताउँछन्। ‘लकडाउन नखुले पनि सुरक्षित रुपमा होटेल सञ्चालन गर्न दिए हुन्छ,’ उनी भन्छन्।
१७ वर्षदेखि होटल सञ्चालन गरिरहेका उनले नेपाला भ्रमण वर्षको लागि थप लगानी गरेका थिए। त्यसले झन समस्या भएको उनले सुनाए। झन गाडी बन्द भएपछि होटल पनि बन्द भएको बताउँदै उनी भन्छन्, ‘हाम्रो होटल यात्रुले नै चल्दै आएको हो।’
उनको होटलमा २५ जना कर्मचारी थिए। लकडाउनपछि १५ जनालाई बिदा दिएका छन्। नजिकका कर्मचारी घर गएका छन् भने टाढा घर भएकाहरु होटलमा बसिरहेका छन्। ‘अब थप केही महिना लकडाउन भएमा होटल सञ्चालन गर्न सकिदैन,’ उनी भन्छन्।
धार्के गाउँपालिका २ स्थित कोइरालेमा दुई वर्षदेखि होटल सञ्चालन गर्दै आएका कृष्ण ढकालले पनि लकडाउनले चौपट भएको बताउँछन्। पर्यटन वर्षका लागि लगानी थपेका होटेल काष्टमण्डपका सञ्चालक ढकाल लकडाउनले समस्या भएको बताउँछन्। ‘पर्यटक वर्षको लागि ठूलो लगानी गरेको थिएँ, लकडाउनले गाह्रो भएको छ। अहिलेसम्म ऋण निकाले गरेको लगानी तिरिसक्ने थिए, लकडाउनले झन थपियो,’ उनी भन्छन्।
बैंकको किस्ता तथा कर्मचारीलाई तलव दिन नकसकेको उनको गुनासो छ। सुरुको महिना तलब दिएपनि त्यसपछि नसकिएको उनले बताए। ‘१२ जना कर्मचारी थिए। आम्दानी नभएकाले १० जनालाई विना तलवको विदा दिएको छु,’ उनले भने।
लकडाउन अघि एक पटकमा ८० जनालाई खाना खुहाउन सक्ने हलको व्यवस्थापन गरेका उनी मासिक ६० हजारसम्म नाफा कमाउथे। तर, अहिले कर्मचारीलाई तलब खुवाउन पनि नसकिएको बताउँछन्।
धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बेनीघाटस्थित सफल होटलका सञ्चालक सन्तोष थापा पनि अप्ठ्यारोमा छन्। यात्रुमै निर्भर रहेको उनको होटल यातायात बन्द भएपछि सुनसान छ। ‘सडक छेउछाउका होटेलहरुको आम्दानी यात्रुमै निर्भर हुन्छ। अन्य विकल्प छैन,’ सन्तोष भन्छन्, ‘यातायात नचल्दा शून्य भएको छ।’
लकडाउनका कारण खाजा खाने पनि नआउने गरेको उनले बताए। जसले गर्दा कर्मचारीलाई पाल्न पनि सकेका छैनन्। १२ जना कर्मचारीमध्ये १० जनालाई विदा दिएका छन्। अहिले दुई जना मात्रै कर्मचारी रहेको उनले बताए। उनी एकै पटक ४८ जनालाई खाना खुवाउने गरेका थिए।
कोरोना र लकडाउनका कारण सकसमा परेको राजमार्गका होटल व्यवसायी अब यातायात खोल्नुपर्ने बताउँछन्। सुरक्षा अपनाएर यातायात सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ। ‘अझै यातायात नचल्ने हो भने त धान्नै सकिन्न,’ होटल व्यवसायी प्याकुरेल भन्छन्, ‘यो मेरो मात्रै होइन, राजमार्गका सबै होटल व्यवसायीको पीडा हो।’
लकडाउन खुकुलो भएसँगै सार्वजनिक यातायात पनि सञ्चालन हुनेमा उनीहरु आशावादी छन्।












-(86)-1764936079.jpg)