दरबन्दी टुंगो लगाउँदै ललितपुर महानगरपालिका
ललितपुर, वैशाख ४ : ललितपुर महानगरपालिकाले आवश्यक दरबन्दी टुंगो लगाउने भएको छ। पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका वि....

ललितपुर, वैशाख ४ : ललितपुर महानगरपालिकाले आवश्यक दरबन्दी टुंगो लगाउने भएको छ। पहिले उपमहानगरपालिका हुँदाको दरबन्दी अहिले पर्याप्त नभएकाले दरबन्दीका विषयमा आवश्यक गृहकार्य भइरहेको महानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाबाट महानगरपालिकामा स्तरोन्नती हुँदा यहाँ क्षेत्रफल र जनसङ्ख्या दुवै बढेको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताए। पहिले २२ वडा भएकामा अहिले यहाँ २९ वडा रहेका छन्। संघीय सरकारले कर्मचारी समायोजन गरिरहँदा यहाँ ५८ जना कर्मचारी आएको उनले बताए।
महानगरपालिकामा तीन सयभन्दा बढी कर्मचारी रहेका छन्। महानगरले विज्ञहरुका सुझावका आधारमा दरबन्दी व्यवस्थापन हुने बताएको छ। उनले भने, 'महानगरपालिकामा कति कर्मचारी चाहिन्छ र वडा कार्यालयहरुमा कति कर्मचारी आवश्यक छ भन्ने दरबन्दी बनेपछि नै थाहा हुन्छ।
उपमहानगरपालिका महानगरपालिका बनेको दुई वर्ष बितिसक्दा पनि नयाँ दरबन्दी निर्धारण हुन सकेको थिएन। संघीय सरकारको समायोजनपछि नै यहाँको दरबन्दीको टुंगो लाउने महानगरले बताउँदै आएको छ। अहिले वडाअनुसार फरकफरक जनशक्ति खाँचो पर्ने प्रवक्ता महर्जनले बताए। समायोजनबाट आएका कर्मचारी र महानगरलाई आवश्यक कर्मचारी पनि फरक रहेको छ। उनले भने,'यहाँ हामीलाई प्राविधिक जनशक्ति आवश्यक भए पनि यहाँ प्रशासनतर्फका कर्मचारी बढी आउनुभएको छ।'
महानगरपालिकामा भवनको अभाव रहेको छ। विषयगत कार्यालयका कर्मचारी समायोजनमार्फत आए पनि कर्मचारी नआउँदा भवनको अभाव रहेको महानगरपालिकाले जनाएको छ।











