प्रचण्ड–नेपाल समूहको रणनीति : सके सरकारको नेतृत्व फेर्ने, नसके मन्त्री !
काठमाडौं, असार ११ : सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु स्थायी समिति बैठकमा
काठमाडौं, असार ११ : सत्तासीन दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबारबाट सुरु स्थायी समिति बैठकमा ‘एक व्यक्ति, एक पद’को एजेण्डा उठ्ने भएको छ।
अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले उक्त एजेण्डा प्रमुखताका साथ उठाउने तयारी गरेका छन्। जनअपेक्षा अनुसार सरकारले काम गर्न नसकेको निष्कर्षसहित प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाउन प्रचण्ड–नेपाल समूहले यस्तो तयारी गरेका हुन्।
जनताले अनुभूत गर्ने गरी सरकारले काम नसकेकाले नेतृत्व फेर्नुपर्ने पक्षमा उनीहरुले आवाज उठाउने भएका छन्। ‘सरकारले राम्रो काम गर्न सकेन्। सरकारको कार्यशैलीले सिंगो पार्टी नै ओलोचित हुने अवस्था आएको छ,’ नेपाल पक्षका एक स्थायी समिति सदस्यले काठमाडौं प्रेससँग भने, ‘त्यसैले सरकारको नेतृत्व फेर्ने पक्षमा आवाज उठाउने हाम्रो तयारी छ। यदी त्यसो हुन नसके आलोचित बनेका मन्त्री फेर्न दबाब दिनेछौं। तर, त्यसका लागि प्रधानमन्त्रीले पार्टी र सरकार सञ्चालनका क्रममा भएका कमी कमजोरीबारे आत्मआलोचना गर्नुपर्छ।’
यस्तै आगामी बैठकमा सरकारको गम्भीर समिक्षासँगै विवादित मेलिनियम च्यालेन्ज करर्पेरेसन (एमसीसी) परियोजनाका बारेमा पनि छलफल हुनेछ।
बैठकले सात एजेण्डा तय गरेपनि स्थायी समिति सदस्यहरुले भने सरकारको काम र एमसीसीकै विषयमा मात्र केन्द्रीत रहेर छलफल गर्ने तयारी गरेका छन्।
‘एमसीसी विवादित बनेको छ। जनस्तरबाट समेत विरोध भइरहेको छ। त्यसैले बैठकमा एससीसी इन्डोप्यासिफिक अन्तर्गत हो कि होइन? भनेर विस्तृत छलफल हुने छ,’ उनले भने, ‘पार्टीले गठन गरेको कार्यदलको प्रतिवेदन सबै सदस्यहरुले पढ्न पाएका छैनन्। त्यसलाई अध्ययन गरेपछि बैठकले निर्क्याैल निकाल्छ।’
गत माघमा बसेको केन्द्रीय समितिको बैठकले एमसीसी सम्झौताबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र नेता भीम रावल सदस्य रहेको कार्यदल गठन गरेको थियो। कार्यदलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्लाई प्रतिवेदन बुझाइसकेको छ।
दुई गुटका आ–आफ्नै तयारी
शुक्रबारको बैठकका लागि ओली समूह र इतर समूहले आ–आफ्नै तयारी गरेका छन्। ओली पक्षीय नेताहरुले सरकारको प्रतिरक्षा गर्ने तयारी गरेका छन्। उनीहरु एमसीसी पास गर्नुपर्ने पक्षमा उभिने छन्। तर, प्रचण्ड र नेपाल पक्षका नेताहरुले भने सरकार र एमसीसीको आलोचना गर्ने तयारी गरेका छन्।
पछिल्लो समय नेकपा भित्र दुई गुटबीच तीव्र विवाद छ। वैशाखमा सरकारले राजनीतिक दल फुटाउन सहज हुने गरी अध्यादेश ल्याएपछि दुई गुटले एक अर्काविरुद्ध हस्ताक्षर संकलन नै गरेका थिए।
सोही बेलादेखि स्थायी समितिको बैठक बोलाउनुपर्ने माग प्रचण्ड–नेपाल समूहको थियो। तर, ओलीले बैठक टार्दै आएका थिए। दुई समूहबीच हस्ताक्षर नै संकलन गर्नेसम्मको स्थिति बनेपछि पार्टीभित्र तिक्तता झाँगिएको थियो। त्यही तिक्तता स्थायी समिति बैठकमा पोख्ने नेपाल पक्षका एक स्थायी समिति सदस्यले बताए।
मधेसी नेताले नागरिकता विधेयकमाथि प्रश्न उठाउने
नेकपाका मधेसी नेताले आइतबार राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको नागरिकता विधेयकमाथि प्रश्न उठाउने भएका छन्। समितिले पारित गरेको विधेयकमा नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलाले सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता पाउने व्यवस्था छ। उक्त व्यवस्थाले महिलामाथि अन्याय हुने भन्दै मातृका यादव र प्रभु साहले विरोध गर्दै आएका छन्। उनीहरुले शुक्रबारको बैठकमा विधेयकमाथि प्रश्न उठाउने तयारी गरेका हुन्।