Kathmandu Press

कहिले चल्छन् सार्वजनिक यातायात ?

काठमाडौं, असर १० : कोरोना भाइरसको महामारीका कारण गत चैत ११ गतेदेखि गरिएको लकडाउन एक सातादेखि खुकुलो

कहिले चल्छन् सार्वजनिक यातायात ?
फाइल फाेटाे

काठमाडौं, असर १० : कोरोना भाइरसको महामारीका कारण गत चैत ११ गतेदेखि गरिएको लकडाउन एक सातादेखि खुकुलो हुँदै गएको छ। निजी सवारी साधन चल्न थालेका छन्। अब सार्वजनिक यातायातका साधन कहिले चल्लान?

यातायात व्यवसायी सार्वजनिक यातायातका साधन सञ्चालन गर्न तयार रहेका छन्। यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायात सञ्चालन गर्न तयार रहेको जनाएको छ। ‘हामी यातायात सञ्चाल गर्न तयार छौं,’ महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले भने, ‘नाफा नकमाएपनि काम गरेपछि मजदुर र व्यवसायीहरु मर्नुपर्ने अवस्था सिर्जना हुनु भएन।’

सरकारले काठमाडौंलगायत देशभरका शहरहरुमा लकडाउन खुकुलो गर्दै नीजि सवारी साधन चलाउन दिएको छ। जोर विजोरका आधारमा सञ्चालन भइरहेका छन्। अब सार्वजनिक सवारी साधन चलाउन पनि सरकारले नीति बनाउनु पर्ने यातायात व्यवसायी बताउँछन्।

Hardik ivf

लामो लकडाउनले यातायात क्षेत्र धरासायी भएकाले अब सञ्चालन ल्याउनपर्ने महासंघले जनाएको छ। यसका लागि किस्ता तिर्न, चालक र सहचालकलाई तलव दिन सक्ने गरी आम्दानी स्रोत राखी सुरक्षा अपनाएर यातायात सञ्चालन गर्न सकिने महासंघका अध्यक्ष कर्माचार्य बताउँछन्। ‘कोरोना संक्रमितको संख्या बढिरहँदा चालक र सहचालको बिमा गराएर यातायात सञ्चालन गर्नसकिन्छ,’ उनी भन्छन्।

यसका लागि आवश्यक सुरक्षाका उपाय अपनाउन सकिने जनाएको छ। प्रत्येक बसपार्कमा स्यानिटाइजर, हात धुनको लागि साबुन पानीको व्यवस्था गर्नसकिने उनको भनाइ छ। ‘यात्रुलाई अनिवार्य मास्क र बसमा चढ्दा स्यानिटाइजर लगाएर मात्र चढ्ने व्यवस्था गरी सञ्चालन गर्न आवश्यक छ,’ उनी भन्छन्।

यसका लागि यातायात सञ्चालन गर्न सकिने गरि भाडाको व्यवस्था गर्नुपर्ने यातायात व्यवसायीको भनाइ छ। ‘आपतकालीन अवस्थामा पनि सेवा गर्न तयार छौं। सेवाको नाममा आफू नांगै बसेर अरुलाई लुगा दिन सकिँदैन,’ अध्यक्ष कर्माचार्य भन्छन्, ‘नाफा चाहिँदैन, तर नोक्सान हुनेगरी बस चलाउन सकिदैन।’

लकडाउनका कारण यातायात व्यवसायमा परेको असरबारे पनि सरकारले सोच्नु पर्ने यातायात व्यवसायीको भनाइ छ। उपत्यकामा मात्र दैनिक १० हजारभन्दा बढि सार्वजनिक यातायातका साधन चल्ने गरेका थिए। ति सवारी साधनका चालक र सहचालकबारे पनि सरकारले सोच्नुपर्ने उनीहरुको माग छ।

यससँगै यातायात व्यवसायीलाई पनि सरकारले सघाउनु पर्ने उनीहरु बताउँछन्। ‘लामो समयसम्म लकडाउन हुँदा मजदुर, व्यवसायीहरु समस्याको खाल्डोमा परिसकेका छन्। उनीहरुलाई उद्धार गर्ने पनि सरकारको दायित्व हो,’ अध्यक्ष कर्माचार्य भन्छन्।

सरकारले उचित नीति ल्याएमा यातायात व्यवसायी सार्वजनिक यातायात सुरक्षित रुपमा सञ्चालन गर्न तयारको उनको भनाइ छ। यसका लागि सरकार नै अघि सर्नुपर्ने उनीको तर्क छ।

यातायात व्यवस्थापन विभागले पनि सार्वजनिक यातायात सञ्चाल गर्नेबारे छलफल भइरहेको जनाएको छ। विभागका महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, ‘सरकारले सार्वजनिक यातायात सञ्चालन गर्ने पक्षमा केही निर्णय गरेको छैन। तैपनि हामी छलफल गरिरहेका छौं।’

अहिले जोर विजोर गरि सरक्षित रुपमा सञ्चालन गर्ने विषयमा व्यवसायीसँग छलफल भइरहेको उनको भनाइ छ। यससँगै कसरी सुरक्षित रुपमा सञ्चालन गर्ने विषयमा पनि छलफल भइरहेको उनी बताउँछन्। ‘सरकारले यातायात सञ्चालन गर्ने निर्णय गरेपछि कसरी सुरक्षित चलाउने भन्ने तय हुन्छ,’ उनी भन्छन्।

सरकारले कुनै निर्णय नगर्दासम्म विभागले मात्रै यातायात सञ्चालनबारे निर्णय गर्न नसक्ने उनको भनाइ छ। तर, यातायात व्यवसायीहरु सार्वजनिक यातायत सञ्चालन गर्न तयार रहेकाले सरकारले पनि जोखिमको आंकलन गरेर निर्णय गर्नुपर्ने उनी बताउँछन्।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, असार १०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्