Kathmandu Press

लकडाउनले राेकियाे ७५ करोडको पश्मिना

काठमाडौं, असार ८ : अन्तर्राष्ट्रियस्तरमा राम्रो ब्रान्ड बनाएको पश्मिना लकडाउनले गर्दा घरमै थन्किएको

लकडाउनले राेकियाे ७५ करोडको पश्मिना

काठमाडौं, असार ८ : अन्तर्राष्ट्रियस्तरमा राम्रो ब्रान्ड बनाएको पश्मिना लकडाउनले गर्दा घरमै थन्किएको छ। गत तीन महिनामा ७५ करोड बराबरको पश्मिनाको निर्यात रोकिएको व्यवसायीले बताएका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन गरिएको लकडाउनले गर्दा पश्मिनाको निर्यात ठप्प भएको नेपाल पश्मिना उद्योग संघले जनाएको छ। संघका अध्यक्ष दुर्गा विक्रम थापाका अनुसार मासिक रुपमा २५ करोड बराबरको पश्मिना निर्यात हुन गरेको थियो। ‘वार्षिक रुपमा साढे पाँच अर्ब बराबरको पश्मिना व्यापार हुन्छ। लकडाउनले ठप्प हुँदा तीन महिनामा ७५ करोड नोक्सान भएको छ,’ थापाले भने।

नेपालबाट पश्मिना युरोप र अमेरिकी देशहरुमा जान्छन्। वार्षिक तीन अर्बको पश्मिना निर्यात हुने गरेको छ। त्यस्तै, दुई अर्ब बराबरको नेपाल घुम्न आउने पर्यटकले खरिद गर्ने गरेको संघले जनाएको छ।

Hardik ivf

नेपाल घुम्न आउने पर्यटकको प्राथमिकतामा पश्मिना पर्ने गरेको छ। ‘पश्मिना खरिद गर्ने धेरै त पर्यटक नै हुन्। लकडाउनले पर्यटक शून्य भएपछि व्यपारमा सुकेको छ,’ उनले भने।

गत तीन वर्षको तथ्यांकले पनि पश्मिनाको व्यापार विस्तारै बढ्दै गएको देखिएको छ। संघको तथ्यांकअनुसार, २०७४/७५ मा दुई अर्ब ४८ करोड ५१ लखको पश्मिना निर्यात भएको थियो।

त्यस्तै, २०७५/७६ मा दुई अर्ब ५१ करोड ४१ लाख तथा २०७६/७७ को नौ महिनामा एक अर्ब ८६ करोड ७३ लाखको पश्मिना निर्यात भएको छ।

‘पश्मिनाको निर्यातमा झिनो अंकले वृद्धि भइरहेको थियो, कोरोना नियन्त्रण र रोकथामको लागि गरिएको लकडाउनले ठूलो गिरावट आयो,’ अध्यक्ष थापाले भने।

पश्मिनाको ठूलो बजोर युरोप र अमेरिकी मुलुक हुन्। कोरोना तिनै मुलुक अहिले प्रभावित भएका छन्। जसले गर्दा पश्मिना व्यापार आगामी आर्थिक वर्षमा पनि सहज नहुने उनको अनुमान छ।

अहिले नेपालमा एकसय ३५ वटा पश्मिना उद्योगहरु छन्। जसमा चारसयभन्दा बढि व्यवसायी आवद्ध छन्। करिब ७० उद्योगको पश्मिना विदेश निर्यात हुने गरेको छ। पश्मिना उद्योगमा २५ हजारदेखि ३५ हजार जनाले रोजगारी पाएका छन्।

लकडाउनका कारण पश्मिनाको उत्पादन पनि कम भएको छ। कामदार गाउँ फर्किएकाले उत्पादन गर्न समस्या भएको संघले जनाएको छ। लकडाउन पूर्णरुपमा खुला नहुँदासम्म कामदार फर्किन मुस्किल छ। जसले गर्दा पश्मिनाको उत्पादन पहिलेकै गति गर्न नसकिने भएको छ।

लकडाउनले पश्मिना उद्योग, व्यवसायी र कामदार सबैलाई प्रत्यक्ष असर परेको अध्यक्ष थापाको भनाइ छ। ‘लामो समयसम्म लकडाउन भइरहँदा पश्मिना उद्योगहरु बन्द हुने अवस्थामा पुग्न लागेका छन्,’ उनले भने।

अहिलेसम्म सरकारले कोरोना नियन्त्रण र रोकथामको लागि उचित नीति बनाउन नसकेको पश्मिना व्यवसायीको भनाइ छ। लामो समय बन्द राख्नुभन्दा उद्योग सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने उनीहरु बताउँछन्।

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, असार ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्