Kathmandu Press

काठमाडौं उपत्यकामा भौतिक दूरी तोडिँदै, कोरोनाको जोखिम उच्च रहेको विज्ञहरूको चेतावनी

काठमाडौं, असार ७ : झण्डै ८० दिनको लकडाउन खुकुलो बन्दै गएको पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकामा भौत

काठमाडौं उपत्यकामा भौतिक दूरी तोडिँदै, कोरोनाको जोखिम उच्च रहेको विज्ञहरूको चेतावनी
रिवाज राई

काठमाडौं, असार ७ : झण्डै ८० दिनको लकडाउन खुकुलो बन्दै गएको पछिल्लो एक हप्तामा काठमाडौं उपत्यकामा भौतिक दूरी र प्रसस्त सचेतना अपनाउन छोड्न थालेको देखिएको छ।

काठमाडौं उपत्यकालगायत देशभर कोरोना भाइरस संक्रमितहरुको संख्या बढ्दो क्रममा छ। कोरोनाको संक्रमण अझै समुदायमा प्रवेश नगरेकाले तिब्र संक्रमणको चरण आउनै बाँकी छ। तर, उपत्यकामा पसलहरुमा हुने भिडभाड र मानिसहरुमा देखिएको हेलचेक्र्याइँले गम्भीर असर पर्न सक्ने विज्ञहरुले औल्याएका छन्।

भक्तपुरको सल्लाघारीस्थित खाद्यान्न पसल दि ज्वाला इम्पेक्सका सञ्चालक दिकेन्स थकुलवतका अनुसार, उनीहरुले स्यानिटाइजर र मास्कको प्रयोग गरेपनि ग्राहकहरुले भने हेलचेक्र्याइँ गरिरहेका छन्। थकुलवत भन्छन् ‘धेरै जसो ग्राहकहरुले मास्क र पन्जाको प्रयोग गरेकै हुँदैन। केहीले मास्क त लगाएको हुन्छ, तर नाक मुख छोपिएको हुँदैन।’

Hardik ivf

यति मात्र नभइ केही दिन अगाडिसम्म भौतिक दूरी कायम गर्न राखिएको डोरीसमेत नाघेर ग्राहकहरु पसलमा छिर्न थालेको उनको भनाई छ।

यस्तै सूर्यविनायक चोकमा रहेको बेकरी एन्ड कफी सपमा पनि ग्राहक र व्यापारी दुवैले भौतिक दूरी कायम गर्नु त परैको कुरा सावधानीका उपायहरु समेत अपनाएको देखिँदैन। चिया पिउँदै गरेका एक ग्राहकले अब कोरोनाको त्रास नरहेको र यदि लागीहालेमा आफै पचाउन सक्षम रहेको दाबी गरे। उनले भने, ‘अब त कोरोनाको डर लाग्दैन। हाम्रा प्रधानमन्त्रीले भने जस्तो लागिहाल्यो भने पनि आफै पचाउने हो।’

मास्क भएपनि नाकमुख खुलै राखेर बसिरहेक असनमा व्यवसायी।

यस्तै भनाइको समर्थन गर्दै व्यापारी पनि सावधानीका उपायहरु अपनाउन छोडेको बताउँछन्। व्यापारी थकुलवत भने नेपालमा पीपीई, पन्जा, मास्कलगायतका सावधानीका उपायहरु अपनाएर व्यापार गर्न सम्भव नरहेको बताउँछन्।

भौतिक दूरी कत्तिको कायम छ भनेर बजार अवलोकन गर्दा १० पसलहरुमध्ये मुस्किलले एक वा दुई पसलमा मात्र दूरी कायम गर्ने उपाय अपनाएको पाइएको छ।  यस्तो लापरबाहीकै कारण भविष्यमा नेपालमा पनि कोरोनाले महामारीको रुप लिन सक्ने विज्ञहरुको बताउँछन्।

अहिलेसम्म लकडाउन भएकै कारण नेपालमा कोरोना संक्रमितहरु व्यापक रुपमा नदेखिएको संक्रामक रोग विशेषज्ञ डा.ल्हामो याङ्चेन शेर्पा बताउँछिन्। उनले भनिन्, ‘लकडाउनका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा नगएको र भौतिक दूरी कायम भएको हुँदा कोरोनाको फैलावट भयावह बन्न नसकेको हो ।’

अब कोरोनाको संक्रमण बढ्न सक्ने उनको आंकलन छन्। उनले काठमाडौं प्रेससँग भनिन्, ‘मानिसहरुको आवतजावत बढेपछि कोरोना संक्रमितहरु पनि व्यापक रुपमा भेटिने सम्भावना बढी छ।’

यस्तै अर्का स्वास्थ्य अभियन्ता डा. अभिषेकराज सिंह भने लकडाउन खुकुलो भएसँगै पसलहरु खोल्ने हो भने व्यापारी र ग्राहकहरुले अनिवार्य रुपमा आवश्यक सतर्कता अपनाउन जरुरी रहेको बताउँछन्। उनका अनुसार, लामो समयसम्म लकडाउन भएपछि अलि खुकुलो हुने बितिक्कै व्यापारीहरुले पसल खोल्नु जायज नै रहेपनि आवश्यक सचेतनाका विधि भने अपनाउनु पर्छ। ‘व्यापारीहरुलाई सरकारले कर तिर्न घच्घचाईरहँदा उनीहरुले लकडाउन खुकुलो हुने बितिक्कै पसलहरु खोल्नु जायज हो,’ उनले भने।

तर, सरकारले लकडाउन सुरु गरेदेखि नै गर्नु पर्ने कार्यहरु नगरेको, सरकारको तयारी नपुगेको र समयमै सही निष्कर्ष लिन नसकी उल्टो बाटो हिँडेको भएकै कारण हाल यो अवस्था सृजना भएको डा. सिंहको भनाई छ । उनी भन्छन् ‘सरकारले लकडाउन सुरु गर्ने वित्तिकै कार्य योजनाहरु बनाई काम गर्नु पथ्र्यो, तर गरेन। त्यसै कारण अहिले यो अवस्था सृजना भएको हो।’

साथै लकडाउन खुकुलो बनाउनु अघि पनि व्यापारीहरुका लागि निश्चित मापदण्डहरु तोकिनु पर्नेमा हेलचेकराई गरेको उनको ठहर छ। डा. सिंहका अनुसार, पसलमा कति जनासम्म छिर्न मिल्ने, स्यानिटाइजरको अनिवार्य प्रयोग हुनुपर्ने, भौतिक दूरी कायम भएको हुनुपर्नेलगायतका कुराहरु समावेश गरी प्रोटोकल तयार पारेर मात्र लकडाउन खुकुलो बनाउनु पर्ने थियो। तर, त्यस्तो नभएको हुँदा आगामी केही दिनमा नै कोरोना संक्रमितको संख्या बढ्न सक्ने उनको अनुमान छ।

तर, स्वास्थ्य मन्त्रालयले भने व्यापार व्यवसाय खोल्न अनुमति दिनु अगाडि नै निर्देशिका तयार पारेको दावी गर्दै आएको छ। सरकारले व्यापारीहरुलाई मास्क, पन्जा, स्यानिटाइजर, भौतिक दूरी कायम गर्नेलगायतको निर्देशिका बनाएपनि त्यसको कार्यान्वयन नभएकाले समस्या हुनसक्ने देखिएको छ।

प्रकाशित मिति: १२:२४ बजे, आइतबार, असार ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्