Kathmandu Press

कोरोनासँगै प्राकृतिक विपद्का सय दिन सुरू, बाढी, पहिरो र डुबानले झन जाेखिम निम्त्याउने खतरा

काठमाडौं, असार ५ : कोरोना भाइरसको महामारीबीच प्राकृतिक विपद्का जोखिमपूर्ण सय दिन पनि सुरू भएका छन्।

कोरोनासँगै प्राकृतिक विपद्का सय दिन सुरू, बाढी, पहिरो र डुबानले झन जाेखिम निम्त्याउने खतरा
फाइल फाेटाे

काठमाडौं, असार ५ : कोरोना भाइरसको महामारीबीच प्राकृतिक विपद्का जोखिमपूर्ण सय दिन पनि सुरू भएका छन्। मनसुन भित्रिएदेखि एक सय दिनलाई नेपालमा प्राकृतिक विपद्को समय मानिन्छ। यस पटक भने कोरोनाका कारण यो सय दिनको अवधि झन जोखिमपूर्ण हुने भएको छ।

मनसुन भित्रिएसँग हरेक वर्ष एक सय दिन प्राकृतिक प्रकोप बाढी, पहिरो, डुबान, पानीजन्य रोगका कारण नेपालमा जनधनको ठूलो क्षति ब्यहोर्नुपर्छ। यस वर्षभने कोरोना महामारीले झन जोखिम थपेको छ।

राष्ट्रिय  विपद्  जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले यसवर्ष बाढी, पहिरो, डुवानमा परेकालाई उद्धार गर्न जाने टोली र उद्धार गरेपछि व्यवस्थापन गर्न  थप समस्या हुने देखिएको जनाएको छ।

Hardik ivf

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले कोरोनाका कारण प्राकृतिक विपद् ठूलो समस्या बन्नसक्ने बताए। ‘उद्धारको समयमा भीडभाड हुन्छ। डुवान पर्नसक्ने सम्भावित बस्तीहरुबाट मानिसहरुलाई अर्काे ठाउँमा सारेर एक्लाएक्लै राख्न सकिदैन। जसको कारण कोरोना फैलिने त्रास छ,’ पोखरेलले भने।

यसवर्ष वाढी, पहिरो, डुवान र पानीजन्य रोगले बढी प्रभाव पार्ने स्थानमा उद्धार टोलीहरु जान गत वर्षजस्तो सजिलो नहुने प्राधिकरणको आंकलन छ। कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री सबै ठाउँमा पर्याप्त मात्रामा नपुगेकाले उद्धारमा कठिनाइ हुने देखिएको छ।

कोरोनाको त्रासबीच प्राकृतिक प्रकोपले गतवर्षभन्दा यो वर्ष जनधनको क्षति तुलनात्मक रुपमा बढी हुनसक्ने प्राधिकरणले जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले काठमाडौं प्रेससँग भने, ‘कोरोनाको डरले संघसंस्था र सहयोगी व्यक्तिहरु बाढी, पहिरो तथा ढुबानमा परेकालाई समयमै उद्धार गर्न गएनन भने गतवर्ष भन्दा तुलनात्मक रुपमा झन बढी नोक्सानी ब्यहोर्नुपर्ने हुनसक्छ।’

यसपटक प्राकृतिक प्रकोपको जोखिम हुने स्थानमा स्थानीय तहले पूर्वतयारीमा जोड दिनुपर्ने उनले बताए। स्थानीय तह, जिल्ला प्रशासन, प्रदेश, प्राधिकरणलगायतले प्राकृतिक प्रकोपबाट बचाउनको लागि तयारी अहिलेदेखि नै थाल्नुपर्ने उनको भनाइ छ।

सय दिनका लागि एक अर्ब ५८ करोड

प्राकृतिक विपद्को उच्च जोखिम भएको स्थानमा उद्धार गर्नको लागि आवश्यक सामग्रीहरु खरिद गर्ने काम चलिरहेको प्राधिकरणले जनाएको छ। सम्बन्धित संस्थाहरुले पनि उद्धार र व्यवस्थापनको तयारी गर्न थालेका छन्। नेपाल प्रहरी, नेपाली सेनालाई परिचालन गर्नको लागि तालिम चलिरहेको छ।

कोरोना फैलिन नदिन र बाढीपहिरोबाट जोखिममा रहेकालाई क्याम्प बनाएर सुरक्षित स्थानमा राख्ने प्राधिरकणको योजना छ।  यो सय दिनका लागि एक अर्ब ५८ करोड छुट्याइएको पोखरेलले बताए। ‘गृह मन्त्रालयअन्तर्गत बनाइएको राहत कोषमा एक अर्ब ५३ करोड रुपैंयाँ जम्मा भएको छ। यसलाई कोरोनामा खर्च गरिएको छैन, यहि विपद्का सय दिनका लागि राखिएको छ,’ उनले भने।

त्यस्तै, प्राधिकरणका लागि आगामी आर्थिक वर्षका लागि पाँच करोड रकम विनियोजन गरेको छ। दुवै गरेर प्राकृतिक विपद्का लागि एक अर्ब ५८ करोड बजेट रहेको उनले बताए।

प्रकाशित मिति: १३:०० बजे, शुक्रबार, असार ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्