Kathmandu Press

घरबाट खाना नआउँदा क्वारेन्टाइनमा भोकै

काठमाडौं, जेठ ३२ : सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि १० अर्ब खर्च गरेको छ।

घरबाट खाना नआउँदा क्वारेन्टाइनमा भोकै
काठमाडाै‌ं प्रेस

काठमाडौं, जेठ ३२ : सरकारले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि १० अर्ब खर्च गरेको छ। तर, क्वारेन्टाइनमा बसेका जनताले भने घरबाट खाना नल्याउँदा भोकै बस्नुपर्ने अवस्था रहेको छ।

कैलालीको घोडाघोडी नगरपालिकास्थित क्वारेन्टाइनमा बसेकालाई आफन्तले घरबाटै खाना ल्याएर खुवाउने गरेका छन्। भारतबाट फर्केका मजदुरहरु क्वारेन्टाइनमा रहेका छन्। स्थानीय सरकारले क्वारेन्टाइनमा राखेको भएपनि खानपिनको व्यवस्था नगरेको क्वारेन्टाइनमा बस्दै आएकी कमला भुसाल बताइन्।

उनी तीन दिन अघि भारतबाट आएकी थिइन्। स्थानीय सरकारले उनलाई क्वारेन्टाइनमा राखेको छ। विद्यालयमा बनाएको क्वारेन्टाइनमा सुत्ने व्यवस्था पनि राम्रो छैन। ‘स्कुलको टेबुलमै सुत्छु, राति निद्रै लाग्दैन,’ उनले भनिन्।

Hardik ivf

एउटा कोठामा पाँचदेखि सात जनासम्म राखिएको छ। उनीहरुका लागि कक्षाकोठाकै टेबुलमा सुत्ने व्यवस्था गरिएको छ। टेबुलमा सुत्न अप्ठ्यारो मान्नेहरु कार्टुन ओछ्याएर भूइमै सुत्ने गरेको उनले बताइन्।

क्वारेन्टाइनमा सुत्नका लागि मिलाएका टेबुल।

विद्यार्थीले प्रयोग गर्ने शौचालय र पानी नै उनीहरुले प्रयोग गर्छन्। सहयोगको लागि कोही पनि छैनन्। ‘क्वारेन्टाइनमा बसेकाहरुलाई केही व्यवस्थापन छैन। सबैका लागि आफन्त र घरपरिवारले दैनिक खाना ल्याइदिन्छन्। घरबाट खाना नल्याएको दिन भोकै बस्नुपर्छ,’ उनले भनिन्।

अहिले यो नगरपालिकाको क्वारेन्टाइन्मा तीन हजार ६१ जना छन्। उनीहरुका लागि परिवारजनले नै बिहान र साँझ खाना ल्याउने गरेका छन्। टाढाटाढा घर भएका व्यक्तिको कहिल्यकाँही साँझ खाना आउने गरेको छैन। त्यो रात उनीहरुले भोकै बस्नुपर्ने बाध्यता रहेको छ।

तराईमा चर्काे गर्मी भएपछि रुखकाे छायाँमा बसेका मजदुर।

काम गर्ने मान्छे नपाइएकाले खाना खुवाउने व्यवस्था गर्न नसकिएको मेयर ममताप्रसाद चौधरीको भनाइ छ। ‘काम गर्नको लागि कोही आउँदैनन्। त्यसैले क्वारेन्टाइनमा राखिएकालाई आफ्नो घरबाट खाना मगाउनु भनिएको हो,’ मेयर चौधरीले भने।

उनका अनुसार, नगरपालिकाभित्रका विभिन्न विद्यालयमा क्वारेन्टाइन बनाइएको छ। कतै सामुदायिक वनको भवन, खेलकुदको भवनमा पनि क्वारेन्टाइनको व्यवस्था गरिएको छ।

क्वारेन्टाइनमा बसेकाहरुलाई सहयोग गर्न पनि नसकिएको उनको भनाइ छ। ‘क्वारेन्टाइनमा बसेकालाई सहयोग गर्नको लागि स्वयंसेवक समेत छैनन्। खाना पकाउनको लागि कामदारहरु माग गर्दा डरले कोही आउँदैनन्,’ उनले भने।

कोरोना सर्ने डरले गर्दा समस्या भएको उनले बताए। ‘भारतबाट आएर क्वारेन्टाइनमा बसेका धेरै छन्, कोरोना लागेको हुन्छ भन्ने सोचेर उनीहरु आएको बाटो समेत हिड्दैनन्,’ मेयर चौधरीले भने।

नगरपालिकाले वडा कार्यालयका केही कर्मचारीहरु परिचालन गरेको भएपनि खाना बनाउने, बाँड्ने जनशक्तिको अभावको रहेको उनको भनाइ छ।  भारतबाट आएका नागरिकलाई १४ दिन राख्ने गरिएको छ। त्यसपछि आरडीटी जाँच गरेर घर पठाउने गरिएको नगरपालिकाले जनाएको छ।

प्रकाशित मिति: १०:२६ बजे, आइतबार, जेठ ३२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्