Kathmandu Press

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं, वैशाख ४ : वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको आज निधन भएको छ।

उनको उपचारका क्रममा ६० वर्ष....

वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको निधन

काठमाडौं, वैशाख ४ : वरिष्ठ पत्रकार एवं कामना न्युज पब्लिकेसनका प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको आज निधन भएको छ।

उनको उपचारका क्रममा ६० वर्षको उमेरमा निधन भएको हो । श्रेष्ठको थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको थियो।

उनको साढे पाँच महिना अघि नाकमा समस्या देखिएको थियो । त्यसपछि राजधानीको वयोधा अस्पतालमा नाकको र ब्लुक्रस अस्पतालमा मिर्गौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । मिर्गौलाको पत्थरीको शल्यक्रिया पश्चात उनको स्वास्थ्यमा समस्या देखिएको कामना न्यूज पब्लिकेसने जनाएको छ।

चिकित्सकले उनलाई गिलेन बेयर सिन्ड्रोम (जीबीएस) भाइरसको संक्रमण भएको बताएका थिए । त्यसपछि उपचारका लागि भारतको हरियाणास्थित मेदान्त अस्पताल ‘रिफर’ लगिएको थियो । तर, उपचार हुन सकेको थिएन।

काठमाडौं ल्याएपछि नर्भिक अस्पतालमा फिजियोथेरापी चलिरहेको थियो । त्यसपछि घरमै उपचार चलिरहेका बेला एक महिना अघि गम्भीर समस्या देखिएको जनाएको छ।

एक महिनादेखि मेडिसिटी अस्पतालमा उपचार गराइरहेका श्रेष्ठलाई केही दिन अघि नर्भिकमा ल्याइएको थियो । उपचारका क्रममै आज नर्भिक अस्पतालमा निधन भएको कामना न्यूज पब्लिकेसनले जनाएको छ।

श्रेष्ठ कामना न्यूज पब्लिकेसन र नेपाल मिडिया सोसाइटीका संस्थापक अध्यक्ष हुन् । उनले न्यूनतम पारिश्रमिक निर्धारण समिति, राष्ट्रिय समाचार समिति (रासस), नेपाल प्रेस इन्स्टिच्युट, सम्पादक समाज नेपाल, नेपाल प्रेस क्लब, प्रेस काउन्सिल नेपालमा कार्यकारी सदस्यका रुपमा काम गरेका थिए।

उनको पार्थीव शरीर आज भूगोलपार्कमा श्रद्धाञ्जलिका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने नेपाल समाचारपत्रका कार्यकारी सम्पादक दीपक रिजालले बताए। श्रेष्ठका श्रीमती र तीन छोरा छन्।

प्रकाशित मिति: १३:३९ बजे, बुधबार, वैशाख ४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्