वैशाख १७ भित्रै बिजुली बल्दै, कुलेखानी तेस्रोको असारमा
काठमाडौं, वैशाख ४ : नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली-३‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो जल....
काठमाडौं, वैशाख ४ : नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशूली-३‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा पुगेको छ।
कुलेखानी तेस्रोको ४.२ किलोमिटर मुख्य सुरुङमा पानी हालेर परीक्षण सकिएको र त्रिशूली-३‘ए’को करिब पाँच किलोमिटर मुख्य सुरुङमा बुधबारबाट पानी हाली परीक्षण सुरू गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘बिभिन्न समस्या झेल्दै रुग्ण बनेका दुई आयोजना निरन्तरको प्रयासपछि निर्माणको अन्तिम चरणमा पुगी विद्युत उत्पादन गर्ने अवस्थामा पुगेका छन्’, कार्यकारी निर्देशक घिसिङले भने।
कुलेखानी तेस्राेकाे मुख्य सुरुङकाे परीक्षण पनि सफल भएकाे उनले बताए । ‘कुलेखानी तेस्रोको मुख्य सुरुङको परीक्षण सम्पन्न गरी पानी भरेर राखेका छौं, यो आयोजनको महत्वपूर्ण माइलस्टोन हो । विद्युत् गृहका टर्वाइन, जेनेरेटरलगायतका इलेक्ट्रोमेकानिकल उपकरणहरुको जडान सम्पन्न गरी परीक्षणको क्रममा रहेका छन् । असारभन्दा अगाडिनै विद्युत उत्पादनको लक्ष्यका साथ काम भइरहेको छ,’ निर्देशक घिसिङले भने।
हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल कामको ठेक्का लिएको चिनियाँ कम्पनी झेजियाङ जिनलुन इलेक्ट्रोमेकानिकल लिमिटेडको लापरवाही र कमजोर कार्यसम्पादनका कारण कुलेखानी तेस्राेको निर्माण ढिलाइ भएको हो । विद्युत गृह, सुरुङलगातका सिभिल संरचना निर्माण गर्न ठेक्का लिएको चिनिया“ कम्पनी सिनो हाइड्रोले एकतर्फी ठेक्का तोडेको थियो । यसले गर्दा पनि आयोजनाको निर्माण प्रभावित भएको थियो।
प्रसारण लाइनको तीनमध्ये दुई वटा टावरको निर्माण सकिएको आयोजना प्रमुख सुभासकुमार मिश्रले बताए । ‘विद्युत् गृहका उपकरणको परीक्षणसँगै प्रसारण लाइनको बाँकी एउटा टावर खडा गरी करिब पाँच सय मिटर तार तान्ने काम सकिन्छ, प्रसारण लाइनका कारणले विद्युत उत्पादन प्रभावित हुँदैन’, उनले भने।
मकवानपुरमा निर्माण भइरहेको आयोजनाले कुलेखानी जलाशयको नियन्त्रित वहाव र खानी खोलाको थप पानी प्रयोग गर्ने छ । कुलेखानी तेस्रो कुलेखानी पहिलो र दोस्रो आयोजनाको क्यास्केड आयोजना हो । नेपाल सरकार र विद्युत प्राधिकरणको लगानीमा निर्माण भइरहेको आयोजनाको सुरुको लागत दुई अर्ब ३३ करोड रुपैयाँ थियो । आयोजनाको निर्माण अवधि बढेसँगै आयोजनाको लागत चार अर्ब ६३ करोड रुपैयाँ पुग्ने अनुमान छ।
रसुवा र नुवाकोटमा निर्माण गरिरहेको माथिल्लो त्रिसुली-३‘ए’ जलविद्युत आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् वैशाख १७ गेतभित्र ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ । आयोजनाको बाँध तथा त्यहाँ रहेका गेट, बालुवा थिग्य्राउने पोखरीलगायतका संरचनाको परीक्षण सफलतापूर्वक सम्पन्न भएको घिसिङले बताए।
उनले मुख्य सुरुङमा पानी हाल्ने प्रक्रिया सुरु भएको बताए । ‘वैशाख १७ भित्रमै एउटा युनिटबाट विद्युत उत्पादन गर्ने गरी आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीले काम गरिरहेका छन्, प्रसारण लाइनको काम पनि अन्तिम चरणमा पुगेको छ’, घिसिङले भने । दोस्रो युनिट (३० मेगावाट)बाट असारभित्रमा विद्युत उत्पादनको लक्ष्य राखिएको छ।
प्रसारण लाइनसहित कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भइरहेको हो।
इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बा“ध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)स“ग २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका प्रभावित भएको थियो।






