महामारीमा पनि च्यात्तिएकै पञ्जा लगाएर फोहोर संकलन
काठमाडौं, जेठ २२ : कोरोना भाइरस संक्रमणको डरले सबै सचतेना अपनाइरहेका छन्, सुरक्षा सामग्री लगाइरहेका

काठमाडौं, जेठ २२ : कोरोना भाइरस संक्रमणको डरले सबै सचतेना अपनाइरहेका छन्, सुरक्षा सामग्री लगाइरहेका छन्। तर, सरसफाइ कर्मचारी भने च्यात्तिएकै पञ्जा लगाएर दैनिक फोहोर संकलन गरिरहेका छन्।
कोरोना फैलिन नदिन गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ। लकडाउनको सुरुआतमा सरसफाइ कर्मचारीलाई एक सेट पिपिई प्रदान गरिएको थियो। दैनिक एउटैे पीपीई लगाएर फोहोर संकलन गर्दा एक साता पनि टिकेन्। त्यसयता भने काठमाडौं उपत्यकाका सरसफाइ कर्मचारी पीपीईबिना नै फोहोर संकलन गरिरहेका छन्।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका सफाइ कर्मचारीलाई पनि त्यस्तै समस्या छ। फोहोर संकलनको जिम्मा निराकार सरसफाई सेवा प्रालिलाई दिएको छ।
त्यसमार्फत काम गरिरहेका सरसफाइ कर्मचारीले सुरक्षासामग्रीबिना नै काम गरिरहेका छन्। सरसफाइको काम गरिरहेका मनोज राईले एकपटक पाएको पीपीई च्यात्तिएको बताए। ‘कम्पनीले दिएको एक सेट पिपिई च्यात्तिसकेको छ। पन्जामा पनि प्वाल परेको छ। दोस्रो पटक दिइएको छैन। त्यहि लगाएर काम गरिरहेको छु,’ उनले भने।
उनी एक वर्षदेखि काम गरिरहेका छन्। लडकाउनमा पनि उनले काम गर्न छोडेका छैनन्। ‘सुरुआतमा कोरोना सर्छ कि भन्ने डर लागेको थियो। अब त बानी परिसकियो, कोरोना लाग्छ कि भन्ने डर लाग्दैन,’ उनले भने।
उनीसँगै काम गरिरहेका सन्तोष परियारसँग त पन्जा पनि छैन। कम्पनीले एक पटक दिएको पीपीई र पन्चा च्यातियो। ‘कम्पनीले एक पटक दिएको पीपीई र पन्जा च्यात्तियो। अहिले खाली हातले नै काम गरिरहेको छु,’ सन्तोषले भने।
लकडाउनमा पनि उनले एकदिन नबिराइ काम गरेका छन्। सुरुआतमा कोरोनाको डर लागेको भएपनि अहिले भने वास्तै नहुने गरेको उनको अनुभव छ। ‘घरमा बसिरहेको भए पो डर लाग्थ्यो। हामी त दिनदिनै काम गरिरहेका छौं,’ सन्तोषले भने, ‘सधै झै काम गरिरहेको भएर होला, नेपालमा कोरोना आएको छजस्तै लाग्दैन।’
तथापि, सतर्कता भने अपनाएको उनले बताए। खानपिन गर्दा साबुन पानीले राम्रोसँग हात धुने गरेको उनले बताए।
नगरपालिकाले फोहोर संकलन गर्ने कर्मचारकिो आरडीटी विधिबाट कोरोना परीक्षण गरेको थियो। केहीको पोजिटिभ देखिएको थियो। त्यसपछि पीसीआर बिधिबाट जाँच गर्दा सबैको नेगेटिभ आयो। त्यसपछि डर हराएको उनीहरको भनाइ छ। ‘नगरपालिकामा कसैलाई कोरोना पोजेटिभ नआएकाले होला, काम गर्न डर लाग्दैन,’ उनले भने।
उनीहरुजस्तै निराकार सरसफाइ सेवाअन्तर्गत ३० जना कर्मचारी फोहोर संकलन गर्दै आएका छन्। लकडाउनयता भने १० जनाले मात्रै काम गरिरहेको प्रालिले जनाएको छ।
निराकार सरसफाई सेवा प्रालीका सुपरभाइजर सिताराम कार्कीले गुणस्तरीय सामान नभएकाले लामो समय नटिकेको बताए। ‘नगरपालिकाले एक पटक मात्र पीपीई दिएको थियो, तर लामो समयसम्म टिकेन। छिट्टै च्यात्तिएकाले पनि कर्मचारीले नलगाएका हुन,’ उनले भने।
नगरपालिका र सम्बन्धित निकायले गुणस्तर स्वास्थ्य साम्रगी नदिएको सरसफाइ कर्मचारीको गुनासो छ। दुई महीनासम्म एउटै पीपीईले धान्न नसक्ने उनीहरु बताउँछन्।
नगरपालिकाले सरसफाइ कर्मचारीको नियमित टेस्ट पनि गरेको छैन। वैेशाखमा आरडीटी विधिबाट जाँच गरिएको भएपनि त्यसयता परीक्षण गरिएको छैन।
कागेश्वरी मनाेहरा नगरपालिकामा दैनिक चार टनभन्दा बढि फोहोर संकलन हुन्छ। त्यसलाई सिधै नुवाकोटको सिसडोलमा लगेर फाल्ने गरिएको छ। फोहोर सिडडोल पुर्याएर नगरबासीलाई सुरक्षित बनाएपनि सरसफाई कर्मचारी भने आवश्यक सुरक्षा सामग्री नहुँदा जोखिममै छन्।












-(86)-1764936079.jpg)