बुद्ध एयरले भन्यो–एउटा मन्त्रीका लागि ६८ यात्रुलाई कुराउन सकेनौं
काठमाडौं, वैशाख ३ : बुद्ध एयरले सोमबार भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छुटेको विषयमा गम्भिर ध्यानाकर्षण भएको भ....
काठमाडौं, वैशाख ३ : बुद्ध एयरले सोमबार भैरहवाबाट काठमाडौं आउने उडानमा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा छुटेको विषयमा गम्भिर ध्यानाकर्षण भएको भएको जनाएको छ।
मंगलबार विज्ञप्ति जारी गर्दै कम्पनीले ६८ जना यात्रु छोडेर मन्त्रीलाई कुर्न नसकिएको स्पष्ट पारेको छ। वैशाख २ गते काठमाडौं–भैरहवाको उडान नम्बर ८५७, उडान समय ४ बजेको सट्टा काठमाडौं विमानस्थलको मर्मत र मौसमको खराबीको कारणले उक्त उडान बेलुका ७ बजे उडेको र अवतरण ७ बजेर ३२ मिनेटमा भएको समेत बुद्ध एयरले जनाएको छ।
‘यदि अर्को ३०–३५ मिनेट कुर्नुपरेको भए मौसमी कारणले सो उडान भैरहवामै रात्री विश्राम गर्नुपर्ने अवस्था आउनसक्थ्यो जसबाट बाँकी ६८ जना यात्रुलाई असुविधाका साथै आर्थिक व्ययभार पनि बेहोर्नुपथ्र्यो। काठमाडौंबाट उड्ने बित्तिकै हाम्रा भैरहवा विमानस्थलका कर्मचारीले त्यहाँको सुरक्षा निकायसँग समन्वय गर्दा मन्त्रीज्यू र उहाँको टोली सो उडानबाट नजाने र वैशाख ३ गते बिहानको उडानमा सिट व्यवस्था गरिदिन अनुरोध गर्नुभएको थियो,’ विज्ञप्तिमा भनिएको छ।
मौसम खराबीको कारण सो उडान यात्रु भरेर तुरुन्तै काठमाडौं फर्कनुपर्ने वाध्यता रहेको बुद्ध एयरले जनाएको छ। सुरक्षित र सकभर समयमै उडान भर्नु बुद्ध एयरको पहिलो दायित्व भएकाले व्यवस्थापनको निर्णयअनुसार सो उडान वाध्यात्मक कारणले राति ८ बजे भैरहवाबाट काठमाडौंतर्फ उडेको र काठमाडौंमा ८ बजेर ४९ मिनेटमा अवतरण गरेको कम्पनीले विज्ञप्तिमार्फत जानकारी दिएको छ।






