लकडाउनले होमस्टेदेखि पाँचतारे होटल संकटमा
काठमाडौं जेठ ११ : लकडाउनका कारण दुई महीनादेखि होटल बन्द भएपछि देशभरका व्यवसायी अप्ठ्यारोमा परेका छन्

काठमाडौं जेठ ११ : लकडाउनका कारण दुई महीनादेखि होटल बन्द भएपछि देशभरका व्यवसायी अप्ठ्यारोमा परेका छन्। सानादेखि तारे होटल सञ्चालकसमेत संकटमा परेका छन्।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरेर सानादेखि ठूला होटल सञ्चालकले ऋण निकालेर भएपनि तयारी गरेका थिए। तर, चीनमा देखिएको कोरोना भाइरसको महामारीका कारण सुरुआतमै पर्यटकको संख्या न्यून रह्यो भने त्यसपछि नेपालमा पनि लकडाउन हुँदा ठूलो आर्थिक नोक्सानी बेहोर्नु परेको व्यवसायी बताउँछन्।
यतिवेला ‘फुल अकुपेन्सी’ हुने होटल लकडाउनले सुनसान छन्। कतिपय बन्द गरिएका छन्। ‘भ्रमण वर्षको लागि ऋण निकालेर होटल सञ्चालन गरेका थियौंं। सुरु भएको तीन महीनामै बन्द गर्नुपर्ने समय आयो,’ काठमाडौंका होटेल व्यवसायी राज पौडेल भन्छन्।
नेपाल भ्रमण वर्षमा पर्यटकको संख्या बढ्दा आम्दानी बढाएर किस्ता तिर्ने सोचले बैंकबाट ऋण निकालेको उनी बताउँछन्। तर, लामो लकडाउनका कारण होटल बन्द गरेर बस्नु परेको उनको गुनासो छ।
काठमाडौंको मात्रै होइन, अन्य शहरको अवस्था पनि उस्तै छ। ठूलो साना सबै होटल सुनासान छन्। पर्यटन विभागका अनुसार, अहिले देशभर तारे होटल एक सय तीन वटा छन्। जसमा पाँचतारे १५, चारतारे आठ, तीनतारे ३७, दुईतारे ४३ र एकतारे ३३ वटा होटल छन्।
यस्तै, पर्यटकस्तरीय एक हजार एक सय २५ र होमस्टे दुई सय ५२ छन् भने भन्ने अन्य सामान्य होटेलको संख्या हजारौं छ। क्तिपय पर्यटकीय स्तरका होटेलहरु स्थानीय तहमा दर्ता भएर पनि सञ्चालन भइरहेका छन्। ति सबै होटल ठप्प छन्।
पर्यटकका लागि गाउँमा बनाएका होमस्टेहरुको अवस्था पनि उस्तै छ। लकडाउनयता सुनसान छन्। लामो लकडाउनले होमस्टे सञ्चालन नहुँदा आर्थिक अभाव सिर्जना भएको काभ्रेको पातलेखेत सामुदायिक होमस्टे सञ्चालक केशव बडाल बताउँछन्। ‘परिवारको सदस्य मिलेर लामो समयदेखि होमस्टे सञ्चालन गर्दै आएका थियौं । हाम्रोे मुख्य आम्दानीको स्रोत नै होमस्टे थियो,’ उनी भन्छन्।
होमस्टेको आम्दानीले सजिलोसँग परिवारको खर्च चलिरहेको उनी बताउँछन्। तर, दुई महीनायता ठप्प हुँदा मुस्किल भएको उनी बताउँछन्। ‘अझै लकडाउन थपियो भने गुजारा चलाउन गाह्रो हुन्छ,’ बडाल भन्छन्।
लामो लकडाउनले देशभरका होटल व्यवसायी मर्कामा परेको होटल संघ नेपाल (हान) अध्यक्ष सिर्जना राणा बताउँछिन्। ‘नयाँलाई ऋण, सञ्चालन भइरहेकालाई कर्मचारीको तलब र साना होटललाई कोठाभाडाको समस्या परेको छ,’ राणा भन्छिन्।
देशभरका साना ठूलो सबै होटल लकडाउनका कारण प्रभावित भएको उनको भनाइ छ। ‘होटल व्यवसायीहरुको आम्दानीको पहिलो स्रोत नै पर्यटक हो, लकडाउनले कोही आएकै छैनन्,’ उनी भन्छिन्। लामो लकडाउनका कारण कर्मचारी पाल्न नसक्ने अवस्था आएको राणाको बताउँछिन्।
पर्यटन विभागले पनि देशभरका होटल व्यवसायीले ठूलो नोक्सानी बेहोर्नु परिरहेको जनाएको छ। भ्रमण वर्षका लागि तयारी गरेका होटल व्यवसायी अझ मर्कामा परेको विभागका सूचना अधिकारी सुरेन्द्र थापा बताउँछन्। ‘देशभरका सानाठूला सबै होटल टप्प छन्, सबैलाई आर्थिक संकट उत्पन्न भएको छ,’ थापा भन्छन्।
अझै लकडाउन लम्बिए उठ्न गाह्रो हुने होटल व्यवसायी बताउँछन्। देशभरका होटलमा कार्यरत लाखौं कर्मचारीलाई समेत तलब दिन नसकिने उनीहरुको भनाइ छ।












-(86)-1764936079.jpg)