भारतले भन्यो- नेपालले जारी गरेको नक्सा स्वीकार्य छैन
काठमाडौं, जेठ ७ : नेपालले जारी गरेको नयाँ नक्साप्रति भारतले असहमति जनाएको छ। भारतले लिम्पियाधु

काठमाडौं, जेठ ७ : नेपालले जारी गरेको नयाँ नक्साप्रति भारतले असहमति जनाएको छ। भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालले जारी गरेको नयाँ नक्सा अस्वीकार्य भएको बताएको हो।
भारतीय विदेश मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी नेपालको नक्सामा समेटिएका भू-भाग आफ्नो भएको दाबी गरेको छ। ‘परिवर्तित नक्सामा भारतीय भूभागहरू समेत समेटिएको छ। नेपालले एकपक्षीय रुपमा गरेको यो कार्य ऐतिहासिक तथ्य–प्रमाणविपरीत छ, सीमासम्बन्धी मुद्दा कूटनीतिक माध्यमबाट हल गर्ने द्विपक्षीय समझदारीविरुद्ध छ,’ भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कृतिम रुपमा प्रस्तुत गरिएको यस्तो दाबी भारतलाई मान्य हुने छैन।’
भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले जारी गरेको विज्ञप्तिमा यो ममलामा भारतको अडानबारे नेपाललाई राम्ररी जानकारी रहेको बताइएको छ। ‘हामी नेपाललाई अनुचित दाबीबाट परै रहन र भारतको सार्वभौमसत्ता र अखण्डताको सम्मान गर्न आग्रह गर्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी आशा गर्छौं, नेपालको नेतृत्वले कूटनीतिक माध्यममार्फत सीमासम्बन्धी मुद्दा हल गर्ने सकारात्मक वातावरण सिर्जना गर्नेछ।’
लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक एकपक्षीय ढंगले निकालिएको र नक्सा तथ्य तथा प्रमाणका आधारमा नभएकाले सीमा विवाद द्विपक्षीय कूटनीतिक संवादमार्फत समाधानको सम्झौता विपरीत भएको भारतले बताएको छ।











