Kathmandu Press

विदेशबाट तत्काल फर्किन खाेज्दै ४ लाख ७ हजार श्रमिक

काठमाडौं जेठ ७ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बैदेशिक रोजगारमा गएका लाखौं नेपाली तत्काल

विदेशबाट तत्काल फर्किन खाेज्दै ४ लाख ७ हजार श्रमिक
एजेन्सी

काठमाडौं जेठ ७ : कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण बैदेशिक रोजगारमा गएका लाखौं नेपाली तत्कालै घर फर्किन खोजिरहेका छन्।

कोरोनाका कारण रोजगारी गुमाएका तथा भिसाको म्याद सकिँएका नागरिक तत्कालै स्वदेश फर्किन खोजेको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डले विदेशमा समस्यामा परेका नागरिकको मोटामोटी तथ्यांक संकलन गरेको छ।

बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले तत्कालै ल्याउनुपर्ने नागरिकको तथ्यांक तयार गरिएको बताए। ‘बैदेशिक रोजगारमा गएकाहरुमा तत्काल उद्धार गनुपर्ने चार लाख सात हजार भएको अनुमान गरिएको छ,’ कार्यकारी निर्देशक श्रेष्ठले भने।

Hardik ivf

उनका अनुसार, भिसाको म्याद सकिएको तर लकडाउनका कारण नेपाल फर्किन नसकेकाहरु, अवैधानिक तवरबाट काम गरिरहेका तथा आम माफी पाएकाहरुलाई तत्कालै उद्धार गर्नुपर्नेछ। त्यस्तै, कोरोना महामारीका कारण रोजगारी गुमाई नेपाल फर्किन सक्ने कामदारहरुलाई पनि तत्काल उद्धार गर्नुपर्नेछ।

बोर्डले विदेशमा रहेका नेपाली नियोगबाट तथ्यांक संकलन गरेको हो। कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘हामीले विदेशस्थित सम्वद्ध नेपाली नियोगबाट प्राप्त सूचनाका आधारमा तयार पारिएको अनुमानित संख्या हो।’

बोर्डको तथ्यांकअनुसार, सातवटा देशमा भिसाको म्याद सकिएका र आममाफीका कारण तत्काल उद्धार गर्नुपर्ने सख्ंया करिब एक लाख २७ हजार रहेको छ। त्यस्तै, कोरोनाको कारण रोजगार गुमाएर फर्कनु पर्ने अवस्थामा रहेका करिब दुई लाख ८० हजार रहेका छन्।

नेपालबाट बैदेशिक रोजगारमा जाने प्रमुख मुलुक मलेसिया, कतार, साउदी अरब, यूएई, कुवेत, बराईन र ओमन हुन्। यिनै सात देशमा १३ लाख ४८ हजार आठ सय ७२ जना कामदार रहेका छन्।

कुन देशबाट कति फर्किँदै छन्?

मलेसिया : बैदेशिक रोजगारको बोर्डका अनुसार मलेसियामा अहिले तीन लाख २५ हजार नेपाली कामदार रहेका छन्। उनीहरुमध्ये भिसाको म्याद सकिएको र आम माफीका कारण तत्काल उद्धार गर्नुपर्ने करिब सात हजार छन्।

त्यस्तै, कोरोना महामारीका कारण करिब ३० हजार जनाले रोजगारी गुमाएका छन्। उनीहरुलाई पनि तत्कालै फिर्ता ल्याउनुपर्नेछ। सबै गरेर करिब ३७ हजार जनालाई उद्धार गर्नुपर्नेछ।

कतार : कतारमा अहिले तीन लाख ५१ ह्जार आठ सय ७२ कामदार छन्। जसमा भिसाको म्याद सकिएको र आममाफी पाएर फर्किने ७५ हजार छन्।

यस्तै, कोरोना महामारीका कारण करिब ७० जना श्रमिकले रोजगारी गुमाएका छन्। सबै गरेर करिब एक लाख ४५ हजारलाई स्वदेश फर्काउनुपर्नेछ।

साउदी अरब : अहिले साउदी अरबमा तीन लाख पाँच हजार नेपाली कामदार छन्। जसमा भिसाको म्याद सकिएका र आम माफी पाएका करिब २० हजार छन्।

कोरोनाका कारण रोजगारी गुमाएका नेपालीको संख्या एक लाख छ। सबै गरेर एक लाख २० हजारलाई नेपालीलाई तत्काल उद्धार गर्नुपर्ने बोर्डले जनाएको छ।

यूएई : यूएईमा दुई लाख ७५ हजार नेपाली कामदार रहेको छन्। त्यसमध्ये भिसाको म्याद सकिएका र आम माफी पाएका करिब १२ हजार छन्।

यस्तै, कोरोना महामारीका कारण यूएईमा करिब ५५ हजार जनाले रोजगारी गुमाएका छन्। बोर्डका अनुसार, सबै गरेर करिब ६७ हजार कामदारलाई स्वदेश फर्काउनुपर्नेछ।

कुवेत : बोर्डका अनुसर, अहिले कुवेतमा ५० हजार कामदार रहेका छन्। उनीहरुमध्ये भिसााको म्याद सकिएका र आम माफी पाएका नौ हजार छन्।

त्यस्तै, कोरोनाका कारण करिब १५ हजारले रोजगारी गुमाएका छन्। सबै गरेर २४ हजार कामदारलाई उद्धार गर्नुपर्ने देखिएको छ।

बहराइन : बहराइनमा नेपाली कामदारको संख्या ३५ हजार छ। भिसाको म्याद सकिएर तथा आम माफी पाएर तीन हजार पाँच सय जना स्वदेश फर्किने फर्खाइमा छन्।

कोरोना कारण पनि बहराइनमा सात हजारले रोजगारी गुमाएका छन्। सबै गरेर १० हजार पाँच सय नेपालीलाई तत्काल स्वदेश ल्याउनुपर्नेछ।

ओमन : अहिले ओमनमा सात हजार कामदार रहेका छन्। जसमा भिसाको म्याद सकिएका र आम माफी पाएका पाँच सय छन्।

ओमनमा कोरोनाका कारण तीन हजारले रोजगारी गुमाएका छन्। सबै गरेर तीन हजार पाँच सय जनाको उद्धार गर्नुपर्ने देखिएको बोर्डले जनाएको छ।

सरकारले नीति बनाए ल्याउन तयार छौं : महानिर्देशक दाहाल

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले यस विषयमा छलफल थालिएको बताए। सरकारले यससम्बन्धी आवश्यक प्रक्रिया पूरा गरेदिए विभाग ल्याउन तयार रहेको दाहालको भनाइ छ।

उनीहरुलाई ल्याउन सकिन्छ भन्ने विषयमा छलफल भइरहेको उनले बताए। ‘वैदेशिक रोजगारमा गएर समस्यामा परेकालाई ल्याउन सरकारले नीति बनाउनुपर्छ,’ महानिर्देशक दाहालले काठमाडौं प्रेससँग भने, ‘सरकारकारले नीति बनाएमा हामी ल्याउन तयार छौं।’

प्रकाशित मिति: ११:०८ बजे, बुधबार, जेठ ७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्