‘माइक्रो थन्कियो, के खानु, कसरी किस्ता तिर्नु?’
काठमाडौं, जेठ ५ : कोरोना भाइरसका कारण गरिएको लकडाउनले दैनिक मजदुरी गरेर खाने नागरिकलाई सकस भएको छ। उ

काठमाडौं, जेठ ५ : कोरोना भाइरसका कारण गरिएको लकडाउनले दैनिक मजदुरी गरेर खाने नागरिकलाई सकस भएको छ। उनीहरुलाई हातमुख जोर्न पनि धौधौ भइरहेको छ।
अझ यातायात क्षेत्रका मजदुर समस्यामा परेका छन्। दैनिक ५–६ पटक मुलपानीदेखि नयाँ बानेश्वरसम्म माइक्रोबस गुडाउने ३९ वर्षीया सन्तोषी बुढाथोकी लकडाउनले आपत परेको बताउँछिन्। ‘कोठामा बस्न दिक्क लागेको होइन, जीवन कसरी चलाउने अप्ठ्यारो भएको छ,’ माइक्रो चालक सन्तोषी भन्छिन्, ‘दैनिक यातायात समितिमा बुझाउनुपर्ने तीन सय १० रुपैयाँ अब कसरी बुझाउने भन्ने चिन्ताले सताएको छ।’
सिन्धुपाल्चोककी उनी लामो समयदेखि टोखा नगरपालिका–५ मा बस्छिन्। उनी जयबाबा पशुपति यातायात प्रालिमा आबद्ध भएर माइक्रो चलाउँदै आएकी छन्।
नविकरण, विमादेखि लिएर अन्य प्रशासनिक झमेला नहुने भएकाले जयबाबा पशुपति यातायात प्रालिमा जोडिएको उनले बताइन्। यसले सवारी साधन कुन दिन, कुन रुटमा चल्नेदेखि लिएर अन्य काममा पनि समन्वय गर्छ।
यसमा बुझाएको रकमबाट नविकरणदेखि दुर्घटना बिमासम्मका सबै काम प्रालिले नै गर्छ। योसँगै चालक, सहचालक बिमा, ट्राफिक प्रहरीलाई बुझाउनुपर्ने शुल्क, यातायात मजदुरको भलाई कोषमा लाग्ने शुल्क सबै जोडेर रकम प्रालिलाई बुझाउने गरेको उनले बताइन्। ‘यतिका दिनदेखि माइक्रो थन्किएको छ, त्यो रकम अब कसरी तिर्नु?,’ उनी दुखेसाे पाेखिन ।
काडाँघारीकी ३० वर्षीय मञ्जु थापालाई पनि त्यस्तै चिन्ता छन्। ‘दुई महिना हुन लाग्यो, माइक्रो चलेको छैन,’ माइक्रोबस चालक मञ्जु भन्छिन्, ‘अहिलेसम्म भएको पैसा पनि सकियो, अब सवारी साधनको किस्ता कसरी तिर्ने, दैनिक बुझाउनु पर्ने शुल्क कसरी तिर्ने, सोच्नै सकेको छैन।’
करिब ६ वर्ष अरुको माइक्रो चलाएकी उनले दुई वर्ष अघि ऋण लिएर माइक्रो किनेकी थिइन्। दुई महिनादेखि किस्ता बुझाउन नसकेको उनले सुनाइन्। ‘माइक्रोको मासिक ३० हजार रुपैयाँ किस्ता तिर्नुपर्छ। अब कसरी तिर्नु? सोच्दासोच्दै दिक्क लाग्छ,’ उनी भन्छिन्।
प्रायः सबै सवारी साधन चालकको अवस्था यस्तै छ। अरुको गाडी चलाउनेहरुको कमाइ छैन। आफ्नै गाडी किनेकाहरुलाई अब के गर्ने कुनै उपाय निस्किरहेको छैन।
अहिलेकाे महामारीकाे समयमा सरकारले सहयोग गर्नुपर्ने उनीहरु बताउँछन्। लकडाउनको समयमा बुझाउन नसकेको रकम छुट दिनुपर्ने, केही सयम वित्तीय संस्थाको किस्ता बुझाउने म्याद पर सार्न सरकारले पहल गर्नुपर्ने उनीहरुको भनाइ छ। ‘यस्तो वेला सरकारले नहेरे त तिर्नै सकिँदैन,’ सन्तोषी भन्छिन्।
लकडाउनका सयममा तिर्नुपर्ने शुल्कका विषयमा छलफल भइरहेको जयाबाबा पशुपति यातायात प्रालिका सञ्चालक शिव गौतम बताउँछन्। ‘लामो समय लकडाउन भएकाले व्यवसायीहरुलाई ठुलो मर्का परेको छ । यस विषयमा प्रालिले बिमा कम्पनीसँग छलफल गरिरहेको छ,’ उनले भने।
लकडाउनको समयको दैनिक लिनुपर्ने शुल्क नलिने कि भन्ने विषयमा बिमा कम्पनीसँग छलफल भइरहेको पनि उनले बताए। तर, कुनै सहमति भने हुन सकेको छैन।
यो प्रालिमा आवद्ध ४० वटा सवारी साधन दैनिक विभिन्न रुटमा गुड्ने गरेका छन्। जसले दैनिक तीन सय १० रुपैयाँको दरले १२ हजारभन्दा बढि रकम संकलन हुन्छ।
पहिला नैं संकलन भएको रकमले धान्न सक्छ कि भनेर बिमा कम्पनीसँग प्रस्ताव राखिएको गौतमले बताए। यो समस्या माइक्रोबस व्यवसायीलाई मात्रै नभएर, सबै व्यवसायीलाई परेको उनी बताउँछन्।












-(86)-1764936079.jpg)