नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुग्यो
काठमाडौं, जेठ ४ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।

काठमाडौं, जेठ ४ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ।
आइतबार बिहान बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवकमा कोरोनाको संक्रमण रहेको पुष्टि भएपछि मृतकको संख्या दुई पुगेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिका– ५, स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमा बसेका युवकको कोरोनाको संक्रमणबाट मृत्यु भएको पुष्टि गरेका हुन्।
युवकको स्वाब पीसीआर विधिबाट परीक्षण गर्दा कोरोनाको संक्रमण देखिएको उनले बताए। ती युवकको आइतबार बिहान पौने ७ बजेतिर नरैनापुर गाउँपालिका– ५, स्थित दिपेन्द्र प्राविको क्वारेन्टाइनमै मृत्यु भएको थियो।
मृतक युवक भारतको महाराष्ट्रदेखि हिँडेरै आएर वैैशाख ३० गतेदेखि क्वारेन्टाइनमा बसेका थिए। यसअघि शुक्रबार साँझ काभ्रेको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलामा पनि कोरोनाको संक्रमण रहेको शनिबार पुष्टि भएको थियो।
नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या २९२ पुगेको छ। तीमध्ये दुई जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।











