कोरोनाको डाटा नदिएपछि डा. झासहितलाई स्पष्टिकरणको पत्र !
काठमाडौं, जेठ १ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरसको जेनेटिक्स अध्ययन गर्ने अधिकार आफ

काठमाडौं, जेठ १ : राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना भाइरसको जेनेटिक्स अध्ययन गर्ने अधिकार आफूसँगै भएको भन्दै राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्ले अनावश्यक रुपमा स्पष्टिकरण सोधेको प्रतिक्रिया दिएको छ।
परिषदले कोरोनाको पहिलो केसको जेनेटिक्स अध्ययनका लागि हङकङ पठाएको विषयमा आपत्ति जनाउँदै प्रयोगशालाकी निर्देशक डा. रुना झासहित ६ जनालाई स्पष्टिकरण सोधेको छ।
केही दिनअघि अमेरिकी सोसाइटी अफ माइक्रोवायोलोजीले प्रकाशित गरेको जर्नलमा डा. झासहित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक बासुदेव पाण्डे, पूर्वनिर्देशक विवेकलाल कर्ण, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता अनुप बाँस्तोला, राष्ट्रिय प्रयोगशालाकै डा. रन्जित साह र हेमन्त चन्द्र ओझा सहभागी भएका थिए।
‘परिषदको नाम नआएर उहाँहरु रिसाउनु भएको होला, हामीले व्यक्तिको होइन भाइरसको आफैं सहभागी भएर अध्ययन गरेका हौ’ डा. झाले काठमाडौं प्रेससँग भनिन्, ‘एउटा भाइरसको जेनेटिक्स अध्ययन गर्ने अधिकार प्रयोगशालालाई छ।’
स्वास्थ्य अनुसन्धान परिषदले उक्त अध्ययनमा सहभागी सबैलाई स्पष्टिकरण सोधेको छ। पत्रमा कोरोना संक्रमित पहिलो नेपाली युवाको जेनेटिक विदेशी संस्थालाई अनधिकृत रुपमा अनुसन्धान गर्न दिएको आरोप लगाइएको छ।
तर डा. झा भने जेनेटिक्स सुरुमा हङकङ पठाउने नेपाल सरकारको निर्णय र विश्व स्वास्थ्य संगठनको अनुमतिसहित परीक्षणका लागि पठाइएकाले त्यसलाई अनधिकृत भन्न नमिल्ने बताउँछिन्।
‘पहिलो कोरोना भाइरस केसको जेनेटिक्स हङकङ पठाउने नेपाल सरकारको निर्णय हो। यो अनधिकृत होइन,’ झाले भनिन्, ‘अहिले पनि इन्फ्ल्न्जाको जेनेटिक्स जापान पठाइन्छ। त्यो पनि अनधिकृत हो त?’
डा. झाले परिषदका सदस्य सचिव प्रदीप ज्ञवालीले प्रयोगशालाको सबै डाटा मागेको र त्यो नपाएपछि स्पष्टिकरणको नाटक रचेको हुन सक्ने बताइन्। ‘हामीले काम गर्ने अनि उहाँहरुलाई सबै डाटा दिन सकिँदैन,’ झाले भनिन्, ‘परिषदले मागेको सबै डाटा नपाएर अनावश्यक विवाद ल्याउन खोजेको हुन सक्छ।’
अमेरिकाको माइक्रोबायोलोजी समाजले प्रकाशित गरेको कोरोना सम्बन्धी जर्नलमा झासहित ६ जना पनि अनुसन्धानमा सहभागी थिए। उक्त जर्नललाई विश्वकै प्रतिष्ठित जर्नल मानिन्छ। ‘जर्नलमा उहाँहरुको (परिषदका सदस्य सचिव प्रदीप ज्ञवाली) नाम नआएर रिसाउनु भएको हाे’ झाले भनिन्, ‘जसले काम गर्छ नाम त उसैको आउने हो।’
झाले एक जनाको जेनेटिक्स अध्ययन तथा अनुसन्धानमा परिषदको स्वीकृति लिनु पर्ने प्रावधान नरहेको पनि बताइन्। ‘एक जनाको यस्तै खालको महामारीको अध्ययनमा परिषदको स्वीकृति लिनु पर्दैन,’ झाले भनिन्, ‘ठूलो स्केलमा गर्दा मात्रै परिषदको स्वीकृति लिने हो।’
झाले विश्वको स्थापित जर्नलमा नेपालका चिकित्सकहरु पनि सहभागी भएर अनुसन्धान हुनु राज्यकै लागि राम्रो भएको पनि बताइन्।
‘कमप्लेट जेनोम सिक्वेन्स अफ–२०१९ नोवेल कोरोना भाइरस स्ट्रेन आइसोलेटिड इन नेपाल’ शीर्षकमा नेपालका ६ जनासहित १६ जना सहभागी भएको कोरोना सम्बन्धी रिसर्च प्रकाशित भएको छ।











