कोरोनाको फ्रन्टलाइनमा काम गरेका वीरगञ्जका चिकित्सकहरुलाई होटलको ढोका बन्द
काठमाडौं, जेठ १ : फ्रन्टलाइनमा जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि वीरग

काठमाडौं, जेठ १ : फ्रन्टलाइनमा जोखिम मोलेर काम गर्दै आएका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि वीरगञ्जस्थित नारायणी उपक्षेत्रिय अस्पतालका चिकित्सक बस्दै आएको एक होटलले खाना खुवाउन र बस्न नदिने निर्णय छ।
अस्पतालका एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि सबै चिकित्सक र स्वास्थ्यकर्मीलाई वीरगञ्जस्थित 'कन्ट्री इन' होटलले खान र बस्न नदिने भएको हो।
अस्पतालका डाक्टर निरज सिंहका अनुसार होटलले बिहीबार बिहानको खान खुवाएर अबदेखि बास नदिने मौखिक जानकारी गराएर होटल बन्द गरेको छ।
विगत तीन सातादेखि नारायणी अस्पतालका कोरोना संक्रमितकाे उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु कन्ट्री इन होटलमा खाने र बस्ने गर्दै आएका थिए। तर, चिकित्सकलाई नै कोरोना देखिएपछि होटलले चिकित्सककाे लागि आफ्नो होटलको ढोका बन्द गरेको हो। होटलको यस्तो निर्णयले चिकित्सकहरुलाई खान र बास बस्न समस्या पर्ने देखिएको छ।
‘पहिले कसैले खान र बस्न दिन नमानेको बेला कन्ट्री इनले व्यवस्था मिलाएकाे थियो। तर, बुधबारको घटनापछि उहाँहरु त्रसित बन्नुभयो,’ सिंहले काठमाडौं प्रेससँग भने, ‘आज बिहानको खाना नै खुवाउन मान्नुभएन। हामी घर नगई सबै एकै ठाउँमा बस्दै आएका छौं। अब के गर्ने अन्यौल भएको छ।’
सिंहका अनुसार कोरोना संक्रमित स्वास्थ्यकर्मीको पहिलो रिपोर्ट नेगेटिभ आएकाे थियाे। पछिल्लाे रिपाेर्ट पोजेटिभ आयाे। ‘उहाँ (संक्रमित)को पहिलो पटक टेस्ट गर्दा नेगेटिभ आएको थियो। तर पछि पोजेटिभ आयो,’ उनले भने, ‘यो एउटा अनुसन्धानको विषय हो, अहिले उहाँ घर गइसक्नुभएको छ। तर, होटलवालाले भने त्रासका कारण हाम्रा लागि ढोका बन्द गरिदिनुभयो।’
होटलले खाना खुवाउन अस्विकार गरेपछि अस्पतालमा कार्यरत चिकित्सकहरु थप आक्रोशित बनेका छन्। बिहीबार बिहानको खाना भने वीरगञ्ज महानगरपालिकाले प्याकेटमा ल्याएर चिकित्सकहरुलाई वितरण गरेको छ। ‘ड्युटीमा रहँदा त्यसै तनाव हुन्छ। कतिबेला प्याक गरेको खाना हो, राम्रो खानासमेत नपाउने स्थितिले झन तनाव बढेको छ,’ सिंहले भने, ‘यस्तो खानाप्रति चिकित्सकहरुले असन्तुष्टी जनाएका छन्। मैले अस्पताल प्रशासन र महानगरपलिकालाई जानकारी गराएको छु। बेलुकासम्म केही व्यवस्था हुने आवश्वसन आएको छ। तर, खाने बस्ने व्यवस्था नभए अवस्था तनावग्रस्त बन्न सक्छ। चिकित्सकहरुको विचल्ली हुने अवस्था आउन दिनु हुँदैन।’
कन्ट्री इन होटलममा ३० जना चिकित्सहरुले नियमित खान खाँदै आएका थिए। चिकित्सकहरुका लागि ३० वटा रुमसमेत बुक गरिएको थियो। त्यसबापतको रकम अस्पतालले तिर्दै आएको थियो।











