भेरीकाे पानी बबईमा झार्ने १२ किलोमिटर सुरुङको ‘ब्रेक-थ्रु’
सुर्खेत, वैशाख ३ : भेरी नदीको पानी बबई नदीमा झार्ने सुरुङको काम सम्पन्न भएको छ । आज एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ‘ब्रेक-थ....

सुर्खेत, वैशाख ३ : भेरी नदीको पानी बबई नदीमा झार्ने सुरुङको काम सम्पन्न भएको छ । आज एक समारोहबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको ‘ब्रेक-थ्रु’ गरेका छन्।
राष्ट्रिय गौरबको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुरुङको ‘ब्रेक-थ्रु’ गरिएको हो । यो सुरुङबाट भेरीको किनार चिप्लेबाट बबईको किनार खात्तीखालमा पानी झारिने छ।
यसको सुरुआत २०७४ कात्तिकबाट गरिएको थियो । बबई किनार खात्तीखालाबाट सुरुङ खन्न थालिएको थियो । जुन अहिले भेरीको किनार चिप्ले पुगेको हो।
मंगलबार प्रधानमन्त्री ओलीले चिप्लेमै ‘ब्रेक-थ्रु’ गरेका हुन् । दुई वर्षअघि बबई किनार हात्तीखालाबाट छिरेको ‘टनेल बोरिङ मेसिन (टीबीएम)’ आज चिप्लेबाट बाहिर निकालिएको हो।
यो मेसिन नेपालमा पहिलो पटक प्रयोगमा आएको हो । यसले सुरुङ खन्नेसँगै निर्माणको काम पनि गर्छ।
आज ‘ब्रेक-थ्रु’ भएसँगै भेरीको पानी सुरुङबाटै बबईमा झार्न सकिने छ । यो १२ किलोमिटर दुई सय मिटर लामो सुरुङले चुरे पर्वत छेडेको हो।
भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत तीन चरणमा काम छुट्याएको छ । पहिलो चरणमा सुरुङ निर्माण गरिएको छ भने दोस्रो चरणमा विद्युत उत्पादन र तेस्रो चरणमा सिंचाइको काम हुने छ।
दोस्रो चरणमा ४८ मेगावाट विद्युत उत्पादन हुने छ। छिन्चु-जाजरकोट सडकखण्डको चिप्लेमा बाँध बाँधेर सुरुङबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा झारिने छ।
सुर्खेतको रामघाटस्थित चिप्लेमा बाँध निर्माण गरिने छ । भेरी नदीमा बाँध निर्माण र पावरहाउस निर्माणमा ६ अर्ब खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै, तेस्रो चरणमा सिंचाइको काम सुरु हुने आयोजनाले जनाएको छ । जसबाट बाँके र बर्दियामा बाह्रै महिना सिंचाइ हुने जनाएको छ।
भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ गर्ने लक्ष्य रहेको छ।











