कोरोनाको चपेटामा परेका एसियाका दश देश
काठमाडौं, वैशाख २५ : एसियाबाटै सुरुआत भएपनि कोरोना भाइरसको चपेटामा युरोप र अमेरिकी देशहरु परेका छन्।

काठमाडौं, वैशाख २५ : एसियाबाटै सुरुआत भएपनि कोरोना भाइरसको चपेटामा युरोप र अमेरिकी देशहरु परेका छन्। अहिले भने विस्तारै एसियामा पनि संक्रमण फैलिन थालेको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार, एसियामा सबैभन्दा बढी टर्की र सबैभन्दा कम भुटानमा कोरोना संक्रमित देखिएका छन्। टर्कीमा संक्रमितको संख्या एक लाख ३१ हजार सात सय १७ पुगेको छ। जसमा तीन हजार पाँच सय ८४ जनाले ज्यान गुमाइसकेका छन्। टर्कीमा ७८ हजार दुई सय दुई जना निको भइसकेका छन्।
सबैभन्दा कम संक्रमण देखिएको भुटानमा अहिलेसम्म सात जनामा संक्रमण देखिएको छ। तीमध्ये पाँच जना निको भइसकेका छन् भने दुई जनाको उपचार भइरहेको छ।
बिहीबारसम्म एसियामा ६ लाख चार हजार नौ सय ३१ जनामा कोरोना देखिएको छ। जसमध्ये २० हजार आठ सय २९ जनाले ज्यान गुमाइसकेका छन्। अहिलेसम्म तीन लाख २७ हजार पाँच सय ६३ जना निको भएका छन् भने दुई लाख ५६ हजार पाँच सय ३९ जनाको उपचार भइरहेको छ।
कोरोनाको चपेटामा परेका एसियाका दश देशको दोस्रो नम्बरमा इरान रहेको छ। इरानमा एक लाख एक हजार ६ सय ५० जनामा कोरोना देखिएको छ भने ६ हजार चार सय १८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये ८१ हजार पाँच सय ८७ जना निको भइसकेका छन्।
तेस्रो नम्बरमा रहेको चीनमा ८२ हजार आठ सय ८५ जनामा संक्रमण देखिएको छ। त्यसमध्ये चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ भने २३ जना गम्भीर रहेका छन्। चीनमा ७७ हजार नौ सय ५७ जना निको भइसकेका छन्।
चौथो नम्बरमा रहेको भारतमा भने संक्रमण बढ्दै गएको छ। गत चार दिनमा १० हजार संक्रमित थपिएर ५३ हजार ४५ पुगेका छन्। अहिलेसम्म एक हजार सात सय ८७ जनाको मृत्यु भएको छ भने ३५ हजार नौ सय ५७ जनाको उपचार भइरहेको छ।
साउदी अरबमा ३१ हजार नौ सय ३८ जनामा कोरोना देखिएको छ भने दुई सय नौ जनाको मृत्यु भएको छ। छैटौं नम्बरमा रहेको पाकिस्तानमा कोरोना संक्रमितको संख्या २४ हजार ७३ पुगेको छ भने पाँच सय ६४ जनाले ज्यान गुमाएका छन्।
त्यस्तै, २० हजार नौ सय ६९ संक्रमित रहेको सिंगापुर सातौं स्थानमा छ। सिंगापुरमा उपचारको राम्रो व्यवस्था हुँदा २० जनाको मात्रै ज्यान गएको छ।
आठौं नम्बरमा रहेको कतारमा १७ हजार नौ सय ५२ जनामा कोरोना देखिएको छ। कतारमा पनि १२ जनाले मात्रै ज्यान गुमाएका छन् भने दुई हजार ७० जना निको भइसकेका छन्।
त्यस्तै, इजरायलमा १६ हजार नौ सय १० जनामा संक्रमण देखिएको छ भने दुई सय ३९ जनाको मृत्यु भएको छ। इजरायलमा १० हजार ६ सय २९ जना निको भइसकेका छन्।
दशौं नम्बरमा रहेको युएईमा पनि संक्रमितको संख्या १५ हजार सात सय ३८ पुगेको छ। जसमध्ये एक सय ५७ जनाले ज्यान गुमाएका छन् भने तीन हजार तीन सय ५९ जना निको भएका छन्।
एसियाका देशको सूचीमा पुछारतिरै रहेको नेपालमा बिहीबारसम्म ९९ जनामा कोरोना देखिएको छ। त्यसमध्ये २२ जना निको भइसकेका छन् भने ७७ जनाको उपचार भइरहेको छ।
संसारभर भने बिहीबार मध्याह्नसम्म ३८ लाख २२ हजार तीन सय १६ जनामा कोरोना देखिएको छ भने दुई लाख ६५ हजार एक सय २२ जनाको मृत्यु भएको छ।











