लकडाउनको मोडालिटी फेर्ने बेला भएन?
काठमाडौं, वैशाख २३ : मुलुककै आर्थिक केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकामा कोरोना भाइरसक

काठमाडौं, वैशाख २३ : मुलुककै आर्थिक केन्द्रको रुपमा रहेको काठमाडौं उपत्यकामा कोरोना भाइरसको नयाँ केस देखिन छाडेपछि अब लकडाउनको प्रकृति फेर्नुपर्ने सुझाव विज्ञहरुले दिन थालेका छन्।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरस डिटेक्ट भएको छैन। भाइरस नै डिटेक्ट नभएको क्षेत्रमा लकडाउन जारी राखेर आर्थिक गतिविधि ठप्प पार्दा कोरोनाभन्दा पनि आर्थिक गतिविधिले ठूलो असर गर्न सक्ने भन्दै लकडाउनलाई खुकुलो बनाउनु पर्ने विभिन्न क्षेत्रका व्यक्तिहरुको सुझाव छ।
पूर्व अर्थसचिव रामेश्वर खनाल सिंगो मुलुकमा एकै प्रकृतिको लकडाउन गर्नुभन्दा ठाउँ र जोखिमको अवस्था हेरेर फरक–फरक नियम लागू गर्नु हितकर हुने बताउँछन्। ‘सीमा नाकामा कडाइ गरेर उपत्यकामा लकडाउन खुकुलो बनाउन सकिन्छ। किनकि यहाँ जोखिम कम छ,’ खनालले काठमाडौं प्रेससँग भने, ‘पसल र साना व्यवसाय दिनभर सञ्चालन गर्न सकिन्छ।’
राजधानीमा सामुदायिक तहमा संक्रमण नदेखिएकाले पनि धेरै डराएर ठप्पै बनाउन आवश्यक नरहेको खनालको भनाइ छ।
उनले अब कोरोनाको सम्भावित असर हेरेर सरकारले रातो, पहेँलो र हरियो क्षेत्रमा विभाजन गरी सोही अनुसार लकडाउनको मोडालिटी तय गर्नुपर्ने बताए। ‘कतिपय ठाउँहरु कोरोनाबाट सुरक्षित छन्। त्यस्ता जिल्लामा सबै आर्थिक गतिविधि सञ्चालन गर्न सकिन्छ,’ खनालले भने, ‘तर भौतिक र सामाजिक दूरी भने कायम गर्नुपर्छ।’
साना व्यवसाय र उद्योगहरु सञ्चालन गर्न दिएर अब अर्थतन्त्रलाई चलायमान बनाउनुपर्छ। साइकल, मोटरसाइकल र साझा यातायातमा सामाजिक दूरी कायम गरी व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्छ।
रामेश्वर खनाल, पूर्व अर्थसचिव
खनाल काठमाडौं उपत्यकालाई पहँेलो क्षेत्रमा वर्गीकरण गरेर ठूला जमघट हुने क्षेत्र, सार्वजनिक सवारी लगायतमा रोक लगाएर गतिविधि नियमित गर्नु उपयुक्त हुने बताउँछन्।
‘काठमाडौंको हकमा एल्लो जोनमा रहेर ठूला डिपार्टमेन्टल स्टोर, विश्वविद्यालय, स्कुल, धार्मिक स्थल, सभा सम्मेलन लगायतमा रोक लगाउनु पर्छ,’ उनी भन्छन्, ‘त्यसबाहेक साना व्यवसाय सञ्चालन गर्न दिनुपर्छ। जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ। यातायातको क्षेत्रमा कोही व्यक्ति भक्तपुरबाट काम गर्न बालाजु आउनु पर्ने भएमा उनीहरुको लागि भने साइकल, मोटरसाइकल र साझा यातायातमा सामाजिक दूरी कायम गरी व्यवस्थित ढंगमा सञ्चालन गर्नु पर्छ।’
काठमाडौंमा लकडाउन लचिलो बनाएपनि सचेत भने हुनै पर्ने धारणा जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितको छ। ‘लकडाउनलाई अलि लचिलो बनाउन जरुरी छ। तर, पूर्ण रुपमा लकडाउन खुलाउने अवस्था भने भइसकेको छैन,’ उनी भन्छन्, ‘संक्रमित भएका तर लक्षण नदेखिएका मानिसको संख्या पनि बढ्दो छ। जसले कोरोनाको संक्रमण फैलाउन सक्ने सम्भावना अझ बढी रहन्छ।’
लकडाउनलाई अलि लचिलो बनाउन जरुरी छ। तर, पूर्ण रुपमा लकडाउन खुलाउने अवस्था भइसकेको छैन। संक्रमित भएका तर, लक्षण नदेखिएका मानिसको संख्या पनि बढ्दो छ।
समिरमणि दीक्षित, जनस्वास्थ्य विज्ञ
दीक्षित अहिले विभिन्न नाकाबाट काठमाडौं छिर्ने मानिसको संख्या दिनानुदिन बढेको खबर आइरहेकाले त्यसले जोखिम भने बढाएको बताउँछन्। ‘काठमाडौंमा कोरोना नियन्त्रणका लागि सुरुमा भित्रिने मानिसको आवतजावतलाई कडाइका साथ रोक लगाउनु पर्छ,’ उनी भन्छन्, ‘काठमाडौं लगायत हरेक जिल्लाले आफ्नो जिल्लाभित्र मात्र लकडाउन खुकुलो बनाउनु पर्छ। जिल्ला बाहिर ओहोरदोहोर गर्न दिनु भएन। यसबाहेक सकेसम्म परीक्षणलाई अझ तीव्रता दिनुपर्छ।’
पसल खोल्ने समयावधिलाई बढाउने, होम डेलिभरीलाई अनुमति दिने, ट्याक्सीमा एक जनासम्म राख्न मिल्ने, व्यक्तिगत सवारीसाधनलाई अनुकूलता अनुरुप पास दिने लगायतका कार्य गरे लकडाउनलाई केही हदसम्म खुकुलो बनाउन सकिने उनको भनाइ छ।
उद्योगहरु विस्तारै खोल्नु पर्छ। एकैचोटी सबै उद्योगहरु खोल्ने होइन, आवश्यक मापदण्ड बनाएर विस्तारै खोल्दै लग्नु उपयुक्त हुन्छ।
भवानी राणा, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ
लामो समय मुलुक लकडाउन हुँदा अर्थतन्त्र थिलथिलो बनेको उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा बताउँछिन्। ‘उद्योगहरु विस्तारै खोल्नु पर्छ भनेर हामीले सरकारलाई पनि सुझाव दिइसकेका छौँ। आफ्नो सुरक्षाका लागि स्वास्थ्य मन्त्रालयले तय गरेको मापदण्ड अनुसार उद्योग आफैँले सुरक्षाका उपायहरु अपनाउने गर्नुपर्छ,’ राणाले भनिन्, ‘एकैचोटी सबै उद्योगहरु खोल्ने होइन, आवश्यक मापदण्ड बनाएर विस्तारै खोल्दै लग्नु उपयुक्त हुन्छ।’












-(86)-1764936079.jpg)