आज भेरी–बबई १२ किलोमिटर लामो सुरुङको ‘ब्रेकथ्रु’
सुर्खेत, वैशाख ३ : भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेकथ्रु’ गरिन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दि....
सुर्खेत, वैशाख ३ : भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेकथ्रु’ गरिन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउसो ‘ब्रेकथ्रु’ गर्ने कार्यक्रम रहेको आयाेजनाले जनाएकाे छ।
राष्ट्रिय गौरवको आयोजना भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाअन्तर्गत १२.२ किलोमिटर लामो सुरुङ खनिएको छ । चिनीयाँ कम्पनी चाईना ओभरसिज ईन्जिनियरिङ ग्रुप कम्पनी लिमिटेडले यसको सुरुङ खनेको हो।
सिंचाइ विभागसँग ०७१ माघमा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । जसअनुसार, ०७२ जेठ २१ देखिदेखि आयोजना काम सुरू भएको थियो।
यो आयोजनाको सुरुङ म्यादभन्दा एक वर्ष अघि नै निर्माण भएको हो । विभागसँग भएको निर्माण सम्झौताअनुसार, ०७६ चैत १५ सम्पन्न गर्ने म्याद तोकिएको छ।
यसका लागि चिनीयाँ कम्पनीसँ १० अर्ब ५६ करोड ९७ लाख ३२ हजार एक सय ४१ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको पहिलो चरणमा सुरुङ निर्माण गरिएको हो।
आज प्रधानमन्त्रीले ब्रेकथ्रु गरेपछि सुरुङ भित्र रहेको ‘टनेल बोरिङ मेसिन (टीबीएम)’ बाहिर निकालिने छ । यो मेसिनबाट दुई वर्ष अघि सुरुङ खन्न सुरुआत गरिएको थियो । नेपालमा पहिलो पटक सुरुङ खन्न टीबीएम प्रयोग गरिएको हो।
यो आयोजनबाट विद्युत र सिंचाइको पनि व्यवस्था गरिने छ । दोस्रो चरणमा विद्युत उत्पादनको काम सुरु हुने छ । यसबाट ४८ मेगावाट विद्युत उत्पादन हुने छ।
छिन्चु–जाजरकोट सडकखण्डको चिप्लेमा बाँध बाँधेर सुरुङबाट प्रतिसेकेन्ड ४० घनमिटर पानी बबई नदीमा झारिने छ । सुर्खेतको रामघाटस्थित चिप्लेमा बाँध निर्माण गरिने छ । भेरी नदीमा बाँध निर्माण र पावरहाउस निर्माणमा ६ अर्ब खर्च हुने अनुमान गरिएको छ।
त्यस्तै, तेस्रो चरणमा सिंचाइको काम सुरु हुने आयोजनाले जनाएको छ । जसबाट बाँके र बर्दियामा बाह्रै महिना सिंचाइ हुने जनाएको छ।
भेरी नदीको पानी बबई नदीमा खसालेर बाँके र बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिंचाइ गर्ने लक्ष्य रहेको छ।






