Kathmandu Press

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्म प्रतिबन्ध 

काठमाडौं, वैशाख १३ : सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याउने

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा जेठ २ सम्म प्रतिबन्ध 

काठमाडौं, वैशाख १३ : सरकारले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्ध थप लम्ब्याउने निर्णय गरेको  छ। 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको शनिबार बसेको बैठकले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा (मे १५ ) जेठ २ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जानकारी दिए।

‘आन्तरिक र बाह्य उडानमा अप्रिल ३० (वैशाख १८) सम्म प्रतिबन्ध लगाउने निर्णय गरेका थियौं। अब त्यसलाई बढाएर मे १५ (जेठ २) सम्म कायम राख्ने निर्णय भएको छ,’ सचिव विडारीले भने।

यसअघि सरकारले वैशाख १८ गतेसम्मका लागि आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो।  कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै  सरकारले सुरुमा चैत ९ देखि चैत १८ गतेसम्म र पछि त्यसलाई थप गर्दै वैशाख १८ गतेसम्मका कायम गरेको थियो।

सचिव विडारीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबारे सरकारले नै निर्णय लिने बताए। ‘समितिमा यसबारेमा सामान्य समीक्षामात्रै भयो,’ उनले भने,‘लकडाउन कहिलेसम्म कायम राख्ने र खुकुलो बनाउने कि नबनाउने भन्ने विषयको निर्णय अब बस्ने मन्त्रिपरिषद् बैठकले लिनेछ।’ 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, वैशाख १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्