Kathmandu Press

अक्सफोर्ड विश्वविद्यालयले बनाएकोे कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण

काठमाडौं, वैशाख १३ : कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहँदा हाल धेरै देशका वैज्ञानिकहरुले कोर

अक्सफोर्ड विश्वविद्यालयले बनाएकोे कोरोना भाइरसविरुद्धको खोप मान्छेमा परीक्षण
एजेन्सी

काठमाडौं, वैशाख १३ : कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहँदा हाल धेरै देशका वैज्ञानिकहरुले कोरोनाविरुद्ध खोपको अध्ययन गरिरहेका छन्। जसअन्तर्गत  बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि पहिलो पटक मानिसमा कोरोनाविरुद्धको खोपको परीक्षण गरेको छ।

विश्वविद्यालयले आठ सय जना स्वयंसेवकलाई अध्ययनको लागि छनोट गरेको छ। बिहीबार दुई जना स्वयंसेवकमाथि खोपको परीक्षण गरिएको हो। जसमध्ये चार सय जनालाई कोरोनाविरुद्धको खोप दिइनेछ भने बाँकीलाई मेनिन्जाइटिसबाट बचाउने अर्थात कोरोना नियन्त्रणको खोप दिइनेछ।

यो खोप तयार पार्न तीन महिनाको समय लागेको अक्सफोर्ड विश्वविद्यालयका भ्याक्सिनोलोजी प्राध्यापक साराह गिल्बर्टले बताए। ‘व्यक्तिगत रुपमा भन्नु पर्दा यो भ्याक्सिनले काम गर्नेमा म विश्वस्त छु,’ उनले भने।

अक्सफोर्ड युनिभर्सिटीले यसअघि पनि कोरोना भाइरसको एउटा प्रकारको रुपमा रहेको मार्सविरुद्धको खोप तयार पारेको थियो। यसैलाई आधार मानेर उनीहरुले कोरोना भाइरसको खोप पनि तयार पारेकाले सफल हुने उनीहरुको विश्वास छ।

यो खोपले कसरी काम गर्छ?

वैज्ञानिकहरुले कोरोना भाइरसको सतहमा स्पाइक प्रोटिनको लागि आवश्यक जीन लिई हानिकारकरहित भाइरसमा राखेर खोप तयार पारेका हुन्। विभिन्न विधिहरुबाट बनाइएको खोपलाई मानिसमा लगाइन्छ।

जब यो खोप सेलहरुमा पुग्छ यसले कोरोना भाइरसका लागि स्पाइक प्रोटिन उत्पादन गर्न थाल्छ। यसले प्रतिरक्षा प्रणालीलाई एन्टिबडी उत्पादन गर्न र किलर टिसेललाई संक्रमित सेल नष्ट गर्न सक्रिय पार्छ। साथै कोरोना भाइरस संक्रमितलाई एन्टिबडी र टिसेल भाइरससँग लड्न मद्दत गर्छ।

खोपले काम गरे वा नगरेको कसरी पत्ता लाग्छ?

यो खोप लाभदायी छ वा छैन पत्ता लगाउन केही महिनाको अवलोकन आवश्यक रहेको उनीहरु बताउँछन्। अक्सफोर्ड भ्याक्सिन ग्रुपका निर्देशक प्रोफेसर एन्ड्र्यू पोलार्डले भने, ‘हामी अहिलेको महामारीको अत्यन्त चरम अवस्थामा पुगेका छौं। भ्याक्सिनले आगामी केही महिनामा काम गर्छ वा गर्दैन भन्ने कुरा यकीन साथ भन्न सकिने अवस्था छैन। तर, भविष्यमा यसको संक्रमितको संख्या बढ्दै जाने हो भने धेरै मात्रामा खोपको परीक्षण गरी डाटा निकाल्न सहज हुनेछ।’

खोपका अन्वेषकहरुले स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखेर खोपको परीक्षण गर्ने नीति लिएका छन्। स्वास्थ्यकर्मी फ्रन्ट लाइनमा बसेर काम गरिरहेको र सबैभन्दा धेरै उनीहरुले नै कोरोना भाइरसको सामना गर्नुपर्ने भएकाले उनीहरुलाई प्राथमिकतामा राखिएको अन्वेषकको भनाइ छ।

साथै आगामी केही महिनासम्ममा करिब ५ हजार जना स्वयंमसेवकहरुलाई लिएर सो खोपको परीक्षण गरिने छ। परीक्षण गरिने स्वयसेवकको कुनै उमेर समुह तोकिएको छैन।  प्रोफेसर पोलार्डले भने ‘यदि हामीले स्वयंसेवकहरूको सुरक्षाको ग्यारेन्टी दिन सक्यौँ भने यो खोप परीक्षण गर्ने राम्रो तरिका हो।’

के खोप सुरक्षित छ ?

परीक्षणका लागि खोप दिएका स्वयंसेवकहरुलाई आगामी केही महिनासम्म सावधानीपुर्वक अनुगमन गरिनेछ।

खोप लगाएका मानिसमा केही दिनसम्म टाउको दुख्ने, हात दुख्ने, ज्वरो आउने सम्भावना रहेको हुँदा यसबारे अवगत गराई नआत्तिन सुझाव दिइएको अन्वेषकहरुको भनाई छ।

यो परीक्षण सफल भएमा सेप्टेम्बरसम्ममा एक मिलियन खोपहरु बनाउने वैज्ञानिकहरुको लक्ष्य छ। (एजेन्सीको सहयोगमा)

 

प्रकाशित मिति: ०९:३० बजे, शनिबार, वैशाख १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्