पाँच वर्षअघिको भूकम्प र अस्पतालको खुला बेडमा छोरी
नयाँ वर्ष २०७२ को आगमनको १२ औं दिन शनिबार। परम्परा अनुसारको कडा र खरो मानिने शनिबार आज त्यही रुपमा प्रस्तुत भयो। धुम्
नयाँ वर्ष २०७२ को आगमनको १२ औं दिन शनिबार। परम्परा अनुसारको कडा र खरो मानिने शनिबार आज त्यही रुपमा प्रस्तुत भयो। धुम्म परेको बिहानको मौसम विस्तारै खुलेको थियो।
पूर्वान्हको अवस्थालाई पारिलो नै मान्नुपर्छ। म बिहानै उठेको थिएँ। नौ बजेदेखि बसुन्धरास्थित दियालो फूडल्यान्डमा नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले नेपालको विकास नीतिबारे आयोजना गरेको गोष्ठीमा सहभागी हुन जानु थियो।
घरमा एक सामान्य विषयमा एकाबिहानै ठाकठूक परेको थियो। वास्तवमा मुड ठीक थिएन। एक त अनपेक्षित मौसम अर्को ‘गरम मुड’। मुख खुम्च्याउँदै घरबाट बाहिरिएको थिएँ। गोष्ठीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख रामचन्द्र पौडेल, अर्थमन्त्री डा. रामशरण महत, मन्त्रीहरु डा. मिनेन्द्र रिजाल, नरहरि आचार्य, महेश आचार्य, एनपी साउदलगायत नेताहरु सहभागी थिए।
पार्टी सभापति सुशील कोइरालाबाहेक (कोइराला विदेशमा रहेकाले) करिब–करिब कांग्रेसका सबैजसो शीर्ष नेताको उपस्थिति रहेको कार्यक्रममा योजना आयोगका उपाध्यक्ष, योजना आयोगका सदस्य तथा अधिकारीहरु लगायतका विज्ञ पनि उपस्थित थिए। पूर्वप्रधानमन्त्री देउवाबाट सम्बोधन भइसकेको थियो। डा. महतको प्रस्तुतिलगत्तै उद्घाटन कार्यक्रम समापनको अवस्थामा थियो।
अब सम्बोधनको पालो प्रतिष्ठान प्रमुख पौडेलको थियो। पौडेलको सम्बोधनपछि भोजनको कार्यक्रम तय गरिएको बताए। तर अचानक कार्यक्रममा एउटा विध्नले प्रवेश पायो। ११ बजेर ५६ मिनेट, कार्यक्रम सञ्चालक मधु आचार्यले पौडेललाई आमन्त्रण गर्न ड्यासमा चढेका मात्र के थिए सभाकक्ष हल्लिन थाल्यो। टिनको छानो एक्कासी गडगडाउन थाल्यो। सहभागीहरु भागाभाग। धेरैको मुखबाट समवेत् स्वर सुनियो-भुइँचालो भूकम्प।
म ढोकानजिकै सांसद गगन थापासँगै बसेको थिएँ। सभाकक्षबाट हतारमा बहिरिनेमध्ये म पहिलो पंक्तिमा थिएँ। बाहिर त निस्किएँ तर आफूलाई अड्याउन सकिनँ। भुइँमा थचक्कै बसेँ। को कहाँ गए? कसरी बाहिरिए? केही थाहा भएन। त्यो दिन कार्यक्रमको ¥यापोर्टिङ (प्रतिवेदक)को जिम्मेवारी हामी (म, विनोद न्यौपाने, अनिरुद्र न्यौपाने, सुरज भट्टराई र नारायण अर्याल) ले लिएका थियौं।
बडो विचित्रको आवाजका साथ भुइँ हल्लिइरहेको थियो। आफूलाई घडी हेर्ने होस् नै कहाँ भयो र। त्यहाँ उपस्थित अन्यका अनुसार पहिलो धक्काले पुरै ५८ सेकेण्ड हल्लायो। यो धक्का रोकिएको मात्र के थियो दोस्रो धक्का पनि अनुभव गरियो। मैले प्रतिवेदक साथीहरुको खोजी गर्न थालेँ। सबै त्यहीँ थिए। नारायणको खुट्टामा चोट लागेको रहेछ। त्यसपछि उठेर चारैतिर हेरेँ नेता लगायत कार्यक्रमका सबै सहभागी सुरक्षित रहेको पाएँ। त्यहाँ उपस्थित सबैलाई सकुशल देख्दा मन एक किसिमले ढुक्क भयो। मनमा अचानक एउटा सोच आयो, हे भगवान, छेउका कुनै घर ढलेको भए के हुन्थ्यो?
कांग्रेसको नेतृत्वपंक्ति त सबै नै यहीँ छन्। त्यसैबेला म नजिकै आई उपसभापति पौडेलले भूकम्पको प्रभावको जानकारी गराउँदै कार्यक्रम स्थगनको जानकारी गराएका थिए। पौडेलको सम्बोधन पश्चात भोजनको कार्यक्रम तय गरिएको थियो तर पौडेलको सम्बोधन नै हुन पाएन। खान ठीक पारिएको भोजन ग्रहण गर्ने अवस्था रहेन। जो जहाँ थिए अनुहारमा स्पष्ट हतास-भाव अनुभव गर्न सकिन्थ्यो । कम्पनको त्यो ५८ सेकेण्डको समय त्यहाँ उपस्थिति करिव दुई सय जनाले आफ्नै किसिमले अनुभव गरे। मृत्युसँगको साक्षात्कारको पीडाबोध शायद सबैको समान थियो।
ढल्यो धरहरा
त्यहीँ रहँदा थाहा भयो, धरहरा ढलेछ। खबरहरु आउन थाले, भक्तपुर क्षेत्र पनि तवाह भएछ। बसन्तपुर पनि ध्वस्त। साँखु-खोकना पनि क्षतिग्रस्त। लोकन्थली-कौशलटार सडकमा धाँजा फाट्यो। काठमाडौंको न्वारन गृह-काष्ठमण्डप भुइँमा पछारिएको पनि त्यहीँ थाहा भयो।
उपत्यका शहरसँगै गोरखा, धादिङ, लमजुङ, दोलखा, नुवाकोट र सिन्धुपाल्चोक सर्वाधिक प्रभावित हुने सम्भावना रहेको जानकारी पनि त्यहीँ प्रशारित भयो। जतिजति समय बित्दै गयो विध्वंशका समाचारहरु थपिन थाले। शक्तिशाली भूकम्प गएको र यसले वितण्डा मच्चाएको अनुमान त प्रारम्भमै भइसकेको थियो तर यसको आगमन प्रलयकै रुपमा भएको यकिन भने अलि पछिमात्र हुन सक्यो।
मन्त्री र नेताहरु त्यहीँ भएकाले भूकम्पसम्बन्धी त्यहाँ आउने जानकारी आधिकारिक नै हुन्थे। खबर आयो, सात दशमलव नौ रिक्टर स्केलको ( ७.१, ७.४, ७.६, ७.८, ८.१ रिक्टरजस्ता अनेकौं अनुमानित कुरा पनि आए) भूइँचालो गएको रहेछ। कसैको मुखबाट तत्काल वाक्य फुटेन। सबैको अनुहारमा जड-शून्यको भाव। त्यहीँ अनुमान गरियो मृत्यु हुनेको संख्या पाँच हजार नाघ्न सक्छ। घाइते दश हजार बढी हुन सक्छन्।
यसै सन्दर्भमा अर्को महत्वपूर्ण कुरा, दूर सञ्चार सेवाप्रदायकहरुले आफ्नो सेवालाई निरन्तरता प्रदान गरेका थिए। त्यस क्षण हामी रहेको बसुन्धराको त्यो दियालो फूडल्याण्डमा उपस्थित सबैले मोबाइलबाट आफ्नो घरपरिवारबारे जानकारी लिनेदिने काम भइरहेको थियो।
दुर्घटनामा छोरी
टेलिफोन सेवा अवरुद्ध थिएन। तर सेवा प्रभावित भने भइसकेको थियो। निकै पटकको प्रयासपछि मैले जनकपुर, राजविराज र बाल्कोटमा सम्पर्क गर्न सकेँ।
जनकपुरमा आमा-बुवा र भाइको परिवार। राजविराजमा ससुराली परिवार र बाल्कोटमा मेरी पत्नी र केटाकेटी। जनकपुर र राजविराजमा सम्पर्क गर्दा थाहा भयो भूकम्पको तीव्रता त साँच्चै भयावह रहेछ। ती ठाउँहरुमा पनि कम्पनको तीव्रता राम्रै अनुभव गरिएको रहेछ। तर ती दुवै ठाउँमा सबै ठीकै थियो। तुलनात्मकरुपमा मलाई बाल्कोटकै समाचार प्राप्त गर्न ढिलाइ भएको थियो।
शायद दूरसञ्चारको नेटवर्कमा त्यसबेला उपयोगको सबैभन्दा तीव्र चाप उपत्यकामै परेर पनि हुन सक्छ। उपत्यकामा रहेका आफन्तसँगको सम्पर्क तत्काल असहज अनुभव भएको थियो। जे होस्, बाल्कोट घरमा पनि सम्पर्क भयो। सबै त ठीकै थियो तर छोरी कृतिकासँग कसैको सम्पर्क हुन सकेको थिएन। उनी परीक्षा प्रयोजनका लागि बुद्धनगरस्थित क्याम्पस गएकी थिइन्।
बाल्कोट सम्पर्क गर्दा घरका मानिस आत्तिन सक्ने भयले मैले झुठ बोलेँ- कृतिकासँग म सम्पर्कमा छु, तिमीहरु चिन्ता नलिनू। तर खासमा उनीसँग सम्पर्क हुन सकिरहेको थिएन। निकै बेरपछि थाहा भयो, पाँचौ तलाको परीक्षा कक्षबाट बाहिरिँदा उनको खुट्टामा चोट लागेछ। र, तल भुइँमा झरेपछि बेहोस भइछन्। उनलाई ह्याम्स हस्पिटल लगिएको रहेछ। मलाई औडाहा भयो। म हस्पिटल पुग्नु जरुरी थियो। तर जाने कसरी? बाहिर सार्वजनिक यातायातका कुनै साधन चलेका थिएनन्।
कार्यक्रमस्थलमा उपस्थित केहीलाई गाडीका लागि भने तर तिनले असमर्थता व्यक्त गरे। गाडी हुनेले मेरो संवेदनशीलता बुझेनन्। गाडी नहुनेले कुरा सुनेर सहानुभूति व्यक्त गरे। मानिसका व्यवहार देखेर क्षणिक दुःख लाग्यो, तर मैले तत्काल आफूलाई नियन्त्रित गरेँ- के दुःख मलाई मात्र परेको छ र?
आफैँलाई प्रश्न गरेँ। सहयोग गर्नेको कमी हुँदैन भन्ने सुनेको थिएँ। सत्य चरितार्थ गरे, डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) का अध्यक्ष गोपालकृष्ण घिमिरेले। संकटको घडीमा प्राप्त सहयोगका लागि उनीप्रति म सदैव आभारी रहनेछु। आफ्नो सानो छोरो घरमा तनावमा रहेको जानकारी हुँदाहुँदै पनि घिमिरेले मलाई प्राथमिकतामा राखे र गाडीमा अस्पताल लगिदिन तयार भए। घिमिरेको यो प्रस्तावबाट म त्यसक्षण कति खुसी भएको थिएँ भन्ने अनुभूतिको व्याख्या असम्भव छ।
उनको गाडीमा म र नारायण अर्याल कार्यक्रमस्थलबाट ह्याम्सका लागि प्रस्थान गर्यौं। बल्ल भूकम्पको विध्वंशकारी स्वरुप दृष्टिगोचर हुन थाल्यो। फूडल्याण्डको पर्खालभित्रबाट बाहिरिएपछि पो वल्ल भूकम्प-प्रभावको पीडा-अनुभूति हुन थाल्यो।
घिमिरेजीको गाडी चढ्नु अघिसम्म हामीले भूकम्प-प्रभावबारेमा जे जति अनुमान गरेका थियाैं, ती निकै न्यून थिए। बसुन्धरा, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, केशरमहल, दरबारमार्ग, त्रिचन्द्र, रत्नपार्क, बागबजार, भृकुटीमण्डप, पद्मोदय, थापाथली, बबरमहल हुँदै बुद्धनगर पुगुन्जेल सबैतिर दृष्टिगोचर भएका प्रलयको शिव—ताण्डवका भिषण पदचापका अनुभूति असहजमात्र थिएनन् भयानक पीडादायी र कष्टकर पनि थिए।
सडकमा मानिसको भीड, मानव-आवाजको कोलाहल अनि चिच्याहट दुःखदायी थिए। धुलो धुलो हुन पुगेका भौतिक संरचनाले अनिश्चित भविष्य निर्माणको दायित्व थपिरहेका थिए। गाडीमा हामी यिनै सम्हालिन सक्नुका पीडादायक विषयबारे कुरा गरिरहेका थियौं। नब्बेको भूकम्प त हामीले सुनेका मात्र थियौं।
तर ८२ वर्षपछिको बहत्तरको यो भूकम्पका हामी साक्षी बन्न पुग्यौं। साँच्चै सभ्यताहरु कसरी धुलाम्मे हुँदा रहेछन्? कसरी प्रकृतिसामू विश्व विजयी मानव निरीह बन्दो रहेछ? र, कसरी संकटमा नेपाली समाज एकाकार हुन सक्दो रहेछ? हामी कठोर अनुभूति सँगालिरहेका थियौं।
शिविरको बास
म र नारायण ह्याम्स पुग्यौं। छोरीलाई हेर्यौं। बाहिर परिसरमा थुप्रै ‘बेड’हरु असरल्ल पसारिएका थिए। सबैमा भूकम्पपीडीत र तिनको रोदन अनि चिच्याहट। त्यस्तै एउटा बेडमा स्लाइन चढिरहेको अवस्थामा छोरी कृतिकालाई भेटें।
कृतिकाका साथीहरु भावना र ज्ञानु पनि थिए। म एकछिन अस्पतालमै बस्नुपर्ने भयो। नारायण त्यहाँबाट प्रस्थान गरे। चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेकी मेरी छोरीको स्वास्थ्य स्थिति यकिन गर्न म त्यहाँ निकैबेर बसेँ। चिकित्सकको सल्लाहपछि छोरीलाई घर लिएर जानुपर्ने थियो तर सवारीसाधन उपलब्ध हुन सकिरहेको थिएन।
एउटा ट्याक्सी बडो मुश्किलले पाइयो। हामी चारै जना, म, कृतिका, भावना र ज्ञानु, ट्याक्सीमा बस्यौं र बाल्कोटतर्फ प्रस्थान गर्यौं। बाटोमा परेका नयाँ बानेश्वर, शान्तिनगर चोक, तीनकुने, कोटेश्वर, लोकन्थली र कौशलटारका दृश्य उदेकलाग्दा थिए। घरहरु ढल्न नसकेर क्षतिग्रस्त अवस्थामा ठडिएका। तीनकुनेस्थित कान्तिपुरको कार्यालय पनि क्षतिग्रस्त भएको सुनियो। सडक ठाउँ–ठाउँमा धाँजा फाटेर आवागमनका लागि अनुपयुक्त। ट्याक्सी जडिबुटीभन्दा अगाडि बढेन-ट्राफिकले रोक्यो। त्यहाँबाट बिरामी छोरीलाई लिएर पैदलै बालकोटसम्म आइयो।
लोकन्थली-कौशलटारको क्षतिग्रस्त सडकले सम्भावित विनासको स्पष्ट संकेत गरिरहेको थियो। यस्तै कहालीलाग्दा दृश्य हेर्दै वर्तमान र भविष्यबारे सोच्दै घर पुगियो। घर पुग्दा करिब चार बजिसकेको थियो। मेरा घरपरिवारसँगै सबै टोलवासी टोलकै खाली ठाउँमा शिविर खडा गरी बसिसकेका रहेछन्। त्यसबेलासम्म मेरो टोल लगायत उपत्यकामा हजारौंको संख्यामा टेन्ट, त्रिपाल र प्लास्टिकका शिविर ठडिइसकेको जानकारी मलाई उपलब्ध थियो।
त्यहाँ टेन्ट र शिविरको उपस्थिति मलाई नौलो लागेन। हामी बाबु छोरी सोझै स्थानीयको सक्रियतामा ठडिएको मेरो घर पछाडिको शिविरमा गएर मिसियौं। टाढैबाट म मेरो घरको पछाडिको भाग नियालिरहेको थिएँ। मेरो घर ठीकै अवस्थामा रहे पनि कसैले पनि हेर्न जान भने दिएनन्। मैले त्यहाँ उपस्थित सबैलाई शहर र कृतिकाबारे बेलिविस्तार लगाएँ।
यतिञ्जेल म आफ्नै समस्यामा रुमल्लिइरहेकाले समाचारबारे खासै अद्यावधिक हुन सकेको थिइनँ। समाचारबारे बुझ्न खोज्दा त हृदयविदारक अवस्था पो सामुन्ने आयो। यो भुइँचालोले त महाप्रलय, महाविपत्ति, महाशंकट, महाविनाशकारी सबैखाले स्वरुप एकैपटक ग्रहण गरिसकेको रहेछ। मृत्यु र घाइतेहरुको संख्या निमिषमै अनपेक्षितरुपमा बढिरहेको थियो। भूकम्पका साना–साना धक्काको अनुभव लगातार भइरहेको थियो र छ।
साँझ क्रमशः छिप्पिँदै थियो तर कसैको पनि आँखामा निन्द्राको संकेतसम्म थिएन। स्थानीय पसलहरु बन्द थिए। घरमा जाने आँट कसैलाई भइरहेको थिएन। घरमा खाद्य सामग्री उपलब्ध हुँदाहुँदै पनि म बसेको शिविरका अधिकांश व्यक्ति भोकै त्यहाँ पसारिएका थिए। म हिमालय टेलिभिजनमा कार्यरत रहे पनि त्यो दिन अफिस जान सकिँन। हामीले टेलिफोनमै सल्लाह गरेर प्रशारण रोक्ने निर्णय गर्यौं।