भर्चुअल कक्षाबाट घरमै बसेर एसईईको तयारी
भक्तपुर, वैशाख ८ : कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरका विद्यालय बन्द छन्। झन २७ दिनदेखिको लकडाउन
भक्तपुर, वैशाख ८ : कोरोना भाइरसको संक्रमणबाट जोगिन देशभरका विद्यालय बन्द छन्। झन २७ दिनदेखिको लकडाउनले शिक्षक र विद्यार्थी घरमै छन्।
गत चैतमा तय गरिएको एसईई परीक्षा कहिले सञ्चालन हुने हो, एकीन छैन। एसईई परीक्षा दिन परीक्षा केन्द्र पुगेका विद्यार्थी अघिल्लो दिन स्थगित भएपछि निरास भएर घर फर्किएका थिए। अझै पनि परीक्षाको तयारी गर्न सकेका छैनन्।
यस्तोवेला भक्तपुरको भक्तपुर नगरपालिकाले भने भर्चुअल कक्षाबाट एसईईका विद्यार्थीको पढाइ सुरु गरेको छ। नगरभित्रका सबै विद्यार्थी भर्चुअल कक्षाबाट एसईईको तयारीमा जुटेका छन्।
भक्तपुर नगरभित्रका विद्यार्थीलाई लक्षित गरेर स्थानीय भादगाउँ टिभीमार्फत भर्चुअल कक्षा सुरु भएको हो।
यसका लागि भक्तपुरका मेयर सुनिल प्रजापतीको अध्यक्षतामा बसेको नगर शिक्षा समितिको बैठकले कोरोना संक्रमणका कारण नेपाल सरकारले गरेको लकडाउनको समयलाई सदुपयोग गर्न भक्तपुर नगरपालिकाको प्रायोजनमा एसईई लक्षित भर्चुअल कक्षा भादगाउँ टिभीमार्फत प्रसारण गर्ने निर्णय गरेको थियो।
बैठकले कक्षा प्रसारणको लागि आवश्यक व्यवस्था नगर शिक्षा शाखालाई जिम्मेवारी दिने निर्णय गरेको थियो। त्यहि अनुसार, शिक्षा शाखाले भर्चुअल कक्षा सञ्चालन गरेको हो।
शिक्षकहरुले भादगाउँ टेलिभिजनको स्टुडियोमा पढाउँछन्। त्यसलाई रिकर्ड गरेर टेलिभिजनमा प्रसारण गरिन्छ। विद्यार्थीले घरमै बसेर पढाइ गर्न थालेका छन्।
अहिले एसईई परीक्षाको लागि अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिक शिक्षालगायत सबै अनिवार्य विषयको पढाइ हुन थालेको हो।