कोरोनाभाइरस परीक्षणका लागि आरडीटी टेष्ट कत्तिको उपयुक्त?
काठमाडौं, बैशाख ५ : कोरोनाभाइरसको संक्रमण नेपालमा बढ्दै गएपछि सरकारले चीनबाट र्यापिड डाईग्
काठमाडौं, बैशाख ५ : कोरोनाभाइरसको संक्रमण नेपालमा बढ्दै गएपछि सरकारले चीनबाट र्यापिड डाईग्नोस्टिक टेष्ट (आरडीटी) खरिद गरेको छ। जसबाट हाल धेरै ठाउँमा कोरोनाभाइरसको परीक्षण भइरहेको छ। तर चिकित्सकहरु भने यो उपकरण कोरोना भाइरसकै लागि उपयुक्त नरहेको दावी गर्दै आएका छन्।
सरुवा रोग विशेषज्ञ तथा टेकु अस्पतालका चिकित्सक डा. शेरबहादुर पुन उक्त किटले मानिसको शरीरमा रहेको रोग प्रतिरोधात्मक क्षमताको मात्र परीक्षण गर्ने भएको कारण कोरोनाभाइरसको परीक्षणको लागि उपयुक्त नहुने बताउँछन् । ‘कतिपय अवस्थामा आरडीटीको पत्ता लगाउने क्षमता कमजोर हुने भएकाले पीसीआर जस्तो यो भरपर्दो हुँदैन’ पुन भन्छन्, ‘आरडीटीले रोक प्रतिरोधात्मक क्षमता मात्रै परीक्षण गर्ने भएकाले यसले कोरोनाभाइरस परीक्षण गरेको मान्न सकिदैन।’
आरडीटी एक प्रकारको यस्तो उपकरण हो जसले एकै साथ धेरै मानिसको समुहलाई परीक्षण गर्ने गरिन्छ। पोलिमरेज चेन रियक्सन (पिसिआर)बाट मानिसको थ्रोट स्वाबको परीक्षण गरिन्छ भने आरडीटी रगतको परीक्षणबाट गरिन्छ । आरडीटी उपकरणले कतिपय अवस्थामा नेगेटिभलाई पोजिटिभ र पोजिटिभलाई नेगेटिभ समेत देखाउन सक्ने पुनको भनाई छ। ‘कतिपय देशहरुले आरडीटीको कमजोरीहरुलाई औंल्याई प्रयोग नगर्ने निर्णय समेत गरेका छन्’ पुनले भने।
नेपालमा सुरुमा आरडीटी नल्याउने निर्णय पनि भएको थियो। तर पछि एक लाख आरडीटी उपकरण ल्याएपछि धेरै विवाद समेत आएका थिए।
उक्त उपकरण विभिन्न जिल्लाहरुमा पठाइएको छ। जसमध्ये बाग्लुङमा एक महिलामा आरडीटी परीक्षण गर्दा पोजिटिभ देखिएपनि पछि पीसीआर परीक्षणमा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको थियो। यसबाट पनि नेपालको सन्दर्भमा यो उपकरण त्यत्ति उपयुक्त नभएको पुष्टि भएको पुनको दावी छ।
आरडीटी परीक्षणबाटै वैशाख १ गते पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका तीन जनामा कोरोना पोजेटिभ पाइएको थियो। उनीहरुको पीसीआर परीक्षण गर्दा दुई जनालाई मात्र कोरोना पोजेटिभ रहेको पाइएको हो।
आरडिटिको प्रयोगबाट परीक्षण गरेपनि कोरोना भाइरसको शही परीक्षणको लागि पीसीआर नै नै गर्नु पर्ने डा. पुनले बताए। उनका अनुसार हालसम्म नेपालमा पीसीआरको प्रयोग परी पर्याप्त परीक्षण गरिएका छैनन्। उनले भने ‘आरडीटीमा मात्र भर पर्नु हुँदैन, यसले पछि कोरोना भाइरसको खतरा अझ बढाउन सक्छ।’
पछिल्लो तथ्यांक अनुसार नेपालमा मात्र हालसम्म सात हजार दुई सय ४० जनाको पीसीआरमार्फत कोरोना भाइरस परीक्षण भएको छ । जस मध्ये १६ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ। आरडीटी रिपोर्टका आधारमा कोरोना संक्रमण सम्भावित एक सय तीन जनालाई आइसोलेसनमा राखिएको छ।
नेपालमा पीसीआरबाट मात्रै कोरोना भाइरसको परीक्षण गर्दा निकै समय लाग्ने भएको कारण चीनबाट ल्याइएको आरडीटी किटबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। साथै वैशाख १ गतदेखि गरिएको आरडीटी परीक्षणबाट पोजेटिभ देखिएको दुई जनामा पीसीआरबाट थप परीक्षण गर्दा पोजेटिभ देखिएको हो। तसर्थ आरडीटी परीक्षणलाई निरन्तरता दिँदै चैत महिनामा बिदेशबाट फर्किएका सबै व्यक्तिको आरडीटी विधिबाट नै परीक्षण गरिने मन्त्रालयले जनाएको छ।