सनसिटीको कोरोना संक्रमित परिवारकी महिलाको रिपोर्ट नेगेटिभ
काठमाडौं, वैशाख ३ : काठमाडाैंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका संक

काठमाडौं, वैशाख ३ : काठमाडाैंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका संक्रमित परिवारकी एक महिलाको कोरोना भाइरस परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पीसीआर प्रविधिबाट पुनः परीक्षण गर्दा ती महिलाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए।
सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीन जनाको र्यापिड टेष्टमा पोजेटिभ देखिएपछि ललितपुरको पाटन अस्पतालमा भर्ना गरिएको थियो। तीमध्ये दुई जनाको रिपार्ट मंगलबार पोजेटिभ आएको थियो।
चैत ५ गते बेलायतबाट नेपाल आएका परिवारका दुई जनामा कोरोनाको संक्रमण देखिएपछि बुधबारदेखि अपार्टमेन्टमा र्यापिड टेष्ट सुरु गरिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अपार्टमेन्टका २९८ जनाको र्यापिड टेष्ट गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको छ।
यस्तैक, संक्रमित परिवारसँगै अपार्टमेन्टमा बस्दै आएका दुई जना कामदारको पनि र्यापिड टेष्टको रिपोर्ट नेगेटिभ आएको प्रवक्ता देवकोटाले जानकारी दिए। उनका अनुसार पिसिआर प्रविधिबाट परीक्षण गर्न ती दुई जनाको स्वाब टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको छ।











