Kathmandu Press

सनसिटीका दुई जनामा कोरोना भएको पुष्टि

काठमाडौं, वैशाख २ : पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण भएको पुष्टि

सनसिटीका दुई जनामा कोरोना भएको पुष्टि
रिवाज राई

काठमाडौं, वैशाख २ : पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ।

गत चैतमा लन्डनबाट आएका तीन जनामा आरडीटी परीक्षणमा कोरोनाको एन्टीबडी देखिएपछि सोमबार पाटन अस्पताल लगिएको थियो। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो।

आज आएको रिपोर्टमा दुई जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए। उनका अनुसार, एक जनाको रिपोर्ट आउन बाँकी छ।

सनसिटीमा बस्ने तीन जना चैत ५ गते लन्डनबाट आएका थिए। उनीहरु सेल्फ क्वारेन्टाइनमा बस्दै आएका थिए। त्यसलगत्तै लकडाउन भएपनि यताउता नगएको उनीहरुले बताएका छन्।

सोमबार मनोहरा नगरपालिकाले विदेशबाट आएकाहरुको  र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्न सुरु गरेको थियो। जसमा उनीहरु पनि परीक्षण गर्न आएका थिए।

परीक्षणका क्रममा उनीहरुमा कोरोनाको एन्टीबडी देखिएको थियो। त्यसपछि सोमबार साँझ नै तीनै जना आमा, छोरा र बुहारीलाई पाटन अस्पताल लगिएको थियो।

त्यहाँ पनि संक्रमण देखिएपछि थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा लगिएको थियो। आज प्रयोगशालामा परीक्षणमा दुई जनामा कोरोना देखिएको हो।
एक जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सनसिटी अपार्टमेन्टमा करिब पाँच सय जना बस्दै आएका छन्। सोमबार साँझदेखि नै प्रहरीले सनसिटीलाई शिलबन्दी गरेको छ। अब उनीहरु सबैको परीक्षण गरिने भएको छ।  

 

 

प्रकाशित मिति: १२:४९ बजे, मंगलबार, वैशाख २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्