कोरोनाविरुद्ध पाँचखालका मेयर खरेलको १३ उदाहरणीय तयारी
काभ्रे चैत २९ : देशभरमै कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरक

काभ्रे चैत २९ : देशभरमै कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण न्यूनीकरण तथा रोकथामका लागि सरकारको तयारी फितलो भयो भन्ने आवाज उठेको छ । तर, काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको तयारी भने उदाहरणीय लाग्छ । पाँचखालले त्यस्तो कुनै अत्याधुनिक तयारी गरेको त होइन, तर आफूसँग जे छ, तिनै स्रोत–साधनलाई लिएर विवेकपूर्ण तयारी गरेको देखिन्छ।

पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले जानकारी दिएअनुसार, पाँचखालले कोरोनाभाइरस संक्रमण न्यूनीकरण तथा रोकथामका लागि निम्न तयारी गरेको छ ।
१) एक वडाबाट अर्को वडामा जान रोक
नगरको ६२औँ कार्यपालिका बैठकले तरकारी, दूध, औषधि र खेतबारीमा काम गर्ने कृषकबाहेक अरुलाई एक वडाबाट अर्को वडामा जान रोक लगाएको छ ।
२) स्वास्थ्यकर्मीलाई २५ लाख क्षतिपूर्ति दिइने
नगरपालिका प्रमुख खरेल भन्छन्, ‘कोरोना भाइरस नियन्त्रण, रोकथाम साथै सरसफाइमा नगरपालिकाबाट खटिने जनप्रतिनिधि, स्थायी, अस्थायी तथा करारका कर्मचारीको कोरोनाको कारण मृत्यु भएमा निजको परिवारलाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरिएको छ ।’
.jpg)
३) मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्रीमा रोक
पाँचखाल नगरभित्र मदिरा तथा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लगाइएको छ । प्रमुख खरेल भन्छन्, ‘मदिरा तथा सुर्तीजन्य पदार्थ गुट्खा, चुरोट र खैनी आदिको बिक्री हुने क्षेत्रमा भीडभाड हुने भएकाले यी वस्तुको बिक्री–वितरणमा रोक लगाइएको हो । नगरभित्र पसलहरुको व्यावसायिक जटिलता र सुरक्षालाई ध्यानमा राख्दै हप्तामा दुई दिन सोमबार र शुक्रबार बिहान ६ देखि १० बजेसम्म मात्र खाद्यान्न पसल खोल्ने गरिएको छ । तर, औषधि, भेटेरिनरी तथा बिउ–विजनका पसल २४सै घण्टा खोल्न पाइने व्यवस्था गरिएको छ ।’
उनका अनुसार, अत्यावश्यक वस्तुको पसल निश्चित दूरी कायम गरेर खोल्न निर्देशन दिएको छ । अन्य पसलहरु अर्काे सूचना नआएसम्म बन्द गर्ने आदेश दिइएको छ ।
४) स्वास्थ्य केन्द्रमा ४५ पिपिई वितरण
नगरभित्रका १३ वटा स्वास्थ्य केन्द्रका ४५ कर्मचारीलाई पिपिई वितरण गरिएको छ । साथै निजी अस्पताल पनि कोरोना सम्बन्धी जाँच गर्न तयार भएमा १० वटा पिपिई स्टक राखिएको छ ।
प्रमुख खरेल भन्छन्, ‘अस्पतालमा काम गर्ने, डाक्टर नर्स र चारवटा एम्बुलेन्स चालकलाई पनि पिपिई वितरण गरिएको छ । निजी अस्पतालहरूसँग पनि कोरोना सम्बन्धी जाँच गर्न छलफल अगाडि बढाइएको छ ।’
उनका अनुसार कोरोना भाइरस लक्षण देखापरे एम्बुलेन्समा सुरक्षित रूपमा धुलिखेल अस्पताल लगेर जाँच गर्ने व्यवस्था गरिएको छ । त्यस्तै टेकु लैजानुपरेमा उचित व्यवस्था गरिएको उनको भनाइ छ ।
५) अत्यावश्यक औषधि घर–घरमा
पाँचखाल नगरवासीका लागि अत्यावश्यक औषधि घर–घरमा पु¥याइदिने व्यवस्था गरिएको छ । हालसम्म १२ जनालाई औषधि घर–घरमा पु¥याएको नगर प्रमुख बताउँछन् ।
कतिपय वृद्धवृद्धाले नियमित रुपमा औषधि सेवन गर्ने गरेका छन् । उनीहरुको समस्यालाई ध्यानमा राखेर औषधि सेवा सुरु गरिएको नगर प्रमुखको भनाइ छ ।
औषधि व्यवस्थापनका लागि नगरपालिकाले स्वास्थ्य सेवा सहायता कक्षको स्थापना गरेको छ । लक–डाउनको अवधिमा अत्यावश्यक औषधि व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको हो।
.jpg)
नगर प्रमुख खरेल भन्छन्, ‘कतिपयले औषधि सकिएको गुनासो गरेपछि औषधि घर–घरमा पु¥याउने गरी सहायता कक्षा स्थापना गरेका हौं । औषधि आवश्यक छ भनी खबर गरेमा नगरपालिकाले औषधि काठमाडौंबाट पनि मगाउँछ।’
६) नगरभित्र भट्टीमा छड्के जाँच
लक–डाउनका बेला भट्टी पसलमा मानिसको भीड लागेको गुनासो आएपछि नगरपालिकाकाले छड्के जाँच थालेको छ । बजार अनुगमनका क्रममा भट्टी पसलहरु निर्बाध रूपमा खुलेको देखेपछि तत्काल बन्द गराउन आदेश दिँदै छड्के जाँचलाई तीव्रता दिइएको हो।
होटल सञ्चालन गरेको देखेमा पक्राउ गर्न प्रहरी प्रशासनलाई आग्रह गरिएको छ । नगर प्रमुख भन्छन्, ‘लक–डाउनको अर्थ नबुझी भट्टी पसल खोलेर हुलहुज्जत गरेपछि छड्के जाँच थालेका हौँ । भट्टी पसल खोलेको जानकारी आउनासाथ तत्काल एक्सन लिन सुरक्षा निकायलाई भनेका छौँ ।’
७) सचेतना जगाउँदै गाउँगाउँमा
लक–डाउनका अवज्ञा गरेको गुनासो आउन थालेपछि नगरपालिका सचेतनाका लागि जान थालेको छ।
नगर प्रमुख भन्छन्, ‘नगरपालिकाको १३ वटै वडामा कोरोना भाइरसका बारेमा जनचेतना जगाउन हिँडिरहेका छौँ । नगरले एक वडावाट अर्को वडामा जान रोक लगाए पनि केही स्थानहरुमा लक–डाउनको पालना नगरेको गुनासो आएपछि टोलटोलमा पुगेर सचेतना दिएको हो ।’

८) ढुवानीमा सेवामा सहजता
पाँचखालको तरकारी उत्पादन गर्ने किसानलाई ढुवानी सेवा सहज बनाइएको छ ।
आलु खन्ने बेला भएकाले पाँचखालका किसानलाई हौसला दिन नगरपालिकाले तरकारी, दूध, खाद्यान्नको ढुवानी गर्ने सवारी–साधनलाई छुट्टै पासको व्यवस्थापन गरेको छ । जिल्ला प्रहरी काभ्रेसँग छलफल गरी पाँचखालका किसानलाई मर्का नपर्ने गरी ढुवानी सेवा उपलब्ध गराइएको नगरप्रमखु खरेलको भनाइ छ ।
९) सेनिटाइजर र मास्क वितरण
नगरपालिका वडा कार्यालय लगायत मानिसको आवतजावत हुने विभिन्न कार्यालय र संघ–सस्थामा मास्क र सेनिटाइजर वितरण गरिएको नगर प्रमुख खरेलको भनाइ छ ।
प्रत्येक वडाको वडा कार्यालय, दुग्ध संस्थान, स्वास्थ्य चौकी लगायत मानिसको भीडभाड हुने कार्यालयमा मास्क, सेनिटाइजर लगायत साबुन पानीको व्यवस्था गरिएको छ।
१०) विदेशबाट आएका ४० व्यक्ति सेल्फ क्वारेन्टाइनमा
अन्य देशबाट आएका व्यक्तिको विवरण तयार गरी सेल्फ क्वारेन्टाइनमा विशेष निगरानीको साथ राखिएको छ ।
नगरपालिकाको अनुसार कोरोना भाइरसको लक्षण नदेखिएका कारण उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा राखिएको हो । नगरपालिकाभित्र बसोबास गर्ने कसैलाई पनि कोरोनाको लक्षण देखिएको छैन ।
११) १५ सय परिवारलाई राहत वितरण
पाँचखाल नगरपालिकाभित्र सबै वडाको तथ्यांक संंकलन गर्दा १५ सय परिवारलाई राहत वितरण गनुपर्ने देखिएको नगर प्रमुख खरेलको भनाइ छ ।
उनका अनुसार, तत्कालका लागि ती परिवारलाई पाँच केजी चामल र एक केजी दाल वितरण गर्ने क्रम चलिरहेको छ । लक–डाउनको अवधि बढ्दै जाँदा राहत थप गर्दै जाने योजना रहेको उनले बताए ।
१२) क्वारेन्टाइनका लागि ५ बेड तयार
नगरपालिकाले क्वारेन्टाइनमा राख्नका लागि ५ वटा बेड तयार गरेको छ । नगर प्रमुखका अनुसार, कोरोनाको लक्षण देखापर्ना साथ क्वारेन्टाइनका लागि बेड बढाउन मिल्ने गरी तयारी भइरहेको छ । उनी भन्छन्, ‘नगरपालिका तयारी अवस्थामा बसेको छ ।’
१३) डिसइन्फेक्टेन्ट छर्किइयो
पाँचखाल नगरपालिकाले आफ्नो नगरमा कुनै पनि प्रकारको सरुवा रोग निर्मूलका लागि दमकलमार्फत विषादी छर्केको छ ।
नगर प्रमुख खरेलका अनुसार, दमकल जाने ठाउँमा दमकलबाट तथा दमकल नजाने ठाउँमा व्यक्तिहरुले बस्तीका टोल–टोलमा विषादी छर्केका छन् ।
नगर प्रमुख भन्छन्, ‘कोरोना भाइरस, डेंगु रोग साथै अन्य सरुवा रोग समेत नियन्त्रण गर्ने उद्देश्यले मंगलबारबाट विषादी छर्न थालिएको हो ।’













-(86)-1764936079.jpg)