Kathmandu Press

घरमै क्यानभास रंगाउँदै कलाकार

काठमाडौैं, चैत २७ : लकडाउनले सबै घरभित्रै थुनिएका छन्। कतिपय ‘वर्क फ्रम होम’मा अभ्यस्त ह

घरमै क्यानभास रंगाउँदै कलाकार

काठमाडौैं, चैत २७ : लकडाउनले सबै घरभित्रै थुनिएका छन्। कतिपय ‘वर्क फ्रम होम’मा अभ्यस्त हुँदै छन्। कलाकार के गरिरहेका छन्? घरभित्रै कसरी कलाकृति सिर्जना गरिरहेका छन्?

कलाकार संगी श्रेष्ठ लकडाउनपछि घरमै सिर्जना फुराउन तल्लिन छिन्। ‘सरुको केही समय पुस्तक पढेर, समाचार हेरेर बिताएँ,’ संगी भन्छिन्, ‘लकडाउन लम्बिएपछि भने यसै बस्नुहुँदैन भन्ने लाग्यो। अहिले दिनहरु क्यानभास अगाडि बसेरै बित्दैछन्।’

लकडाउनलाई सहज तरिकाले कटाइरहेकी उनी अन्तर मनका भावलाई मानविय संवेदानसँगै क्यानभासमा स्वरुप दिने प्रयास गरिरहेकी छन्। भिजिअल आर्टिस्ट संगी फुर्सद निकालेर आठ वर्षीय छोरी आश्रुतीलाई पनि क्यानभासतिर डोर्‍याउदैछिन्।

Hardik ivf

कोरोना भाइरसले मान्छेलाई अलगअलग बनाएको छ। लकडाउनपछि त मान्छे एक्लो हुँदै गएको महसुस गरिरहेका छन्। उनको सिर्जनामा भने फरकपन आएको छ। ‘मेरो कलामा जहिले एउटा मात्र मानिस आउथ्यो। तर, अहिले भने पहिलो पटक धेरै मानिसहरु पेन्टिङमा देखिन थालेका छन्,’ संगी भन्छिन्। उनको कलामन सबैलाई जोड्नतिर केन्द्रित छ।

कलाकार स्वभावैले एकान्तपन रुचाउँछन्। उनीहरुलाई सिर्जनामा रउमान एकाग्रता चाहिन्छन्। कलाकार सुन्दर लामा लकडाउनपछि सिर्जनामा केन्द्रित हुन समय लागेको बताउँछन्।

त्यसैले त उनले लकडाउनको सुरुआति समयमा खाना पकाउन सिके। लकडाउनले परिवारसँग समय व्यतित गर्न पाएको बताउँदै उनी भन्छन्, ‘आफैलाई नियाल्ने मोका पाएको महसुस भइरहेको छ।’

घरमै युट्युबमा हेरेर योग र शारीरिक व्यायाम गरिरहेका उनले लकडाउन लम्बिँदै गएपनि कलातिर पनि केन्द्रित गरिरहेका छन्। गत साता उनले दुइटा कविता पनि लेखे, बंगैचा र गुलाबी गिदि। यस समयमा घरमा बसेर रचिएका उनका कविताले दैनिक ज्यालादारीमा काम गर्ने मजदूरको पीडालाई ओकेलेको छ। त्यस्तै, दोस्रो कवितामा लकडानले गर्दा वसन्त ऋतुमा पनि खल्लोपन महसुस गरिएको आभास दिन्छ।

पर्फोमेन्स आर्टमा पनि व्यस्थ रहने उनी लकडाउन लम्बिएपछि भने ड्रइङमा व्यस्त रहन थालेका छन्। मानिसहरुमा कोरोनाको सचेतना अहिले पनि छैन । कोरानाले संसार नै त्रसित छ। पशुपंक्षीसमेत आहार पाइरहेका छैनन्। यहि परिस्थितिलाई कलामा उतारेका छन्, सुन्दरले।

चित्रकला नै आफ्नो जीवन सम्झने उनले ६० वटा कवितका पुस्तक संकलन गरेका छन्। ‘लकडाउन खुलेपछि तिनै कविताकृतिमा भएका कविताको भावलाई कलामा उतार्ने योजना बनाएको छु,’ उनी भन्छन्।

कलाकार सरिता डंगोलको दैनिकी क्याम्पसबाट सुरु हुन्थ्यो। क्याम्पस पढाएर फर्केपछि कम्युनिटी चिल्डे«न आर्ट ग्यालरीमा चित्रकला सिकाउने र विभिन्न कलाकारहरुको चित्रकलालाई संकलन गरेर प्रर्दशनीमा राख्ने काममा व्यस्त हुन्थिन्। अहिले भने उनको पनि दिनचर्या बदलिएको छ । ‘पूरै दिन घरमै बित्छ, लकडाउन छ बाहिर जानु पनि भएन,’ उनी भन्छिन्।

छोराछोरीसँग समय व्यतित गरिरहेकी उनी यति लामो सयम घरमा बस्दा छुट्टै अनुभव गरेको बताउँछिन्। संधै रङ्ग र क्यानभासमा रमाउने उनको मनलाई लकडाउनले पनि लामोसम्म चुपचाप रहन दिएन्। घरमैघरमै सिर्जना कोर्न थालेकी छन्।

उनले अघिल्लो साता जापानिज पेपरमा वाटर कलरले चित्रकला तयार पारेकी छन्। ‘रचनात्मक काम गर्न ग्यालरीमा जस्तो सहज घरमा त हँुदैन, तर पनि नयाँनयाँ क्रिएसन गर्न मन लागिरहन्छ,’ सरिता भन्छिन्।

उनको कलामा अहिले भान्छाभित्र हुने चपिङबोर्ड, चक्कु, डाडुु, पन्यू, चिया पिउने कप, छान्नीलगायतका सामानलाई आउन थालेका छन्। घरभित्र रहेको जुत्तालाई पनि कलाको स्वरुप दिएकी छिन्। उनले नियमित बनाउने खुर्सानीले पनि समय पाएकै छ।

लकडाउनले कलाकार विक नरबहादुरका सिर्जनाले पनि बाहिर प्रर्दशन हुने मौका पाएका छैनन्। उनको कला भने लकडाउनको भोलिपल्टदेखि नै क्यानभासमा रङ्गिन थालिसकेको छ। ‘युट्युबमार्फत पनि कलाप्रेमिलाई चित्र कोर्न सिकाइरहेको छु,’ नरबहादुर भन्छन्।

उनको युट्युब सिरिज सुरु गरेको केहि महिना बितिसकेको छ। तैपनि उनले समय पाइरहेका थिएनन्। लकडाउनपछि भने दिनहुँ युट्युबमार्फत चित्र कोर्न सिकाइरहेका छन्। यो समयमा घरायसी काममा सघाउनु त छदै छ।

उनको चित्रकलामा प्रायः नेपालको हिमाली भेग, गाउँघरको मौलिक जीवनशैली र प्राकृतिक सुन्दरता प्रस्फुटन हुन्छ। उनी जसको चित्र बनाउने हो, त्यहि ठाउँ पुग्छन र अनि क्यानभासलाई रंग्याउँछन्। लकडाउनपछि भने उनी स्वतन्त्रता मिस गरिरहेका छन्। उनी भन्छन्, ‘हिडडुल, घुमफिर गर्दै प्राकृतिक सुन्दरसँगै प्रस्फुटन हुने सिर्जनशिलता घरभित्र नहुँदोरहेछ।’

तैपनि, थुप्रै कलाकारहरु लकडाउनलाई उपयोग गरिरहेका छन्। घरमै बसेर पनि क्यानभास रंगाइरहेका छन्।

प्रकाशित मिति: १४:३६ बजे, बिहीबार, चैत २७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्